‘व्यवसायी बन्न चाहने युवाका लागि ऋणको व्यवस्था गरेका छौं, तर ऋण चाहियो भनेर कोही आएका छैनन्’

  २०७८ भदौ २८ गते १८:४३     विकासन्युज

शान्तिनगर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका अध्यक्ष हुन् कमानसिंह डाँगी । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि गाउँपालिकाको स्वरुप नै परिवर्तन हुँदै गएको छ । गाउँपालिका समृद्धिको अभियानमा लागी परेको छ । भौतिक पूर्वाधारका दृष्टिकोणले पनि नमुना काम गर्दै गाउँपालिका अगाडि बढिरहेको छ । उनै अध्यक्ष डाँगीसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार :

तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ?

हामी निर्वाचित भएपछि पालिकामा धेरै कुराहरूमा उपलब्धि भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । हामी निर्वाचित हुनुभन्दा अघि पालिकामा ३ ओटामात्र स्वास्थ्यचौकी थियो । हाल हामीले पालिकाको प्रत्यके वडामा स्वास्थ्यचौकीको स्थापना गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याएका छौं । हामी निर्वाचित भएर आउने बेलामा वडा कार्यालयसम्म मात्र सडक पुगेको थियो । हाल हामीले पालिकाको प्रत्येक टोलमा सडक संजाल पुर्याएका छौं । पालिकाले सडक विस्तारलाई मुख्य प्राथमिकतामा राखी पिच गर्ने र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । प्रत्येक वडाका सडकलाई पिच गर्ने कामको पनि सुरुवात गरेका छौं ।

हामीले पालिकामा पहिलो वर्ष नै गरिब तथा विपन्न परिवारलाई लक्षित गरी खरको छानोमुक्त अभियान सञ्चालन गरेका थियौं । उक्त अभियान अन्तर्गत पहिलो वर्ष एक सय २२ घरलाई जस्तापाता उपलब्ध गराइएका थियौं । केही समय महामारीका कारण यो कार्यक्रम स्थगित भयो तर, यो अभियानलाई पालिकामा हाल निरन्तरता दिइरहेका छौं । पालिकामा खानेपानी, सिचाई सम्बन्धी काम पनि भएको छ । शिक्षा क्षेत्रतर्फको कुरा गर्दा हामीले पालिकाको प्रत्येक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गरी पठन पाठनको सुरु गरेका छौं । पालिकाले गुणस्तरीय शिक्षालाई विशेष जोड दिँदै आएको छ ।

गाउँपालिकामा कृषि क्षेत्रतर्फ कस्तो कामहरू भएका छन् नी ?

गाउँपालिकाले कृषि क्षेत्रमा पनि धेरै काम गरेको छ । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । यहाँका ८२ प्रतिशत नागरिकहरुले कृषि पेसा अँगालेका छन् । गाउँपालिकामा जीवन निर्वाहका लागिमात्र नभई आफ्नो घरायसी आवश्यकताको परिपूर्ति गर्न र अतिरिक्त आयआर्जन गर्नका लागि कृषकले पशुपालन गर्ने गरेको पाइन्छ । कृषिलाई व्यवसायीकरण गर्न पनि पालिकाले किसानहरुलाई आग्रह गरेको छ । हामी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नतर्फ पनि लागेका छौं । कृषि पेसा गर्ने कृषकहरुलाई पालिकाले प्रोत्साहन पनि गर्दै आएको छ । हामीले पालिकालाई ३ ओटा खण्डमा विभाजन गरी कृषिका कामहरू अगाडि बढाएका छौं । जस्तै, पालिकाको माथिल्लो भेगलाई बाख्रा, बिचलाई भैंसी र दक्षिणी भेगलाई गाई पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकाले २५ ओटा गाई ५० प्रतिशत अनुदानमा किसानहरूलाई वितरण गरेको छ भने कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर पालिकामा पर्यो । यस महामारीबाट पालिका पनि अछुतो रहन सकेन । यस महामारीबाट बच्नको लागि जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि पालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । कोरोना भाइरसबाट यहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिकाले ठुलो पहल गरेको छ । परीक्षण गर्दा पालिकामा हालसम्म लगभग १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिडका कारण पालिकाका ५ नागरिकहरूलाई गुमाएका छौं ।

स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ?

स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । केही समयसम्म योजना सञ्चालन गर्न पनि अप्ठ्यारो भयो । हाल हामीलेस्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति,नियम र कानुनहरू बनाई स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासको गतिलाई अगाडि बढाएका छौं ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

जनताको आवश्यकता धेरै छन् । हामीले पनि जनताको आवश्यकता अनुसार नै काम गरी रहेका छौं । हामीले यहाँका समसामयिक विषयलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । हाम्रो पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु थियो । जसलाई हामीले केही महिनामै पूरा गरेका थियौं । हाल हामीले यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत समग्र क्षेत्रको विकास गरेका छौं । चुनावी वाचा त लगभग पूरा गरिसकेका छौं । केही पूरा गर्न पनि बाँकी पनि छन् । पूरा गर्न बाँकी भएका कुराहरूको सम्भाव्यता अध्ययन भइसकेको छ । तर, सबै बोलेका कुरा पुरा गर्न सकिँदैन ।

चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

जनताको सेवा गर्न पाउँदा म निकै खुसी छु । जनताको सेवा गर्नको लागि म सदैव तत्पर रहनेछु । त्यस कारणले पनि जनताले मलाई अगाडि बढाउनु भएको हो भन्ने मलाई लाग्छ । हामी जुन उत्साहका साथ निर्वाचित भयौं । त्यसपश्चात जनताका अपेक्षा र चाहनालाई क्रमबद्ध ढंगले पूरा गर्ने कोसिस गरिरहेका छौं । त्यसैले म मात्र नभई नागरिक पनि सन्तुष्ट हुनुहुन्छ भन्ने आशा गरेको छु ।

संघ तथा प्रदेश सरकारसँग स्थानीय तहको समन्वय कस्तो रह्यो ?

फरक पार्टीको नेतृत्व भएर होला संघ र प्रदेश सरकारसँग त्यति राम्रो समन्वय हुन सकेन । कहिलेकाहिँ प्रदेशको गोष्ठी सेमिनारमा गइयो तर, प्रदेशको मन्त्रालय कुन ठाउँमा कुन घरमा छ भन्ने कुरा पनि मलाई थाहा छैन । आफूले जानेअनुसार अनि भ्याएअनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । प्रदेशका मान्छेसँग चिनेकै भरमा पालिकामा बजेट आउने गरेको छ । संघ र प्रदेशबाट धेरै बजेट आएन, निर्देशन मात्र आयो ।

स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ?

गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । त्यसैले सीमित स्रोत र साधका बाबजुद पनि जनतको अधिकांश आवश्यकताहरू पुरा गरेका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई सम्बोधन गर्ने गरेका छौं ।सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हाम्रो कार्यकालको अन्तिमसम्म हामीले सञ्चालन गरेको योजनाहरू पुरा गर्ने लक्ष्य छ । कृषि र पशुपालन क्षेत्रको विकास गर्ने हो । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने योजना समेत बनाएका छौं । विकास निर्माणको कामलाई तीव्रता दिने हो ।

सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ?

हामी शुसासनको लागि प्रतिबद्ध छौं । नागरिकले भन्ने ठाउँ हामीले दिएका छैनौं । काम गर्ने क्रममा कमी कमजोरी सबैबाट हुन्छ । तर, पनि नागरिकलाई हामीले सन्तुष्ट बनाएकै छौं जस्तो लाग्छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

यहाँका धेरैजसो युवा कृषि पेसामा आवद्ध छन् । कृषि पेसामा आधारित भएर युवाहरू स्वरोजगार बनि रहेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । हामीले पालिकाको प्रत्येक वडामा एकसय जनासम्मको श्रमिक बैंक सञ्चालन गरेका छौं । जुनसुकै विकास निर्माणको काम भएपनि श्रमिक बैंक सूचीकृत भएका युवाहरुलाई मात्र काममा लगाउने भनेर हामीले अभियानको रुपमानै सञ्चालन गरेका छौं । तर, यो काम भएको छैन । खालि समयमा यहाँको युवाहरू कामको खेजिमा भारत जान्छन् । हामीले व्यवसायिक बन्न चााहने युवाहरूको लागि सामान्य ऋणको पनि व्यवस्था गरेका छौं । तर, व्यावसायिक बन्छु ऋण चाहियो भनेर हालसम्म युवाहरू आएका छैनन् । पालिकामा विभिन्न युवा स्वरोजगारका कार्यक्रमहरू रहेको छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेसामा संलग्न छन् भने हामीले पनि युवालाई कृषि क्षेत्रमा जोडिन आग्रह गरेका छौं ।

अब, अन्त्यमा पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?

हामीले गरेको कामबाट नागरिकहरू असन्तुष्ट हुनुहुन्छ भने मलाई भन्न सक्नुहुन्छ र मैले गर्नसक्ने काम अझै पनि गर्छु । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्दछु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्नेछौं । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि पालिकावासीसँग अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.