अजोड इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७८ भदौ २८ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

जसमध्ये अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५९.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७८.१० रुपैयाँले बढी हो ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तको ६२.४० रुपैयाँले बढेर प्रतिकित्ता ६८७.२० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा लाइफको भने ६०.१० रुपैयाँले बढेर प्रतिकित्ता ६६१.९० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, टप गेनरको टप फाइभमा ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका कम्पनी रहेका छन् । यूनाईटेड इदी मार्दी आर बी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.१६ र ४.०७ प्रतिशतले बढेको छ ।

समग्रमा सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म उकालो लागेको बजार त्यसपछि ओरालो लागेर न्युनतम २९४० बिन्दुसम्म झरेको थियो । त्यसपछि बजार बन्द हुनु १० मिनेट अघिदेखि उकालोको बाटो तय गरेको बजार अन्ततः ०.२७ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढेर २९४७.७० बिन्दुमा पुगेको छ ।

त्यस्तै, बजारमा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

सोमबारको बजारमा अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । टप लुजरको टप टेनमा सबै हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले घटेर प्रतिकित्ता ६९४ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.