नयाँ नोट कसरी साट्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ सजिलै पाउने प्रक्रिया

  २०७८ असोज ३ गते १७:५५     विकासन्युज

काठमाडौं । भोलि असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले दशैं तिहारलाई लक्षित गरेर भोलि अर्थात असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरेको बताए । अब भोलिदेखि सर्वसाधारणले पुरानो नोट दिएर नयाँ नोट साट्न सक्ने भएका हुन् ।

उनका अनुसार प्रतिव्यक्तिले १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउनेछ । ‘हामीले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० का नोटहरू मिलाएर अधिकतम १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेका छौं, बढी साट्न चाहनेले १ सयभन्दा माथि ५ सय र १ हजारका नोट पनि साट्न पाउनेछ,’ उनले भने ।

उनका अनुसार १८ हजार ५ सय रुपैयाँका साना दरका नोटहरु एउटा व्यक्तिलाई प्रशस्त हुने भएकोले त्यो भन्दा बढी साट्न नपाइने व्यवस्था गरिएकाे हो, नयाँ नोट बढी चाहनेले ५ सय र १ हजारका नयाँ नोट लिन पनि सक्ने उनको भनाई छ ।

सजिलै कसरी साट्ने नयाँ नोट ?

अघिल्ला वर्षहरुमा नेपाल राष्ट्र बैंकले केन्द्रिय बैंकमै लाइन लगाएर नयाँ नोट साट्ने व्यवस्था गर्थ्यो । तर, यो वर्ष भने सम्पूर्ण वाणिज्य बैंकहरु मार्फत नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको हाे ।

असोज ४ गते अर्थात भोलिदेखि नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सबै वाणिज्य बैंकका १० वटा शाखा र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए । यस वर्ष विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण वाणिज्य बैंकहरु मार्फत नोट साट्ने व्यवस्था गरेको उनले बताए ।

‘सबै वाणिज्य बैंकलाई आफ्ना ग्राहकलाई नयाँ नोट साट्न निर्देशन दिएका छौं, उपत्यकाभित्र एउटा वाणिज्य बैंकले १० वटा शाखा मार्फत नयाँ नोट सटही गर्ने व्यवस्था मिलाउन पत्राचार गरेका छौं, सर्वसाधारणले प्रादेशिक कार्यालयबाट पनि नोट साट्न पाउनेछन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था गरेपनि कतिपय सर्वसाधारणलाई कसरी सजिलै नोट साट्ने भन्ने चिन्ता पनि हुन्छ । हामीले यो सामग्री मार्फत तपाईंलाई सजिलै नयाँ नोट साट्ने विधि बताउँदैछौं ।

नयाँ नोट भोलिदेखि अर्थात असोज ४ गतेदेखि पाइन्छ । वाणिज्य बैंक खुला भएको समयमा तपाईंले नयाँ नोट साट्न पाउनुहुन्छ । नेपाल राष्ट्र बैंकले एउटा वाणिज्य बैंकलाई उपत्यकामा १० वटा शाखा मार्फत नयाँ नोट साट्न पाइने व्यवस्था अनुसार भोलिदेखि सबै वाणिज्य बैंकहरुले उपत्यकाका नयाँ नोट साट्ने शाखाहरु वेवसाइटमा राख्नेछन् ।

तपाईंले सम्बन्धित बैंकको वेवसाइटमा गएर नयाँ नोट साट्ने बैंकको शाखा हेर्न सक्नुहुन्छ । यस्तै, तपाईं नेपाल राष्ट्र बैंक नजिकै बस्नुहुन्छ भने पनि नेपाल राष्ट्र बैंकमा गएर पनि नयाँ नोट साट्न सक्नुहुन्छ । यस्तै, वाणिज्य बैंकको प्रादेशिक कार्यालय मार्फत पनि नयाँ नोट साट्न पाइन्छ । बैंकलेहरुले नयाँ नोट साट्ने शाखाहरु ४ गते नै आफ्नो वेवसाइटमा राख्नेछन् ।

राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोट

नेपाल राष्ट्र बैंकसँग अहिले २ सय अर्ब अर्थात २ खर्ब रुपैयाँ नोट छन् । नेपालका अनुसार अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी कुल २ खर्ब रुपैयाँका नयाँ नोट छन् ।

उनका अनुसार विगतमा चार्डपर्व लक्षित गर्दै साना दर ५ देखि १०० रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दर अर्थात ५ सय र १ हजार रुपैयाँको ३० अब रुपैयाँसम्म नयाँ नोट सटही हुने गरेको थियो । राष्ट्र बैंकले यो वर्ष ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा वितरण हुने अनुमान गरेको छ । राष्ट्र बैंकले विगतदेखि नै दशैंमा नयाँ नोट साटही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.