इजरायल रोजगारीको भाषा परीक्षा आजदेखि, यी हुन परीक्षा केन्द्र

  २०७८ भदौ २८ गते १०:५६     विकासन्युज

काठमाडौं । सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न सोमबार भाषा परीक्षा हुँदैछ । आज दिउँसो १ बजेबाट हुने परीक्षाको समय १ घन्टा तोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका ९ हजारर ६९९ जनामध्येबाट भाषा परीक्षामा ७ हजार ९ जना सहभागी हुनेछन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीका अनुसार भाषा परीक्षाका लागि काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्र तोकिएको छ । उनले परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र र परीक्षा केन्द्र पठाइसकिएको जानकारी दिए ।

हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ भने ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् । ७ हजार ९ जना सहभागी रहेको भाषा परीक्षाबाट लिखित परीक्षामा १६ सय ८० जना उत्तीर्ण हुनेछन् ।

प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले दुई दिनभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको विभागले जनाएको छ ।
भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले १४ सय जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने तयारी भएको छ ।

सरकारले पहिलो चरणमा १ हजार नेपाली श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरेको छ । जसअनुसार ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष रोजगारीका लागि जान पाउनेछन् । लामो समयको तयारी पश्चात नेपाली श्रमिकका लागि इजरायलमा रोजगारीका खुला गरेको हो ।

बिभागका अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब एक लाख ९३ हजार रुपैयाँ बढी हुन आउँछ । सो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.