वायुसेवा सञ्चालक भन्छन्: आन्तरिक टर्मिनलमा एक्स-रे मेसिन जडान गरी सुरक्षामा ध्यान दिउँ

  २०७८ असोज १ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा पूर्वाधारसगैँ सुरक्षा बढाउन सरकारसँग आग्रह गरेको छ ।

संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै तत्काल आन्तरिक उडानमा सुरक्षा लगायत आवश्यक भौतिक पूर्वाधार स्तरोन्नतिगर्न नागरिक उड्ययन प्राधिकरणलाई आग्रह गरेको हो ।

कोरोना महामारीपछि आन्तरिक उडानमा आएको नयाँ व्यवस्था तथा संक्रमणरहित उडानका कारण हजारौंले यात्रा गर्ने गरेको भन्दै संघले बढ्दो यात्रु संख्याको अनुपातमा त्रिभुवन विमानस्थलको आन्तरिक तर्फ पूर्वाधार तथा व्यवस्थापनमा कमजोरी देखिएको जनाएको छ ।
सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेकइन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र भएका पनि ज्यादै पुरानो रहेकाले नयाँ मेसिन थप्न समेत संघले प्राधिकरणलाई आग्रह गरेको छ ।

सुरक्षा जाँचका लागि एक डेढ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेकोले यात्रुहरुलाई धेरै असहजता भएको संघको भनाइ छ । वायुसेवाहरुको उडान पनि घण्टौं ढिलो हुने गरेको स्मरण गर्दै संघले विमानस्थलमा कार्यरत वायुसेवाका कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरुले भ्याउने अवस्था नरहेको उल्लेख गरेको छ ।

चेक–इन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडी दुई गेटको सट्टा चारवटा बनाउन संघले प्राधिकरणलाई सुझाव दिएको छ । यात्रुहरूले जुत्ता र बेल्ट खोल्नुपर्ने व्यवस्था हटाउन माग गर्दै सबै एक्सरे मेसिनहरू सधैँ सुचारु राखी जगेडामा समेत राख्न आग्रह गरेको छ ।

समस्याको समाधान नगरेमा दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप बढ्न गई गम्भीर स्थिति आउन सक्ने संघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.