विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

  २०७८ असोज ४ गते १२:०४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभामा चालु आर्थिक वर्षको लागि अर्थमन्त्रालयले ल्याएको विनियोजन विधेयक पारित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीचमा चलेको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले विनियोजन विधेयक स्वीकृत भएको जानकारी दिए ।

विनियोजन विधेयकमाथि नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले मात्रै विपक्षीको तर्फबाट छलफलमा भाग लिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने विनियोजन विधेयकमाथि छलफलमा भाग लिएन ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएसँगै सरकारलाई संचित कोषबाट खर्च गर्ने बाटो खुल्ला भएको छ । गत जेठ १५ गते पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएका थिए । तर, गत असार ३० गते संघीय संसदका दुबै सदनको बैठक बसेको थियो । संघीय संसदको बैठक बसेको ६० दिनभित्रमा अध्यादेश स्वीकृत नभएमा स्वतः खारेज हुने व्यवस्था संविधानमा छ । सरकारले गत भदौ २५ गते बजेट अध्यादेश स्वीकृतिका लागि प्रतिनिधिसभामा पेश गरेको थियो भने बहुमतबाट पारित भएको सभामुख सापकोटाले जानकारी दिएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते नै सो अध्यादेशमाथि प्रतिस्थापन विधेयक पेश गरेका थिए । आजको प्रतिनिधिसभा बैठकको बहुमतले विनियोजन विधेयक पारित भएको सभामुख सापकोटाले जानकारी दिए । बजेट पारित नहुँदा भदौ ३० गते मध्यरातिदेखि सरकारले संचित कोषबाट खर्च गर्न पाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.