केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

  २०७८ असोज २ गते १४:१४     विकासन्युज

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका

स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो ।

त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ । हिले-भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।

केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ ।

ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूणर्रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ ।

यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् ।

गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई वटा वडाका करिब ५०/५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.