बीमा संस्थानले चुक्ता पुँजी २ अर्ब पुर्याउने, स्वीकृति माग्दै पुग्यो अर्थमन्त्रालय

  २०७८ भदौ २७ गते ११:४५     विकासन्युज

काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले साे बताएका हुन् ।

नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप चुक्ता पुँजी दुई अर्ब पुर्याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले सोही अनुसार चुक्ता पुँजी पुर्याउनका लागि पुँजी योजना तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको उनले जानकारी गराए ।

विगत केही वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तार लगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए ।

कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।

संस्थानको लामो समयदेखि बाँकी रहेको आ.व.२०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखा परीक्षण तथा साधारणसभा गरिएको हो ।
संस्थानले आ.व. २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७/६८ मा तीन अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरको छ । यस्तै २०६८/६९ मा तीन अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ ।

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आ.व. २०६६/६७ को तुलनामा पछिल्ला वर्षहरुमा बीमा क्षेत्रमा रहेका विविध चुनौतिहरुको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य वृद्धि गर्दै गएको बताए ।

बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा सम्पन्न गरेको हो । संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन नसकेको संस्थानले जनाएको छ ।

महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिएन । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो ।

आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को साधारणसभा सम्पन्न भएसँगै अर्को तीन आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भई गत असार ३१ गते स्विकृतिको लागि बीमा समितिमा पठाइ सकिएको संस्थानले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आ.व. २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण समयमा सम्पन्न गर्नका लागि पनि साधारणसभाले दुई जना लेखापरीक्षक नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.