अन्य सार्वजनिक संस्थानभन्दा हामीले उत्कृष्ट काम गरेका छौं: महाप्रबन्धक झा

  २०७८ भदौ ३० गते १८:२५     विकासन्युज

अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भई निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीजि क्षेत्रलाई दिन खोजेको थियो । सरकारको यो कदमको चौतर्फी विरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन । यसमा केही व्यापारिक समूहको स्वार्थले खेलेको भन्ने आरोप लाग्दै आएको छ । सरकार परिवर्तनसँगै अघिल्लो सरकारको निर्णय उल्टिएको छ ।

यो कुराको संकेत वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत् गरीसकेका छन् । हामीसँगकाे कुराकानीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायब महाप्रवन्धक व्रजेश झाले नेपालीहरुको महान पर्व दशैँको अवसरमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताए । मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने बताए । उनले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताए । प्रस्तुत छ नायब महाप्रबन्धक व्रजेश झासँग गरिएको कुराकानी ।

नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला, नुनको अवस्था अहिले कस्तो छ ?

निश्चय पनि सुखद् छ । नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपत छ र हाम्रो आफ्नो स्रोत छैन । नेपाल भित्र नुनको कुनै पनि स्रोत छैन । हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, केही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ । आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन । जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ । चाहे त्यो २०४५ सालको भारतकोसँगको ट्रेड एण्ड ट्रान्जिट नभएको बेलाको होस्, नवीकरण नभएको बेला,  ०४६ सालको जनआन्दोलनको बेला होस्, वा ०६३ को जनआन्दोलन होस्, पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस् ,दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी । साल्ट ट्रेडिङ्गले कहिले पनि आफ्ना उपभोक्तालाई नुनको अभाव हुन दिएन ।  त्यसमा हामी गर्व गर्छौं ।

वितरण कस्तो छ र कसरी काम गरिरहनुभएको छ ?

कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ । हाम्रो ९३ वटा कार्यालय मार्फत् ६ हजार डिलर नेटवर्क छ । त्यस मार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा पुगेको छ, सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै हाैं ।

नुनको कारबार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो, हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ, के कारणले हामीलाई फरक बनाउँछ ?

साल्ट ट्रडिङ्ग नेपाल सरकारको स्वामित्व भएको संस्था हो । नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर शेयर करिव २१.२६ प्रतिशत जति छ, बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको शेयर छ । सरकारको पनि शेयर भएको हिसावले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ । हाम्रो एउटा स्थिर मूल्य छ । सप्लाइमा कुनै पनि समस्या छैन । गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ ।

संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ । र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ । बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ । जस्तै आषाढ मसान्तमा, असारपछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ । ड्यामेज हुने चान्स बढी हुन्छ । असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ ।

१०/११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ । न्यूनतमा स्टक पनि हामीसँग छ, मूल्यमा एकरुपता छ । यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रडिङ्गले जसरी नुनको सर्भिस पुर्याइरहेको छ । त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन । चाहे चामल हेर्नुहोस् वा चिनी । चिनी हामीसँग आजको डेट (मिति) मा कम छ । बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ । साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको काम समेत गर्दै आइरहेको हुन्छ । यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ ।

यसलाई अर्को पाटोबाट हेर्दा हामीसँग भएको वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा हामीले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त ?

हामीले गरिरहेको काम निश्चय पनि अरुले यसरी गर्न सक्दैन । हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस् कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ । नेपालको प्रत्येक बजार, प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिती छ । हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन, क्यापासिटी (क्षमता) को छ । अधिराज्यव्यापी गर्ने हो भने १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ । हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिक टन क्षमताको गोदाम राखेका छौँ । यत्रो नेटवर्क कसैको छैन । त्यसै कारणले गर्दा पनि जुन हिसावले हामीः सेवा पुर्याइरहेका छौँ । त्याे आम नेपाली उपभोक्ताहरुलाई अरुले दिन सक्छन् जस्तो मलाई लाग्दैन ।

यति हुँदा हुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन्, पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ, अब त्यति मनोबल गिर्ने गरी दुःख नपाइएला नि ?

आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो, हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने हामी चाहन्छौँ ।

नेपालीहरुको ठूलो चाड दशैँ नजिकिएको छ, सदाझैँ हामीले पनि सहुलियत दिने गरेका छौँ, अहिले के छ तयारी ?

यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ, नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं,चिनीको स्टक हामीसँग छैन । हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसको पनि केही टुंगो लाग्ला,भन्ने विश्वास छ । अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल, दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ त्यो दिएर कारोवार गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.