आज सार्वजनिक हुँदै एनटीसीको नमस्ते पे, कारोबार गर्न इन्टरनेट नचाहिने

  २०७८ भदौ २९ गते १०:१७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ आज सार्वजनिक गरिने भएको छ । लामो समयको तयारी पछि आज ‘नमस्ते पे’ सार्वजनिक गरिन लागिएको हो ।

सरकारीस्टरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्ता पुँजी सबैभन्दा धेरै रहेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अनलाईन तथा अफलाईनको माध्यम मार्फत मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिने जानकारी दिए । सुरुवाती चरणमा सिमित सेवा राखेर सार्वजनिक गरिए तापनि विस्तारै अन्य सेवाहरु थपिदै जाने उनको भनाई छ ।

यसअघि टेलिकम र वाणिज्य बैंकका कर्मचारीबीच सो गेटवेको परीक्षण गरिएको थियो । आन्तरिक रुपमा परीक्षण सफल भएपछि आजबाट सर्वसाधारणको सरकारी पेमेन्ट गेटवेको उपयोग गर्न पाउने टेलिकमका अधिकारीहरु बताउँछन् ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् । सुरुमा कारोबार गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका ग्राहकले मात्रै बैंकसँग भएको रकमबाट कारोबार गर्न पाउने बताइएको छ । पछि यस्तो सेवा अन्य बैंक वित्तीय संस्थामा बैंक खाता भएका ग्राहकको लागि पनि विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।

यसअघि नै टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्न सकिने जनाईएको थियो । डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ ।

‘मोबाइलमा रिजार्ज गर्दा मोबाइल मनी सेवामा वा सिमकार्डमा गर्ने भनेर दुई विकल्प राखिएको छ, ग्राहकले आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्नसक्नुहुनेछ’, उनले भने ।

गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकमबिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्था अनुसार बैंकले सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगन गरेको छ ।

हाल बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभु पे लगायत १४ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालन अनुमति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.