जनगणना गर्दा ‘तपाईंले बैंक वित्तीय संस्थाबाट ऋण लिएको छ कि छैन’ भनेर सोध्न मिल्छ ?

  २०७८ असोज ३ गते १८:२४     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना सुरु भएको छ । भदौं ३० गतेदेखि सुचिकरण फाराम भर्दै १२औं राष्ट्रिय जनगणना सुरु भएको हो ।

राष्ट्रिय जनगणनाको पहिलो चरणमै एउटा प्रश्नलाई लिएर नागरिकस्तरमा पनि प्रश्न उठेको छ । ‘घर तथा घरपरिवार सुचिकरण फाराम’मा रहेको ‘अन्य विवरण’मा राखिएका एक प्रश्नले बढी चर्चा पाएको हो । प्रश्न छ– तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ ?

सुचिकरण फाराम भर्न जाने गणकलाई सर्वसाधारणले यो प्रश्नको खुलेर उत्तर नदिएको गणकहरुले बताउन थालेका छन् । आफूले लिएको ऋणका बारेमा किन अरुलाई भन्नु भन्ने अर्थमा सर्वसाधारणले यो प्रश्नको उत्तर दिन आनाकानी गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुबाट ऋण लिएको नलिएको जस्ता व्यक्तिगत विवरण राष्ट्रिय जनगणना गर्न आउने गणकलाई दिन हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ । किनभने बैंक तथा वित्तीय संस्थाहरुबाट लिइने निश्चित रकमभन्दा बढी कर्जा लिने व्यक्तिको विवरण कर्जा सुचना केन्द्रमा हुन्छ । पहिला नै कुनै निकायमा भएको तथ्यांक फेरि राष्ट्रिय जनगणना मार्फत लिइरहनु कत्तिको जायज कार्य हो भनेर हामीले यो प्रश्न केन्द्रीय तथ्यांक विभागका पूर्व महानिर्देशक विकास विष्टलाई सोधेका थियौं ।

उनले तथ्यांक संकलन गर्ने सरकारको आधिकारिक निकाय केन्द्रीय तथ्यांक विभाग भएको र विभागले प्राथमिक तथ्यांक संकलन गर्ने हुँदा कर्जा सुचना केन्द्रमा भएको ‘सकेन्डरी डेटा’ प्रयोगलाई प्राथमिकता नदिने बताए ।

‘कर्जा सुचना केन्द्र जस्ता निकायहरुसँग भएका तथ्यांक सकेन्डरी डेटा हुन्, केन्द्रीय तथ्यांक विभागले प्राइमरी (प्राथमिकत) डेटा संकलन गर्छ, त्यसको थप व्याख्या र पुष्ट्याईको लागि सकेन्डरी डेटा पनि प्रयोग गर्न सकिन्छ तर, प्राइमरी डेटा आफैले संकलन गर्ने भएकोले विभागले यस्तो प्रश्नावली राखेको होला,’ पूर्व महानिर्देशक विष्टले विकासन्युजसँग भने ।

साइबर कानुनका ज्ञाता अभिवक्ता बाबुराम अर्याल संकलन गरिएको डेटा सुरक्षित र गोप्य रहनुपर्ने शर्तको भने पालना हुनुपर्ने बताउँछन् ।

‘आफ्नो देशका नागरिकको आर्थिक अवस्था के कस्तो रहेछ भनेर जनगणनाको सिलसिलामा बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट लिइएको कर्जा बारे पनि प्रश्न राखिएको होला तर, यसरी संकलन गरिएको डेटा कति सुरक्षित हुन्छ, डेटा संकलन गर्न जाने संकलकले डेटा सेक्युरिटी र डेटा प्रोटेक्सनमा कत्तिको ध्यान दिन सक्ने अवस्था सिर्जना भएको छ भन्ने प्रश्न पनि आउँछ, राज्यले व्यक्तिगत विवरण संकलन गर्न पाउँदैन भन्ने त हुन्न तर, त्यसरी संकलन भएको डेटा पनि सुरक्षित हुन्छन् भन्ने ग्यारेन्टी भने गरिएको हुनुपर्छ,’ अधिवक्ता अर्यालले भने ।

पूर्व महानिर्देशक विष्ट भने जनगणनाको सिलसिलामा संकलन गरिएका डेटा सुरक्षित र गोप्य रहने कुरामा शंका गर्न नपर्ने बताउँछन् ।

‘प्रत्येक प्रश्नावलीको माथि यस प्रश्नावलीमा भरिएका व्यक्तिगत विवरणहरु तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहने छन् भनेर उल्लेख नै गरिएको हुन्छ, सो ऐन अनुसार तथ्यांक संकलन गर्न जाने गणकले संकलनका क्रममा प्राप्त भएका तथ्यांक तथा सुचनाहरु कहिल्यै पनि संकेतको रुपमा पनि सार्वजनिक गर्न मिल्दैन, गरियो भने कानुन बमोजिम कारबाही नै हुन्छ, त्यसैले यसमा शंका गरिरहनु पर्दैन,’ पूर्व महानिर्देशक विष्टले भने ।

बैंक वित्तीय संस्था वा सहकारीबाट ऋण लिए नलिए बारे प्रश्न गर्नुको निश्चित उद्देश्य राखिएको हुन सक्ने विष्टले बताए ।

‘प्रत्येक वर्षको जनगणनामा कुनै न कुनै नयाँ प्रश्नावली थप्ने गरिएको छ, अहिले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट कर्जा लिए नलिएको बारेमा प्रश्न राखिएको रहेछ, यसबारेमा सर्वसाधारणलाई कत्तिको जानकारी रहेछ, औपचारिक माध्यमबाट कतिले कर्जा लिने गरेका रहेछन् भन्ने जस्ता तथ्यांक संकलन गर्ने प्रयोजनको लागि पनि यो प्रश्नावली राखिएको हुन सक्छ, कुन बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कति ऋण लिनु भएको छ भन्ने प्रकारका प्रश्न राखिएको थियो भने समस्या आउन सक्थ्यो होला, अन्तराष्ट्रिय मान्यता र स्वीकृत व्यवस्था विपरितका प्रश्नावली राखेर जनगणना गर्नै सकिदैन,’ पूर्व महानिर्देशक विष्टले थपे ।

नेपालमा १९६८ सालदेखि जनगणना गर्ने काम शुरु भएको हो । प्रत्येक १०÷१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ ।

विवरण गोप्य

जनगणनामा संकलित सबै विवरण गोप्य रहने तथ्यांक विभागले जानकारी दिएको छ । व्यक्तिले दिएको विवरणको तथ्याङ्क ऐन, २०१५ र यसबमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ । जनगणनाबाट प्राप्त तथ्याङ्कहरु व्यक्तिगतरुपमा नभई सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ । अर्थात कुनै व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गर्ने जानकारीलाई प्रकाशन गरिदैन । राष्ट्रिय जनगणनामा संकलन गरिने विवरणहरू कुनै पनि कर प्रयोजन तथा अन्य कानूनी प्रमाणको रूपमा प्रयोग गर्न मिल्दैन । व्यक्तिले दिएको विवरण जनगणनामा खटिने सबै कर्मचारीहरुले संरक्षण र गोप्य राख्ने सपथ खाएका हुन्छन् । यस विपरित काम गरेमा निजहरुलाई प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना गरिन्छ ।

जनगणनाको क्रममा घरदैलोमा आउने सुपरिवेक्षक तथा गणकहरुले प्रश्नावलीमा उल्लेख भएका प्रश्नहरु बाहेक जस्तैः करको बारेमा, आम्दानी खर्चको बारेमा, बैंक खाता नम्बर लगायत अन्य व्यक्तिगत कुराहरु सोध्न पाउने छैनन् । सोधे भने त्यस्ता प्रश्नको जवाफ नदिन विभागले अनुरोध गरेको छ ।

किन राखियो आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरु ?

जनगणनाको क्रममा आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरु किन राखियो भनेर विभागले लिखित रुपमा स्पष्ट पनि पारेको छ । विभागले राष्ट्रिय जनगणना सम्बन्धी वेबसाइटमा ‘धेरै सोधिएका प्रश्नहरु (प्राविधिक)’ मा केही प्रश्नहरु राखेर त्यसको जवाफ आफैले उल्लेख गरेको छ । यस्तो छ विभागले राखेका प्रश्न र त्यसका जवाफः

१. जनगणनामा आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू के उद्देश्यका लागि सोधिन्छ ?

उत्तरः जनगणनाबाट प्राप्त हुने आर्थिक तथ्याङ्क खासगरी कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमान, गरिबी अनुमान, रोजगारीको अवस्था तथा श्रम बजारको स्थिति मापन, आर्थिक संरचनाको चित्रण लगायतका विविध क्षेत्रमा प्रयोग गरिन्छ । यसरी प्राप्त हुने सूचनाको मूलत आर्थिक तथा मानव संसाधन सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कन गर्न, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास लक्ष्यहरु मापन गर्नस स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक सूचकहरुको तुलना गर्न निकै महत्वपूर्ण योगदान रहन्छ । यस्ता महत्वपूर्ण सूचकहरूको आपुर्ति गर्ने उद्देश्यले जनगणनामा आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू सोधिन्छ ।

२. जनगणनामा आर्थिक क्रियाकलाप अन्तर्गत के कस्ता प्रश्नहरू सोधिन्छ ?

उत्तरः राष्ट्रिय जनगणना २०७८ मा आर्थिक क्रियाकलाप अन्तर्गत विभिन्न ७ वटा प्रश्नहरू सोधिन्छ । जस अन्तर्गत गणना हुने व्यक्तिले गत १२ महिनामा आर्थिक कार्य गरेको जम्मा महिना, निजले गरेको मुख्य आर्थिक कामको विवरण र पद, निजले काम गरेको संस्था र सो संस्थाबाट उत्पादन हुने प्रमुख वस्तु वा सेवा, काममा संलग्नताको अवस्था, आर्थिक कामको संस्थागत क्षेत्र, यदि काम नगरेको भएमा सोको मुख्य कारण र कामका लागि उपलब्धता सम्बन्धी प्रश्नहरू रहेका छन् ।

३. आर्थिक क्रियाकलाप भन्नाले के बुझिन्छ ?

उत्तरः आम्दानी हुने वा नहुने निम्न बमोजिमका कार्यहरूलाई आर्थिक क्रियाकलाप भनिन्छ ।
– बिक्रि गर्ने वा घरायसी उपभोग गर्ने प्रयोजनका लागि वस्तुको उत्पादन गर्ने कार्य वा
– बिक्रि गर्ने प्रयोजनका लागि सेवाको उत्पादन गर्ने कार्य ।

४. आम्दानी हुने आर्थिक कार्य भन्नाले कस्ता कार्यलाई बुझाउँछ ?

उत्तरः पुँजी वा श्रम लगानी गरी उत्पादित बस्तु वा सेवा बिक्रि गरे बापत नगद वा जिन्सीको रुपमा लाभ वा आम्दानी प्राप्त हुन्छ भने त्यस्ता सबै प्रकारका कार्यलाई आम्दानी हुने आर्थिक कार्य भनिन्छ । जस्तैः परिवारको कुनै सदस्यले बिक्रि गर्ने प्रयोजनका लागि डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने आदि ।

५. आम्दानी नहुने आर्थिक कार्य भन्नाले कस्ता कार्यलाई बुझाउँछ ?

उत्तरः पुँजी वा श्रम लगानी गरी उत्पादित बस्तु आफ्नै परिवारको उपभोगका लागि प्रयोग गरिएको छ भने त्यस्ता सबै प्रकारका कार्यलाई आम्दानी नहुने आर्थिक कार्य भनिन्छ । जस्तैः परिवराकै प्रयोगका लागि परिवारकै सदस्यले डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने, पानी बोक्ने आदि ।

६. गैर आर्थिक क्रियाकलाप भनेको के हो ?

उत्तरः कुनै व्यक्तिले आफ्नै घरायसी उपभोगकालागि उत्पादन गर्ने सेवाहरूलाई गैर आर्थिक क्रियाकलाप भनिन्छ । जस्तैः घरधन्दा, बालबच्चाको हेरचाह, परिवारको अशक्त सदस्यको स्याहार, लुगा धुने, भात पकाउने, भाँडा माझ्ने आदि ।

७. आर्थिक क्रियाकलाप अन्तर्गत के कस्ता कार्यहरू पर्दछन् ?

उत्तरः आर्थिक क्रियाकलाप अन्तर्गत देहाय बमोजिमका कार्यहरू पर्दछन् ।

– आफ्नै खेतिपाती कृषि कार्यहरू जस्तैः तरकारीबाली, अन्नबाली आदिको लागि खेतबारी खनजोत गर्ने, बिउ बिरूवा रोप्ने, गोडमेल गर्ने, सिंचाई गर्ने, भित्र्याउने आदि,
– आफ्नै गैरकृषि व्यवसाय अन्तर्गतका कार्यहरू जस्तैः पसल राख्ने, साना ठूला उद्योग सञ्चालन गर्ने, सेवा व्यवसाय सञ्चालन गर्ने आदि,
– तलब, ज्याला लिई गरिने कार्यहरू जस्तैः तलबी घरेलु कामदारको रूपमा काम गर्ने, ज्याला लिएर लुगा सिलाउने, कपाल काट्ने, आरनमा सेवा प्रदान गर्ने, सरकारी एवं गैर सरकारी संस्थाहरूमा तलबी कर्मचारीको रूपमा काम गर्ने आदि,
– घरायसी उपभोगका लागि गरिने वस्तु उत्पादनका कार्यहरू जस्तैः डोको बुन्ने, दाम्लो बाट्ने, अचार बनाउने, दाउरा खोज्ने, पानी बोक्ने आदि,
– परिवारको कुनै सदस्यले सञ्चालन गरेका आर्थिक कार्यमा सहयोग गर्ने जस्तैः आमाले सञ्चालन गरेको चिया पसलमा छोरा वा छोरी वा अन्य सदस्यले सहयोग गर्ने काम, दाजुको फर्निचर उद्योगमा बहिनीले सघाएका काम आदि ।

८. आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू कुन उमेर समुहका व्यक्तिलाई सोधिन्छ ?

उत्तरः आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू १० वा सो भन्दा बढी उमेर समुहका सबै व्यक्तिलाई सोधिन्छ । गणनाको दिन १० बर्ष नपुगेका बालबालिकाहरूलाई आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरू सोध्नु पर्दैन ।

९. आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरूको उत्तर कुन सन्दर्भ समयको आधारमा दिनु पर्दछ ?

उत्तरः आर्थिक क्रियाकलाप सम्बन्धी प्रश्नहरूको जवाफ गणना भएको दिनभन्दा ठीक एक बर्ष अगाडिसम्म (गत १२ महिना) को समयका आधारमा दिनु पर्दछ । उदाहरणका लागि यदि २०७८ असार ३ गते गणना हुँदैछ भने मिति २०७७ असार ३ गतेदेखि २०७८ असार २ गतेसम्म व्यक्तिले गरेको अक्सर क्रियाकलाप सम्बन्धी विवरण दिनु पर्दछ ।

१०. जनगणनामा कस्ता प्रकारका आर्थिक कामको विवरण संकलन गरिन्छ ?

उत्तरः जनगणना प्रयोजनका लागि सबै प्रकारका आर्थिक कामहरूको विवरण संकलन गरिन्छ । आर्थिक काम अन्तर्गत आम्दानी हुने र आम्दानी नहुने गरी दुई प्रकारका कामहरू समावेश हुन्छन् । उदाहरणका लागि जुन सुकै प्रयोजनका लागि कुनै व्यक्तिले डोको बुन्ने, नाम्लो बाट्ने, दाउरा खोज्ने, फर्निचर बनाउने जस्ता क्रियाकलाप गरेका छन् भने यस्ता क्रियाकलापहरूको विवरण संकलन हुन्छ ।

११. जनगणनामा कस्ता प्रकारका क्रियाकलापहरूको विवरण संकलन गरिदैन ?

उत्तरः जनगणनामा आफ्नै परिवारको उपभोगका लागि गरिने सेवामुलक कार्यहरू जस्तैः भात पकाउने, सरसफाई गर्ने, बालबच्चाको हेरचाह गर्ने जस्ता क्रियाकलापहरूको विवरण संकलन हुदैन । तर यस्ता सेवाका कार्यहरू तलब वा ज्याला लिने गरी अरू कुनै परिवारको लागि गरिएको रहेछ भने आम्दानी हुने आर्थिक क्रियाकलाप मानी सम्बन्धित विवरण संकलन गर्नु पर्दछ ।

१२. विद्यार्थी, घरधन्दा गर्ने व्यक्ति, बृद्धबृद्धा, बिरामी, पेन्सन भएका व्यक्तिहरूको आर्थिक क्रियाकलाप सम्बन्धी विवरण संकलन गर्नु पर्दछ कि पर्दैन ?

उत्तरः विद्यार्थी, घरधन्दा गर्ने व्यक्ति, बृद्धबृद्धा, बिरामी, पेन्सन भएका व्यक्तिहरूले पनि समय मिलाएर कुनै आर्थिक कार्य गरेका हुन सक्दछन् । यस्तो अवस्थामा उनीहरूको आर्थिक कार्य सम्बन्धी विवरण संकलन गर्नु पर्दछ । उदाहरणका लागि उक्त व्यक्तिहरूले परिवारले सञ्चालन गरेको व्यवसायमा सहयोग गरेका हुन सक्दछन्, घरायसी उपभोग्य वस्तुहरू उत्पादन गरेका हुन सक्दछन् अथवा कुनै पेशा व्यवसाय गरेका पनि हुन सक्दछन् ।

१३. कस्ता व्यक्तिहरूलाई आर्थिक क्रियाकलाप नगरेको मानिन्छ ?

उत्तरः सन्दर्भ अवधि (गत १२ महिना) मा कम्तिमा १ घण्टा पनि कुनै प्रकारको आर्थिक कार्य नगरेका व्यक्तिहरूलाई आर्थिक क्रियाकलाप नगरेको मानिन्छ ।

१४. जनगणनामा कति समय काम गरेको अवस्थालाई आर्थिक क्रियाकलाप गरेको मानिन्छ ?

उत्तरः जनगणना प्रयोजनका लागि कुनै गणना हुने व्यक्तिले कुनै दिन कम्तिमा एक घण्टा आर्थिक काम गरेको भए मात्र उक्त दिनलाई पूरा दिन आर्थिक काम गरेको सरह मान्नु पर्दछ । एक घण्टाभन्दा कम समय काम गरेको दिनलाई आर्थिक काम नगरेको सरह मान्नु पर्दछ ।

१५. आर्थिक काम गरेको महिना कसरी हिसाब गर्ने ?

उत्तरः जनगणना प्रयोजनका लागि कुनै गणना हुने व्यक्तिले गत १२ महिना अवधिमा सबै प्रकारका आर्थिक काम गरेका दिनहरू जोडी ३० दिनको १ महिनाका दरले आर्थिक काम गरेको महिना हिसाब गर्नु पर्दछ । यस सम्बन्धमा विशेष ध्यान दिनु पर्ने कुरा के छ भने, कुनै व्यक्तिले एक दिनमा जति प्रकारको आर्थिक काम एक घण्टा वा सोभन्दा बढी जति समय गरेको भए तापनि एक दिन मात्र मान्नु पर्दछ ।

१६. एउटै व्यक्तिले सन्दर्भ अवधिमा धेरै प्रकारका आर्थिक काम गरेको भएमा मुख्य आर्थिक काम कसरी छुट्याउने ?

उत्तरः कुनै व्यक्तिले सन्दर्भ अवधिमा दुई वा सो भन्दा बढी आर्थिक काम गरेका रहेछन् भने निजले सबैभन्दा बढी समय गरेको कामको आधारमा मुख्य आर्थिक काम छुट्याउनु पर्दछ ।

१७. कस्ता व्यक्तिहरूलाई अरूको काम गर्ने व्यक्ति मानिन्छ ?

उत्तरः जनगणना प्रयोजनका लागि तलब वा ज्याला लिई काम गर्ने जो कोही व्यक्ति अरूको काम गर्ने व्यक्ति अन्तर्गत पर्दछन् । जस्तैः सरकारी कर्मचारी, दैनिक ज्यालादारी, तलब लिई राजनीतिक पार्टिको काम गर्ने व्यक्ति आदि ।

१८. कस्ता व्यक्तिहरूलाई रोजगारदाता मानिन्छ ?

उत्तरः पूँजी र श्रम लगाई नाफा नोक्सान आफैले बेहोर्ने गरी सञ्चालन गरेको कुनै व्यवसायमा तलब, ज्याला दिई एक वा एकभन्दा बढी कामदारलाई काम लगाएका व्यक्ति रोजगारदाता अन्तर्गत पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.