आजदेखि सुपथ मूल्यका पसल तर पाइनेछैन चिनी र सिमी

  २०७८ असोज १ गते ९:५५     विकासन्युज

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

शुक्रबारदेखि सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा नै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन ।

तीन कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा ५ रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिनेछन ।

खाद्यले ४३ स्थानमा पसल सञ्चालन गर्ने

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कात्तिक २४ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ ।

यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

आजबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा उपभोक्ताको खाद्य कम्पनीले बिक्री गर्दै आएको कर्णालीको सिमी र साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको चिनी उपलब्ध नहुने भएको छ ।

सरकारले चिनी खरिदका लागि भन्सार छुट नदिदा कर्पाेरेशनले चिनी ल्याउन सकेको छैन भने खाद्य कम्पनीले मौज्दात सकिएको भन्दै नयाँ खरिद प्रक्रियामा रहेको भन्दै तत्काल उपलब्ध नहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.