दक्ष जनशक्ति र उपकरण नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे परीक्षण उडान अनिश्चित

  २०७८ भदौ २९ गते १२:५२     विकासन्युज

काठमाडाैं । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा गाैतमबुद्ध विमानस्थलकाे परीक्षण उडान अनिश्चित बनेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले यस्ताे भएकाे बताए ।

हाल प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको उनले बताए ।

रुपन्देहीको भैरहवास्थित रहेकाे विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो ।

अब साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने आयोजना प्रमुख ईन्जिनियर अधिकारीले बताए ।

प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उक्त टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको उनले बताए ।

विमानस्थलमा परीक्षण फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न परीक्षण फ्लाइट गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.