२०७८ असोज ४ गते ९:३९ विकासन्युज
काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
आजदेखि राष्ट्र बैंकसहित वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट साट्न सकिनेछ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउनेछ ।
‘हामीले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० का नोटहरू मिलाएर अधिकतम १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेका छौं, बढी साट्न चाहनेले १ सयभन्दा माथि ५ सय र १ हजारका नोट पनि साट्न पाउनेछ,’ उनले भने ।
उनका अनुसार १८ हजार ५ सय रुपैयाँका साना दरका नोटहरु एउटा व्यक्तिलाई प्रशस्त हुने भएकोले त्यो भन्दा बढी साट्न नपाइने व्यवस्था गरिएको हो, नयाँ नोट बढी चाहनेले ५ सय र १ हजारका नयाँ नोट लिन पनि सक्ने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सबै वाणिज्य बैंकका १० वटा शाखा र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए । यस वर्ष विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण वाणिज्य बैंकहरु मार्फत नोट साट्ने व्यवस्था रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.