क्यासिनो सञ्चालनको तयारीमा जुटे व्यवसायी

  २०७८ भदौ २२ गते १८:३६     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन् ।

सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हालै हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन् । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक सङ्घले जनाएको छ ।

व्यवसायीले एक/दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने सङ्घका अध्यक्ष किशोर सिलवालले जानकारी दिए । ‘निषेधाज्ञा खुलेकाले एक/दुई दिनमै क्यासिनो खोल्न धेरै क्यासिनोले तयारी गरेका छन् भारतमा कोभिडको तेस्रो लहरको हल्ला छ अवस्था कस्तो हुन्छ, उपयुक्त वातावरण हेरेर सञ्चालन गर्छाैं, अहिले पर्ख र हेरको अवस्थामा छौँ’, उनले भने ।

नेपाली क्यासिनोको प्रमुख स्रोत बजार भारत हो । भारतबाट उल्लेख्य सङ्ख्यामा व्यापारी तथा उच्च घरानिय क्यासिनोको मनोरञ्जन लिन नेपाल आउछन् । नेपालको क्यासिनो बजारमा भारतीय ग्राहक नै हुन्छन् । क्यासिनोमा अधिकांश भारतीय व्यापारीले लगानी गरेका छन् । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । कोभिड महामारीअघि पनि राजधानीका कतिपय क्यासिनो सञ्चालनमा थिएनन् लामो समयदेखि बक्यौता नतिरेकाले सञ्चालनमा रोक लगाइएको थियो । थोरै सङ्ख्यामा क्यासिनो खुले पनि महामारीले बन्द गरेका थिए ।

राजधानी बाहिर पनि मिनि क्यासिनो सञ्चालनमा छन् । कोभिड महामारी नियन्त्रण गर्न सरकारले विसं २०७६ चैत ११ देखि मुलुकभर बन्दाबन्दी गरेको थियो । मङ्सिर महिनापछि बन्दाबन्दी खुले पनि पुनः कोभिडको दोस्रो लहर शुरु भएपछि विसं २०७८ वैशाख १६ गतेदेखि राजधानी उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको थियो । रैथाने व्यक्ति, व्यापारी तथा उच्च घरानाका व्यवसायीले मनोरञ्जनात्मक रुपमा खेल्ने जुवाखेल नै क्यासिनो हो । अहिले पर्यटकदेखि तारे होटल सञ्चालनमा छन् । तर विदेशी पर्यटक नहुँदा होटलले यात्रु पाउनै सकेका छैनन् ।

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल खुले पनि ग्राहक नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए । उनले पर्यटन क्षेत्रलाई राहत दिनका लागि सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनका अवस्था आए सहज अवस्था सिर्जना हुने बताए । अहिलेको अवस्थामा विदेशी पर्यटकलाई अनअराइभल प्रवेशाज्ञाको व्यवस्था गर्नसकिए पर्यटक आकर्षण हुने उनको भनाई छ । अहिले पनि विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरी नेपालमा कोभिडको जोखिम रहेकाले आफ्ना नागरिकलाई भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् । यो फुकुवा नभएसम्म पर्यटक आउन समस्या हुने उपाध्यक्ष शाहको भनाइ छ ।

सरकारले क्यासिनो व्यवसायीलाई बक्यौता तथा रोयल्टी रकम तिर्न बारम्बार ताकेता गर्दै आएको छ । महामारीका कारण बक्यौता उठेको छैन । पर्यटन विभागका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको ७० करोड बाँकी छ । त्यस्तै कुमारी चोकमा एक अर्ब २५ करोड बक्यौता उठाउन बाँकी छ । बक्यौता उठ्न नसकेपछि विभागले विसं २०७३ कुमारी चोकलाई लेखी पठाएको थियो । यो रकम क्यासिनोको जरिवाना र पेनाल्टीसहितको हो ।

महामारीको अवधिको रकमको हिसाब छैन । हाल मुलुकभर १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । दशवटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् । राजधानीका पाँचतारे अधिकांश होटलमा क्यासिनो सञ्चालन छन् । राजधानी बाहिरका सुविधासम्पन्न तारे होटलमा पनि क्यासिनो सञ्चालन भइरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.