सुशासन दिएका छौं, पारदर्शी काम गरेका छौं- गाउँपालिका अध्यक्ष मगर

  २०७८ असोज ४ गते १९:१७     विकासन्युज

ताराखोला गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लामा पर्छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै भौगोलिक तथा सांस्कृतिक रूपमा पनि विविधतायुक्त पाइन्छ । यस गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति मगर हुन् । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि विकास निर्माणले गति लिएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मानिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष मगर बताउँछन् । उनै अध्यक्ष मगरसँग चार वर्षको अवधिमा गाउँपालिकाले गरेको उपलब्धी, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, ताराखोला गाउँपालिकाको मुहार कत्तिको फेरियो नि ?

जनप्रतिनिधिको रूपमा निर्वाचित भएको पनि ४ वर्ष पुरा भएको छ । सुरुमा हामीले संघीयताको अभ्यास गर्दै भावी योजना तथा कार्यक्रम बनाएर काम सुरु गरेका थियौं । नयाँ व्यवस्थासँगै स्थानीय सरकारको भूमिकामा रहनुपर्ने र सीमित स्रोत साधनका बाबजुद जनताका असीमित इच्छा र चाहनालाई पुरा गर्दै विकास निर्माणको कामलाई तीव्रता दिएका छौं ।

हामी यो अवधिसम्म आइपुग्दा कर्मचारीको व्यवस्थापन, कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन व्यवस्थापन जस्ता महत्वपुर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग प्रस्थान भएको छ । हामीले पारदर्शी, जबाफदेही र इमान्दार भएर काम गरेका छौं । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । यो अवधिभर जतिपनि विकास निर्माणका कामहरू भएका छन्, ती सम्पूर्ण कामहरू उत्कृष्ट नै छन् भन्ने हामीलाई लाग्छ । त्यसैले पहिलाको तुलनामा हाल पालिकाको मुहार धेरै नै फेरिएको छ ।

निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्धता कति पूरा गर्नुभयो ?

हामीले निर्वाचनका बेला नागरिकसँग गरेको प्रतिवद्धता पुरा गर्ने आधार तयार भएको छ । यति नै पूरा गर्याैं भने ठ्याक्कै प्रतिशतमा भन्न सक्ने अवस्था छैन । तर, चुनावी बाचा लगभग पूरा भइसकेको छ । हामीले चुनावको बेला नागरिकलाई झुटो आश्वासन पनि देखाएका थिइनौं । हामीले गर्नसक्ने कामहरू जनतासँग बाचा गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर हामीलाईजनताहरूले गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो ।

यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । सडकहरू पूर्ण हुने क्रममा छन् । शैक्षिक गुणस्तर सुधारका लागि काम अगाडि बढाएका छौं । सुशासन दिएका छौं, पारदर्शी काम गरेका छौं ।

गाउँपालिकामा विकासको गति अहिले कस्तो छ ? कसरी अघि बढिरहेको छ ?

विकास निर्माणको काम नीतिगत रूपमा अघि बढिरहेको छ । सडकको कुरा गर्दा हामी निर्वाचित भएर आउनु भन्दा अघि धेरै ठाउँमा सडक पुगेको थिएन । हाल हामीले कच्ची नै भए पनि प्रत्येक वडाको टोल टोलमा सडक पुर्याएका छौं । एक बस्तीबाट अर्की बस्तीसम्म बाटो जोडिएको छ । गलकोट नगरपालिका हुँदै गाउँपालिकासम्म आउँने सडकमा कालोपत्रेको काम सुरु भएको छ । त्रिसुलीको घुम्ती हुँदै गाउँपालिकाको केन्द्रसम्म आउने १० किलोमिटर सडक कालोपत्रे गर्न कामको प्रक्रिया अगाडि बढेको छ । उक्त सडकको कालोपत्रे गर्नमा प्रदेश र केन्द्रले सहयोग पनि गरेको छ । रिजालचाेक, अमरभुमि र ताराम्याग्दीसम्म जाेड्ने १८ किलाेमिटर सडक कालाेपत्रे गर्नकाे लागि संघ प्रदेश र स्थानिय पालिकाकाे बीचमा सम्झाैता भएकाे छ । पालिकामा बाह्रै महिना यातायात सञ्चालन हुन सक्ने अवस्था सिर्जना भएको छ ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पालिकामा हामीले ४ देखि ५ सय सम्म अट्ने सुविधासम्पन्न सभाहलको निर्माण गरेका छौं । संग्रालयको पनि निर्माण भएको छ । पालिकामा खानेपानीको चरम अभाव थियो । उक्त समस्याको समाधान गर्नको लागि हामीले ‘एक घर एक धारा’ खानेपानी आयोजना सञ्चालन गरी प्रत्येक नागरिकको घरमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । गरिव परिवारलाई जस्तै जसको जग्गा छ तर, घर छैन उनीहरूको घर पनि निर्माण गरिदिएका छौं । विद्युतको समस्याहरू थिए अहिले प्रत्येक घरमा बिजुली पुर्याउन सफल भएका छौं ।

अनि स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ?

स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । रगत र पिसाब चेक गर्ने ल्याब पनि छ । नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याएका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । पालिकाकाे प्रत्यके वडामा प्रजनन केन्द्र समेत रहेका छन् भने उक्त स्थानमा बेबी वार्ड पनि बनाएका छाैं । पालिकाले गर्भवती महिलालाई पाेसिलाे झाेलाकाे रुपमा अण्डासमेत वितरण गरेकाे छ ।

शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थाइ दरबन्दी तथा करार शिक्षककाे व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छाैं । पालिकाले शैक्षिक गुणस्तरलाई विशेष जोड दिएको छ । स्थानीय पाठ्य योजना निर्माणको चरणमा छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ ।

कृषि र पशुपालनमा व्यवसायीक बन्दै गएका किसानलाई गाउँपालिकाले कसरी सहयोग गरेको छ, अनुदानका कार्यक्रमहरू के कस्ता छन् ?

नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । गाउँपालिकाले कृषि क्षेत्रको विकासको लागि प्राथमिकताका साथ काम गर्दै आएको छ । हामीले पालिकामा कृषिका विभिन्न कार्यक्रमहरू अगाडि बढाएका छौं । जस अन्तर्गत जसले सामान्य आम्दानी पनि गर्न सक्दैन उनीहरूको लागि गाउँपालिकाले सहजीकरण गर्दै आएको छ । जो कृषिमा व्यवसायी बन्न चाहन्छ, जसले ५ लाखको ठाउँमा १० लाख कमाउन चाहन्छ उनीहरूलाई गाउँपालिकाले अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

हामी नमुना कृषि फार्म मार्फत् बाख्रा, किवी तथा विभिन्न फलफूलका पकेट क्षेत्र पनि छुट्याएका छौं । ओखर लगाउनको लागि कृषकहरूलाई पालिकाले बिरुवा वितरण गरेको छ । पालिकामा कृषि संकलन केन्द्रको पनि स्थापना गरेका छौं । पालिकाले उत्पादन केन्द्र बनाउन योजना अगाडि सारेको छ । नागरिकलाई कृषिमा प्रेरित गर्नेतर्फ लागेका छौं । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायीकरण गर्नुका साथै कृषि बजार व्यवस्थामा पनि त्यत्तिकै ध्यान दिनका छौं । पालिका र कृषकको साझेदारीमा अनुदान, प्रोत्साहन आदि काम गर्दै आएका छौं ।

उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लागतले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । कृषिलाई व्यावसायिकीकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउन लक्ष्यका साथ गाउँपालिका अगाडी बढाएको छ । पालिकाले बैंकसँग समन्वय गरी कृषिलाई ऋणको पनि व्यवस्था गरिदिनेछ । तर, संस्था दर्ता र कर भुक्तानीको रसिदलगायत सबै कागजात मिलाएर कृषहरु आए भने ऋण दिने छौं । हाम्रो पालिका मासुमा आत्मनिर्भर छ । आलु गाउँपालिकाबाट धेरै निर्यात हुन्छ । अनुदानमा आधारित कृषि मल, बिउबिजन, औषधि, पशु, नश्ल सुधार, निःशुल्क गाई र बाख्रा वितरण गरिएको छ ।

हालसम्म कति ऐन–कानुन बनाउनुभयो ?

पालिकाको आवश्यकता अनुसार ऐन–कानुनको निर्माण गरेका छौं । हालसम्म पालिकामा २० ओटा ऐनको निर्माण भएको छ भने ७ ओटा कार्यविधि बनेका छन् । गाउँपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानुन बनाएका छौं । कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकताअनुसार बनाउँदै जाने कुरा पनि हो ।

कोभिडको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाकोतर्फबाट कस्तो प्रयासहरू भएका छन् ?

यस महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । कोभिड व्यवस्थापनको संदर्भमा नेपालमै नमुना काम हाम्रो पालिकाले गरेको छ । नागरिकको जीवन रक्षाको लागि धेरै कार्यहरू पालिकाका तर्फबाट भएका छन् । गाउँपालिकामा जब कोरोना संक्रमणको दोस्रो लहर सुरु भयो, लगत्तै हामीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनदेखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रम गर्यौं ।

स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरेसँगै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । उक्त अस्पतालमा निःशुल्क खाने तथा बस्ने व्यवस्था पालिकाले गरेको छ । पालिकामा हालसम्म १ सय ५० भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ । कोभिडका कारण केही नागरिकलाई उपचारको क्रममा गुमाएका पनि छौं । हामीले कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि अहोरात्र खटेर काम गर्यौं । पहिलाको तुलनामा पालिकामा संक्रमण दर घटेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरू के–के आइपर्छन् होला ?

स्थानीय तहमा काम गर्दा सामान्य समस्या देखा पर्नेगर्छ । स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । प्रतिशोध भएका मानिसहरू समाजमा धेरै नै हुन्छन् । सामान्य विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । यो भनेको जनप्रतिनिधिमूलक संस्था भएकाले यहाँ, राजनैतिक विषय जस्ता अन्य विषय पनि आउन सक्छन् । यसले गर्दा कतिपय ठाउँमा समस्या पनि हुने गरेको छ । जनआकांक्षा अत्यधिक छ, स्रोतसाधन सीमित छ । चुनौतीलाई समाधान गरी नै हामी अगाडि बढेका छौं । चुनौती आयो भनेर दबाउने होइन, त्यसलाई समाधान गर्नर्फ लाग्छौं । चुनौतिको समाधान गरी पालिकामा विकास निर्माणको कामलाई तीव्रता दिएका छौं । हामी गाउँगाउँमा पुगेर स्थानीय तहको अनुभूति नागरिकलाई दिन सफल भएका छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिका भित्र युवा स्वरोजगार कार्यक्रहरु सञ्चालनमा छन् । हामी युवा स्वरोजगार अन्तर्गत पनि रोजगार दिँदै आइरहेका छौं । पालिकामा युवा लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । उक्त रोजगार कार्यक्रम अन्तर्गत पनि धेरै युवाहरुले रोजगार पाएका छन् । केही युवालाई भने विकास निर्माणका काममा पनि लगाइरहेका छौं । युवाहरूलाई व्यावसायिक कृषिमा जोडिनको लागि आग्रह पनि गरेका छौं ।

आगामी दिनका योजना कस्ता छन् ?

हामीले सञ्चालन गरेका तर पुरा नभएका अधुरा योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । एक देखि ५ नं. वडासम्मको मुख्य सडक पिच गर्ने र अरु सडककाे स्तरउन्नति गर्ने योजनामा पनि छौं । कृषीलाई व्यवसायीकरण गर्ने सोच बनाएका छौं । कृषि अनुसन्धान केन्द्रको पनि स्थापना गर्दै छौैं । पर्यटन गाउँपालिका बनाउकाे लागि भाैतिक पुर्वाधार जस्तै संग्राहलय पदमार्ग, बनाउने याेजनामा छौं । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक र विभिन्न उद्याेगहरुकाे पनि कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ । प्रत्यके नागरिकले वर्षको २ पटक रोग लागेपनि नलागेपनि स्वास्थ्य परीक्षण गर्ने व्यवस्थापन गर्दै छौं ।

सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ?

स्थानीय तहको संरचना बनेसँगै नागरिले नजिकको सरकार स्थानीय तह हो । त्यसैले हामी पनि नागरिकको प्रत्यक्ष सहभागितामा काम गरेका छौं । हामी सुशासनको लागि प्रतिबद्ध छौं । काम गर्ने क्रममा कमी कमजोरी सबैबाट हुन्छ । तर, पनि नागरिकलाई हामीले सन्तुष्ट बनाएकै छौं जस्तो लाग्छ । अहिले नागरिकले आफ्ना समस्या जनप्रतिनिधिलाई तत्कालै राख्न सक्ने र सम्भव भएसम्म हल गर्ने काम भएको छ । जनतासँग जनप्रतिनिधी, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमकाे सम्बाेधन गर्ने काम भएकाे छ । अधिकांश नागरिककाे समस्याहरू जनप्रतिनिधिमार्फत तुरुन्तै सम्बोधन पनि भएका छन् ।

अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?

हामीले पालिकामा अझै पनि गर्नुपर्ने काम धेरै छ । राज्यको नेतृत्व र जनताको बुझाई एक ठाउँमा भयो भने विकासले अपेक्षाकृत फड्को मार्न सक्छ । त्यसैले जनता र सरकार एक ठाउँमा भएर विकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नु हुन हार्दिक अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.