८५ प्रतिशत बीमा पोलिसी डिजिटल्ली माग हुन थाल्यो, अब १०० प्रतिशत पुर्याउँछौं- पोषक राज पौडेल

  २०७८ भदौ २० गते १४:०७     विकासन्युज

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय बीमा समितिबाट बीमा सञ्चालन गर्ने अनुमति पाई व्यवसाय सञ्चालन गर्न शुरु गरेको ४ वर्ष पुग्दैछ । छाेटाे अवधिमा कम्पनीले उच्चदरकाे ग्राेथ हासिल गरिरहेकाे छ । वित्तिय सामर्थ्यका आधारमा कम्पनीले प्रिमियम मूल्य राखेर साधारण सेयर निष्काशनकाे तयारी थालेकाे छ । यो ४ वर्षमा कम्पनीले के के गर्न सक्यो, के गर्न सकेन, अबको योजना के हो ?  लगायतका विषयमा केन्द्रित भई कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पोषकराज पौडेलसँग कुराकानी गरिएको छ ।

सिटिजन्स लाइफ सञ्चालनमा आएको ४ वर्ष पुग्दैछ । यो अवधिमा कति उपलब्धि भए ?

यो चार वर्षको अवधिमा हामीले केही क्षेत्रमा सोचेको भन्दा पनि बढी गर्यौं । हामीले हालसम्ममा ७ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छौं । कूल ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । हामीले हाल १३० भन्दा बढी शाखाहरु स्थापना गरिसकेका छौं । ३३ हजार बढी एजेन्सी छन् । समग्र रुपमा हेर्दा ‘वी आर भेरी इन गुड सिच्योएसन’ । अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको मार्केट तथा भोल्युम ग्रोथ हेर्दा हामी बीमा क्षेत्रकै लिडिङ्ग पोजिसनमा छौं । नयाँ जेनरेसनका कम्पनी त छँदै छन्, पुराना केही कम्पनीभन्दा पनि अगाडि पुगेका छौं । नयाँ बिजनेसमा लिड गर्न सफल भएकोमा हामी खुशी छौं । हाम्रा सेवाहरूलाई राम्रोसँग डिजिटाइजेशन गर्ने, सर्भिसलाई एक्स्सिलेन्ट बनाउने लगायत इन्टरनल स्ट्रेन्थेन (आन्तरिक सुदृढीकरण) मा धेरै मिहेनत गरेका छाैं ।

तर, हामीले केही क्षेत्रमा सोचेको जति पनि गर्न सकेनौं । एक्स्पान्सन, भिजिबिलिटी, फेस टु फेस सर्भिसिङ्ग जस्ता कस्टुमर टच पोइन्टमा दिने सर्भिसहरुमा भने सोचेको भन्दा ग्याप भए । र, हामीले सोचेको जस्तो लेभलमा लान सकेनौं । सोचेको लेभलमा पुग्न नसक्नुको कारण एउटै थियो, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस । उक्त माहामारी नआएको भए अझै बढी गर्न सक्थौं भन्ने भएको छ । तर, त्यसलाई डिजिटल्ली सप्लिमेन्ट गरेको भएर पनि हामी अहिले सन्तोषजनक अवस्थामा नै छौं ।

लिडिङ् पोजिसनकाे एचिभमेन्ट गेन गर्नको लागि सामान्यतः केले बढी काम गर्ने रहेछ ?

हामीले विशेष गरी तीनवटा क्षेत्रमा फोकस गरेका छौं । तीनवटा मध्ये हामीले अहिले दुई वटामा लिड गरिसकेका छौं । एउटा, ग्राहकको लागि उनीहरुले चाहेको अर्थात नीड बेस्ड प्रडक्ट बनाउने । प्रडक्टमा एक्सिलेन्सी तथा यूनिक भ्यालु क्रियट गर्नेमा हाम्रो फोकस छ ।

यससँगै प्रडक्ट डिट्रिब्युसन गर्ने हाम्रो एजेन्सी टीमलाई तीनवटा एरियामा फोकस गर्यौं । एउटा, एजेन्टकाे फाइनान्सियल बेटरमेन्टको लागि काम गर्यौं, दोश्रो उनीहरुको ज्ञान तथा क्षमताको विकास र अर्को पुरस्कार र सम्मान, जसले उनीहरुको सोसियल स्ट्याटस अपलिफ्ट गर्नलाई हामी सफल भयाैं । त्यसले नै हाम्रो सिटिजन्स लाइफलाई अगाडि बढाउन सहयोग गर्यो । हामीले जसरी एजेन्सीलाई फ्रेमिङ्ग गर्यौं, उनीहरुको क्षमता अभिवृद्धि गरायौं, त्यो नै हाम्रो सफलताको प्रमुख उपकरण हुन् । र, सिटिजन्स लाइफ आज यहाँ आउनुको पछाडि कम्पनीले एजेन्सीलाई जसरी अगाडि बढाएको छ त्यो नै ‘वान एण्ड वन्ली की टुल’ हो ।

अर्को, हाम्रो पोलीसी बेच्ने नै एजेन्सीहरु हुन् । जसलाई हामी सिटिजन्स लिडर भन्छौं । उनीहरुलाई यहाँ काम गर्ने वातावरण बनायौं । अहिलेसम्म अधिकांश कम्पनीमा लिडरहरुलाई काम गर्ने वातावरण बनाउनेमा केही ग्यापहरु देखिएका छन् । बजारमा पनि केही ग्याप छ । र, उक्त ग्यापलाई हटाउने अर्थात फुलफिल गर्नेमा सिटिजन्स लाइफले लिड गरेको छ ।

हामीले हालै मात्र तीन दिने तालिम दियौं । र, उनीहरुको क्षमता अभिवृद्धिमा हामी बजारको भन्दा एक स्टेप माथि नै छौं । यससँगै सिटिजन्स लाइफमा काम गर्ने ट्रष्ट छ है भन्नेमा विश्वास कमायौं । जुन, हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।

तपाईंका १३० वटा शाखामध्ये कति वटाले नाफा कमाई रहेका छन् ? औषतमा प्रत्येक शाखाको कारोबार कति छ ?

एकदमै सही प्रश्न गर्नुभयो । बजारले बुझ्नुपर्ने के हो भने जीवन बीमा कम्पनीमा शाखाले नाफा गर्छ कि गर्दैन र कुन कुन शाखा नाफामा गएको छ भनेर हेर्ने अभ्यास अझै पनि छैन । धेरैले यसमा गृहकार्य गरेको पनि देखिदैन ।

तर, हाम्रो हरेक शाखा प्रमुख तथा जुनसुकै शाखामा पस्नुस् र उनीहरुलाई नाफामा हुनुहुन्छ कि छैन भनेर प्रश्न गर्नुस्, उनीहरुले उत्तर दिने गरी हामीले क्यापेबल बनाएका छौं । यसको मतलब मेरो शाखा नाफामा जान कति बिजनेस गर्नुपर्छ भन्ने उसलाई सबै थाहा छ । त्यो लेभलमा हामीले ज्ञानको विकास गरेका छौं ।

र, हाम्रा थुप्रै शाखाहरु अझै पनि नाफामा छैनन् । विशेष गरी ग्रामीण भेगका शाखाहरु नाफामा आउन केही समय लाग्छ । गाउँका सबै शाखाहरु केही समय नाफामा नआउन पनि सक्छन् । सबैमा नाफा हेरेर मात्रै जाँदैनौं, केही ठाउँमा सेवा दिनकै लागि गएका हुन्छौं । र, केही ठाउँमा कम्पनीको रणनीतिको हिसावले शाखा खोलेका छौं ।

हामी नयाँ कम्पनी भएकाले पनि धेरै शाखाहरु नयाँ छन् । गत वर्ष खोलिएका शाखा यही वर्ष नाफामा आउने अथवा औसतमा २/३ वर्ष लाग्ने शाखाहरु पनि गाउँमा हुन्छन् ।

तपाईंहरु नयाँ कम्पनी पनि हुनुभयो । बजारलाई लक्षित गरेर शाखाहरु विस्तार गर्नुभयो । ती शाखाले काम गर्न नसकेर उल्टो नोेक्सानमा गएर शाखा बन्द गरिदिनु पर्यो भन्ने स्थिति आयो कि छैन ?

छैन । आजसम्म आएको छैन । हामीले शाखा नोक्सानमै गयो अब बन्द गरिदिउ भन्ने सोचेका छैनौं । तर अन्य रणनीतिहरु अपनाएर सञ्चालन गराउनु पर्छ भन्ने भयो र कोरोनाकै कारणले पनि धेरै क्षेत्रमा परिवर्तन गरायो । मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सर्ने, अस्पतालको सेवा सुविधा लिनको लागि पनि उनीहरु लेकबाट बेसी झर्न बाध्य भएको हामीले पाएका छौं । त्यसैले यसले दीर्घकालिनको लागि पनि राम्रै प्रभाव पार्छ भन्ने विश्वास छ ।

तपाईंले अहिलेसम्म गर्न चाहेकाे तर गर्न सकिन भन्ने केही रह्यो ?

मैले शुरुमै भनिसके । कोरोनाले गर्दा हामीले जे सोचेका थियौं, केही थप बढी गर्न सक्छौं भन्ने थियो, त्यसमा केही बाँकी रहे । हाम्रा स्ट्रयाटेजीलाई मुभमेन्ट गराउन जति समय लाग्थ्यो, जुन स्पीडमा गरिन्थ्यो, माहामारीले गर्दा उक्त स्पीड रोकियो । तर, अहिले अवस्थामा पनि हामीले करिब १८० प्रतिशतको ग्रोथ गर्यौं । उक्त ग्रोथ र समग्र कम्पनीको परफरमेन्स हेर्दा हामी सेफ छौं । र, सबै सूचक हेर्दा सन्तुष्ट हुने अवस्था छ ।

अबको प्लान ?

हामीले यो वर्ष विशेष गरी डिजिटलाईजेशनलाई थप फोकस गर्ने हो । त्यसको लागि ‘डिजिटल सिटिजन्स क्याम्पेन’लाई अघि बढाउँदै छौं । आजको दिनमा ग्राहकहरुले घरमै बसेर सिटिजन्सको पोलिसी खरिद गर्न सक्नेछन् र, उनीहरुको घरसम्मै पोलिसी पुर्याउने लेभलसम्मको काम सिटिजन्सले गरेको छ ।

साथै, अनलाइनबाटै दावी गरेको केही दिनभित्रै भुक्तानी गर्न सफल भएका छौं । हालै मात्रै बिमितको मृत्यु भएको दुई दिनमै उसका परिवारलाई भुक्तानी गरेका थियौं ।

अबको संसार डिजिटल हो । महामारीको कुन वेभ आउँछ कसैलाई थाहा छैन । घरम बस्दा पनि इन्स्योरेन्सको प्रडक्ट चाहिन्छ भने उनीहरुले एप्लाई गर्न सक्ने छन् । समग्रमा सिटिजन्स लाइफ डिजिटलाइजेशनमा एक स्टेप फड्को मार्ने गरी अघि बढ्छ ।

हालको अवस्था कस्तो छ ? ग्राहकले अनलाईनबाट कत्तिको एप्लाई गरिरहेका छन् ?

गत असारमा आएका पोलिसीमध्ये ८० प्रतिशत पोलिसी डिजिटल्ली आयो । त्यस्तै, गत साउनमा बढेर ८५ प्रतिशत पोलिसी डिजिटल्ली मात्रै आयो । जसलाई हामी १०० प्रतिशत गर्न चाहान्छौं ।

यसमा एजेन्टको भूमिका कति रहन्छ ?

पुरै एजेन्टकै भूमिका हो । किनभने सबै एजेन्टले नै बेच्ने हो । हाम्रो ड्रिष्टिब्युटर नै एजेन्ट हो ।

डिजिटल्ली कारोबारमा गइसकेपछि पनि एजेन्टको भूमिका रहन्छ र ?

यो टेक्निकल प्रडक्ट भएकोले ग्राहकलाई कुन प्रडक्टमा के बेनिफिट हुन्छ भन्ने नै थाहा हुँदैन । तर, अभिकर्तालाई भने हामीले तालिम दिएका हुन्छौं । कुनमा कति सुविधा पाइन्छ, लाभ कसरी लिने भन्ने अभिकर्तालाई सबै थाहा हुन्छ । र, बल्ल हामीले उसलाई प्रडक्ट बेच्नको लागि टुल दिन्छौं ।

जस्तै, कुनै दुर्गम गाउँमा बसेको एउटा अभिकर्ताले आफ्नो गाउँ ठाउँको ग्राहकलाई त्यहिबाट सब्मिट गर्छ । र, विकसित मुलुकमा पनि ग्राहकले आफै जानेर बुझेर बीमा पोलिसी किनेको धेरै कम छ । किनभने यो कसैको मार्फत नै लिनुपर्छ ।

सिटिजन्ससँगै अन्य थुप्रै जीवन बीमा कम्पनीहरु सञ्चालनमा आए । त्यसमध्ये अधिकांशले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिसके । तर, तपाईंको अहिलेसम्म आएको छैन । यसमा तपाईंहरु किन पछि पर्नुभयो ?

हामी अहिले आईपीओ ल्याउने तयारी अवस्थामै छौं । र, अरुभन्दा पछि पर्नुको कारण हामीले केही गृहकार्य गरिरहेका छौं । हामी हाम्रो टाइम प्लान अनुसार चलिरहेका छौं । कोही अघि कोही पछि त भइहालिन्छ । तर, हामी हाम्रो रोडम्याप अनुसार पछि परेका छैनौं । हाम्रो क्यालेन्डर अनुसार नै गइरहेका छौं ।

अब कहिले आउँछ ?

हामी तयारीको लगभग अन्तिम अन्तिम अवस्थामा छौं । हामी सकेसम्म चाँडै गर्छौं । हाम्रो क्यालेन्डर अनुसार हामी एकदम रेडि पोजिसनमा छौं । हामी छिट्टै साधारणसभामा जाँदैछाैं । त्यसपछि  नियामकको स्वीकृतिको लागि लगभग ३/४ महिना समय लाग्ला । अब त्यहाँ पनि कत्तिको लाम (क्यु) छ भन्नेमा पनि भरपर्छ । अब अहिले धितोपत्र बोर्डमा पनि केही अलमल भइरहेको छ । त्यसैले त्यहाँ कत्तिको क्यु छ भन्नेले पनि हाम्रो समय निर्धारण गर्छ ।

सिटिजन्सले प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गर्दैछ, हाेइन ?

हामीले नियम अनुसार के–के गर्न मिल्छ र कम्पनीलाई जे गर्दा राम्रो हुन्छ, हामी त्यो गर्ने हो । हामीले पोलिसी होल्डरको बेनिफिटको लागि र कम्पनीलाई बलियो बनाउनको लागि काम गर्ने हो । र, कम्पनीलाई जे गर्दा राम्रो हुन्छ, हामी त्यहि अनुसार अघि बढ्ने हो । अहिले यत्ति मात्रै भने ।

तपाईले जे भन्नुभयो त्यो सैद्धान्तिक रुपमा राम्रो छ, जुन मार्केटले एप्रिसियट पनि गर्छ तर, आजको कम्पनीको वित्तीय विवरणले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न कत्तिको सर्पोट गर्छ ?

मज्जाले सर्पोट गर्छ ।

प्रिमियम कतिसम्म जान सक्छ ?

यस्तो छ । हामी अहिले फाइनल नम्बरसम्म पुगिसकेका छैनौं । हामी एउटा रिजिनियबल्ली र अहिलेको भन्दा राम्रै भ्यालुमा आउँछ भन्ने हिसाबले नम्बर चाहिँ त्यो पोइन्टमा पुगेपछि निर्धारण गर्छौं । अहिले त्यो गरिसकेका छैनौं । फेरी पनि हामीले सबै काम नियम अनुसार गर्नुपर्छ । नियामककाे स्वीकृति लिनुपर्छ । नियम अनुसार मिल्ने भयो र कम्पनीलाई राम्रो हुन्छ भने प्रिमियमै ल्याउँछौं । त्यसको लागि बजारमा रहेको सबै अप्सनहरुमा काम भइरहेको छ ।

तपाईं नयाँ कम्पनीमा पहिलो सीईओ । सीईओकाे जिम्मेवारी पहिलो पटक सम्हाल्दै गर्दाको जोश, जाँगर मर्दै गएका छन् कि थप इनरजेटिक भएँ, पुरै खारिएँ, जोश जाँगर थपिएको अनुभूति हुन्छ ?

पक्कै पनि । शुरुमा सीईओ  हुँदा दुई तीनवटा कुरा थियो । नयाँ सीईओ भएर आउँदा मलाई राम्रो पक्ष के थियो भने नयाँ कम्पनी ड्राइभ गर्न पाएँ । नयाँ सिर्जना गर्न पाउँदाको जुन चुनौति थियो, त्यो राइट डिरेक्सनमा लानको लागि र पुरै नयाँ सिर्जना गर्नको लागि आफ्नो इच्छा अनुसारले लान पाएँ । जसले गर्दा आज चौथो वर्षसम्म राइट स्थानमा पुग्न सफल भयौं । र, आगामी दिनमा थप राम्रो गर्न सकिन्छ भन्नेमा थप कन्फिडेन्स बढेको छ । शुरुको र आजको अवस्थासम्मको जिम्मेवारीले ममा म्याच्युरिटी थपिएको छ । यसमा म थप खारिएको छु । त्यसैले यो मेरो लागि राम्रो अवस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.