फोन ट्यापिङ आरोपको टेलिकमद्वारा खण्डन, हरेक क्षेत्रमा ‘फ्रि’ वाईफाईको तयारी

  २०७८ भदौ २१ गते १६:४३     विकासन्युज

काठमाडौं । पछिल्लो केही समय यता नेपालमा फोन ट्यापिङ हुने गरेको भन्दै नेतादेखि सर्वसाधारणहरु समेत सचेत बन्न थालेका छन् । नेपाल टेलिकमको मोबाइल नेटवर्कबाट कल गर्दा कल ट्यापिङ हुने गरेको भन्दै वीच्याट, भाइबर देखि ह्वासएपजस्ता उपकरणबाट फोन गर्न थालिएको छ ।

नेपालका केही उच्च तहका नेताहरुको समेत फोन ट्यापिङ हुने गरेको हल्ला फैलिएपछि नेपाल टेलिकमले फोन ट्यापिङ गर्ने प्रविधि आफुसँग नभएको दाबी गरेको छ ।

कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले आफ्ना सेवाग्राहीको कल ट्यापिङ गर्ने अभ्यास नगरेको स्पष्ट पारे ।

उनले कानूनमा उल्लेख भई नसकेको उपकरण खरिद तथा सञ्चालन कार्य नेपाल टेलिकमले गर्न नसक्ने भन्दै फोन ट्यापिङ गर्छ भन्ने कुरा अफवाह भएको बताए ।

‘हामीसँग कल ट्यापिङ गर्ने उपकरण नै छैन,  हामीले दूरसञ्चार कम्पनीसँग उपकरण खरिदको अनुमति माग्नुपर्छ, नेपालमा कानून नै नभएका कारण हामीले अनुमति पाउने कुरा भएन, माग गरेका छैनाैं,  कल ट्यापिङ पनि हुँदैन’, उनले भने ।

कम्पनीका प्रवक्ता राजेश जोशीले टेलिकमले कुनै पनि सेवाग्राहीको फोन ट्यापिङ नगरेको भन्दै धेरै स्थानबाट आफूलाई समेत सो विषयको बारेमा सोध्ने गरेको जानकारी गराए ।

उनले विशेष अवस्थामा फोन ट्यापिङ गर्न मिल्ने प्रावधान रहेको नेपाल विषेश सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधिन रहेको भन्दै कानूनमा उल्लेख नभएकोे उपकरण खरिद तथा सञ्चालन कार्य टेलिकमले गर्न नसक्ने प्रष्ट पारे ।

‘कानुनमा उल्लेख भई आउने अवस्थामा सो काम सम्भवतः राज्यद्धारा अनुमतिप्राप्त सुरक्षा तथा अनुसन्धान निकायको जिम्मेवारीभित्र पर्छ,’ उनले भने ।

सरकारले संवेदनशिल विषयमा सुरक्षा निकायले अदालतको अनुमति बिनै कोही व्यक्तिको फोन ट्यापिङ गर्नसक्ने प्रावधानसहित विशेष सेवासम्बन्धी विधेयक गत वर्ष तयार गरेर राष्ट्रिय सभामा पेश गरेको थियो ।

यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् । उनले कम्पनीले सो सम्बन्धमा अध्ययन गरिरहेको भन्दै फ्रि वाईफाई खोज्दै हिडनुपर्ने बाध्यताको अन्त्य छिट्टै हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.