अस्पताल खरिद बिक्रीले ल्याउँदैछ भयावह अवस्था

  २०७८ भदौ ३० गते १४:००     डा‍. अनुप सुवेदी

धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १/१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो । यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे अस्पताल ‘खरिद’को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला ।

तर, मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो । यसले बजारमा स्वभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठूलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ । जनहितको पैरवी गर्नुपर्ने राजनीतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ ।

स्वार्थको द्वन्द विरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य-कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पुँजीलाई दोहन गर्न रोकेका छैनन् । विगत २-३ दशकमा जसरी देशमा सर्वत्र क्रोनी पूँजिवाद हावी भयो, दल, तिनका भातृ संगठन र तिनमार्फत् राज्यका सबै अङ्ग अन्ततः दलाल र संभ्रान्तको हितमा परिचालन हुने साधन बनाइए (केही घटनाविशेष अपवाद बाहेक), यो सारा अवधिभर मिडिया लगभग पूरै बेखबर रह्यो ।

मिडियाको चेतना अझै उन्नत भएको छैन । नागरिक समाजले थरीथरीका पिनहोल चश्माले मात्र देशलाई हेर्ने, तर सबै जात, भाषा, क्षेत्र र अन्य कोटी-विभाजनमा छुट्टिएका सारा नागरिकका वर्तमान र भविष्यलाई एकैनासले बन्धक बनाइरहने -र यससँग लड्छु भने सबैलाई जुटाउने पनि- यत्रो बडेमानको अर्थ सामाजिक अजिङ्गरलाई भने नदेख्ने प्रण गरेको छ।

राजनैतिक दल कुनैमा पनि यो समस्यालाई रोक्नुपर्छ भन्ने सामूहिक चेत छैन ।  आँट, घोषित नीति त झन् शून्य । अचेल राजनैतिक करियर-पथ यसरी कोरिन्छन् कि आशालाग्दा केही युवा नेता पनि त्यही दलाल तन्त्रको पृष्ठपोषक हुने शर्तमा, र त्यस्तो झुकावको प्रमाण दिँदै गएमा मात्र निर्णायक ठाउँमा पुग्नेछन् ।

दलालतन्त्र बिचौलियातन्त्रको अन्तिम लक्ष्यजस्तै हो मोनोपोलि । यो चुनौतिसँग लड्न जुन किसिमको राजनीति र सांगठनिक पहल देखिनुपर्ने हो, नागरिक समाज र मिडियाको जुन किसिमको चेतना र पूर्वसक्रियता हुनुपर्ने हो, त्यो कसैबाट कतैबाट नदेखिँदा हाम्रो नियति यही दलदलमा झन् भासिँदै जाने हुने हो ।

यो मोनोपोलि बन्नबाट रोक्न वा भत्काउन के हुन सक्छ ? के गर्न सकिन्छ ? तृणमूल तहबाटै गलत संरचना र संस्कारलाई विस्तारै भत्काउने संगठनको निर्माण र विस्तार नै सबैभन्दा दिगो समाधान हो ।

तर त्यो बनाउने प्रयत्न हुँदै गर्दा यी अरू काम हुँदै जान सक्लान्-

१. खुबी देखाउन चाहने सांसद र युवा राजनीतिकर्मीहरूले सरकारको मुख नताकी आफ्ना र सबै दलका यो विषयमा कुरा मिल्ने समकक्षीहरूसँग मिलेर एकाधिकार व्यापार-निरोधी (ट्रस्ट-बस्टिङ) कानुन र स्वार्थको द्वन्द्व सम्बन्धि कानुनको पक्षमा लहर सिर्जना गर्ने, कानुन बनाउने र संसदबाट पास गर्ने ।

२. आम नागरिकको अधिकार र सामुदायिक स्वार्थको लागि वकालत गर्ने जुझारूपना र निष्ठा भएका कानुनकर्मीहरूलाई निरन्तर त्यसो गरिरहन चाहिने आर्थिक आवश्यकता पुरा गर्ने र अन्य भरथेग गर्ने संस्था र सञ्जाल (अमेरिकाको एसीएलयू जस्तो) बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने ।

३. दलालतन्त्र, मोनोपोलिले गरेका बदमाशीको हप्तौं र महिनौंसम्म अध्ययन गर्दै, अन्याय र ठगीका सबै पत्र उप्काउँदै सप्रमाण समाजलाई पस्कने कर्मठ पत्रकारहरूलाई त्यसरी पत्रकारिता गरिरहन सम्भव बनाइदिन सक्ने आर्थिक क्षमता र मिसन भएका संस्था बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने ।

(डा. सुवेदीकाे सामाजिक सञ्जालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.