१८५ कम्पनीमध्ये १८३ वटाको सेयर मूल्य घट्यो, कारोबार दुईदिन यताकै उच्च

  २०७८ भदौ ३१ गते १५:१७     विकासन्युज


काठमाडौं । बिहीबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सो दिन कारोबारमा आएका सूचीकृत १८५ कम्पनीमध्ये १८३ कम्पनीको सेयर मूल्य घटेको हो भने बाँकी दुईको सेयर मूल्य बढेको छ ।

बढ्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । त्यसमा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै संस्थाको सेयर म्रल्य प्रतिकित्ता ८९९.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८१.८० रुपैयाँले बढी हो ।

दोश्रो बजारमा सेयर कारोबार भएसँगै संस्थाको सेयर मूल्य निरन्तर रुपमा बढ्दै आएको छ । पछिल्लो केही दिनयता भने संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढ्दै आएको छ । यससँगै संस्थाको १० कित्ता सेयर हुने लगानीकर्ताको सम्पत्ति बढेर आजको मितिमा ८९९९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, सेयर मूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार ७०० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ०.०२ प्रतिशतले अर्थात ३.४० रुपैयाँ बढी हो ।

बिहीबारको बजारमा इक्विटीसहित कूल २२९ वटा स्क्रिप्स (ऋणपत्र, म्युचुअल फण्ड)हरु को कारोबार भएको छ । त्यसमध्ये १८५ वटा कम्पनीको इक्विटी अर्थात सेयर कारोबार भएको छ ।

बिहीबार टप गेनरमा भने मनकामना लघुवित्त, राष्ट्रिय बीमा कम्पनीसहित ७ वटा स्क्रिप्सहरु रहेका छन् । जसमध्ये आईसीएफसी फाइनान्सको १२ प्रतिशत डिबेन्चर २०८३ को भाउ १.२३ प्रतिशतल बढेर प्रतिथान ११४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सानिमाको ८.५ प्रतिशत डिबेन्चरको भाउ ९७५ रुपैयाँ, सानिमाकै १० प्रतिशत डिबेन्चरको भाउ प्रतिथान १०३३ रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.४० प्रतिशतले बढेर प्रतिइकाई १०.१६ रुपैयाँ र प्रभु बैंकको १०.२५ प्रतिशत डिबेन्चर २०८६ को भाउ ३ रुपैयाँले बढेर प्रतिथान १०३५ रुपैयाँ पुगेको छ ।

समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ७६।६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा २.६५ प्रतिशतले घटी हो । बिहीबारको बजार कारोबार खुलेदेखि निरन्तर रुपमा घटिनै रह्यो । सो दिन अघिकांश बैंकले ब्याजदर बढाएको नयाँ सूचना प्रकाशित गरेसँगै त्यसको प्रभाव बजारमा परेको हो ।

बजारमा परिसूचमा उच्च गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन गत दुईदिन यताकै उच्च हो । गत मंगलबार र बुधबारको बजारमा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.