नमस्ते पेबाट विद्युत र खानेपानीको महसुल भुक्तानीसँगै बैंकबाट रकम लोड गर्न सकिने

  २०७८ भदौ २९ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले नमस्ते पे सेवा सुरु गरेको हो ।

सो सेवा सुरु भएसँगै नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछ । यसैगरी, मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।

अन्य बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ । बैंकसगैँ देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गर्नका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको जनाएको छ ।

कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई तथा सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिका कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाई भएको थियो ।

कम्पनीले सुरुवाती चरणमा एण्ड्रोइड मोबाइल सेटमा मात्र सो सेवा सुचारु गर्न सकिने जनाएको छ । बजारमा ९५ प्रतिशतभन्दा बढी हिस्सा एण्ड्रोइड सिस्टमको मोबाइलको रहेको भन्दै विस्तारै आइओएसको लागि सेवा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको सञ्चालन गर्न सकिनेछ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने साे सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले टेलिकमको मोबाइल ब्यालेन्सबाट नै पैसाको रुपमा उपयोग गर्न नसकिने भन्दै नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिने जनाएको छ ।

मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाईन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसंग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षण समेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकैपटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने कम्पनीले जनाएको छ ।

सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोग मार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.