चक्रपथमा स्मार्ट सडक बत्ती राख्दैछौंः उपमेयर सत्याल

  २०७८ भदौ १८ गते ११:१३     विकासन्युज

ललितपुर महानगरपालिकाको उपप्रमुख हुन् गीता सत्याल । उनी उपप्रमुखको रुपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बीचमा उनले शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको बताएकी छन् । उपप्रमुख सत्यालसँग महानगरले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा केन्द्रीत रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन्ः

चालु आर्थिक वर्षको बजेट ल्याइसक्नु भएको छ, यस पटकको बजेटमा मुख्य प्राथमिकता के-कस्ता छन् ?

यस वर्षको बजेट असारको ३१ गते नगरसभाबाट पारित गर्यौं । ५ अर्ब ५५ करोड ५५ लाख ९५ हजार रुपैयाँ यस वर्षको बजेट छ । त्यसमा विशेषगरी टोल र वडाबाट आएका योजना र कार्यक्रमलाई नै प्राथमिकिकरण गरेर बजेट छुट्याउने काम गरेका छौं । तर, यस वर्ष जुन कुरा मैले व्यक्त गरेकी थिएँ, त्यो अनुरूप टोल भेला गर्न सकिएन । उक्त भेला गर्न नसकेको कारणले गर्दा वडाध्यक्षरूले आफ्नो वडामा जे जस्तो आवश्यकता महसुस गरेर योजना र कार्यक्रमहरु अघि सार्नुभएको छ, हामीले त्यसलाई नै मध्यनजर गरी बजेट विनियोजन गरेका छौं ।

बजेटमा नयाँ कार्यक्रमहरू कुनै समावेश गर्नु भएको छ ?

विकास निर्माणको काम त यथावत रहिहाल्यो । अहिले जनताले देख्न सक्ने काम भनेको हामीले चक्रपथमा स्मार्ट स्ट्रिटलाइट जडान गर्दै छौं । जसका लागि यस वर्ष बजेट समेत विनियोजन भइसकेको छ । अर्काे नयाँ कार्यक्रम लगन खेलको राजदल व्यारेकमा रहेको पोखरीलाई महानगरपालिकाले व्यवस्थित गरी सर्वसाधारणको लागि पनि खुल्ला गर्न बजेट विनियोजन गरेका छौं । यी २ वटा कार्यक्रम जनताले हेर्दा देखिने र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कुरा भयो ।

स्मार्ट स्ट्रिट लाइट नहुँदा चक्रपथमा बेलुकाको समयमा धेरै घटनाहरू हुने गरेका छन् । उक्त ठाउँमा बत्ति जडान भयो भने अकालमा मृत्यु हुनु पर्दैन थियो भन्ने आधारमा पनि यसमा बजेट छुट्याएका छौं । बत्ति जडानको लागि ललितपुर महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत बजेटमा हामीले अहिले काम गर्दै छौं । चक्रपथमा बत्ति जडानको लागि महानगरको ६० प्रतिशतमा सडक डिभिजनले हामीलाई ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ ।

गत आर्थिक वर्षमा बजेटको कार्यान्वयन तथा खर्चको अवस्था कस्तो रह्यो ?

हामीले जति रकमहरू विनियोजन गर्ने गरेका थियौं, गत वर्ष त्यसमा धेरै बजेट थिएन । महानगरले गत आर्थिक वर्षमा ४ अर्ब ४९ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । गत वर्षदेखिनै कोभिड पनि आयो । कोभिडको कारणले उठ्नु पर्ने राजश्व उठ्दैन कि भनेर हामीले आन्तरिक स्रोतबाट पनि १ अर्ब ३३ करोड रुपैयाँ राखेका थियौं । नेपाल सरकारबाट आउने बजेट पनि कम आयो र कम बजेट भएको कारणले नै त्यो अनुरूप सबै काम गर्न सकेनौं ।

कतिपय योजनाहरू वहुवर्षीय योजनामा पनि गएका छन् । वहुवर्षीय योजनामा भौतिक पूर्वाधार, संरचना निर्माण, वडा भवन बनाउने कुरामा बजेट विनियोजन गर्नुपर्ने हुन्छ । हामीले जति बजेट विनियोजन गरेका थियौं, त्यो अनुरुप काम भएको छ । एक दुई ओटा योजनाहरूका बजेट फ्रिज भएर पनि गएका छन् । सम्झौता गर्न नपाएर, कोभिडका कारणको समस्या आइसकेपछि थेरै रकमहरू फ्रिज भएको छ । तर, धेरै मात्रामा रकमहरू फ्रिज भएर गएको अवस्था छैन ।

ललितपुर महानगरपालिकालाई व्यवस्थित सहरका रूपमा विकास गर्ने के–कस्ता योजना छन् ?

हामी महानगरपालिकालाई कसरी व्यवस्थित सहर बनाउन सकिन्छ भन्नेतर्फ लागेकै छौं । ललितपुर महानगरपालिका कला सांस्कृतिकको धनी सहर हो । यस सहरलाई प्राचीनकालदेखि हालसम्म विभिन्न नामले चिनिँदै आएको छ । ललितपुर महानगरका भौतिक सम्पदाको प्राचीनता बारे मल्लकालको पूर्वार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै छन् । ललितकलाले भरिपूर्ण सहर र यहाँ कष्टकला, ताम्राकला लगायतका धेरै कलाकारहरू पनि हुनुहुन्छ ।

यस्तो सहरलाई व्यवस्थित गर्नको लागि यहाँ भएका जति संरचनाहरू छन्, ती संरचनाहरूलाई बिगार्न हुँदैन । जहाँ अहिले नयाँ बस्ती बस्तै, छ त्यस ठाउँलाई कसरी व्यवस्थापन गर्ने र सबै कुराको व्यवस्थापन गरी वस्ती बसाल्ने भन्ने मात्र कुरा छ । हिजोको पाटन सहरलाई हामीले बाटो फराकिलो गरेर, यहाँका संस्कृति सम्पदालाई बिगार्न सक्दैनौं । त्यसलाई यथावत राखेर त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यतातिर जानु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

ललितपुर महानगरपालिकाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ?

गत वर्ष नै मेट्रिक ठेगानाका सम्पूर्ण काम सकेका छौं । एक दुई वडाहरूमा विवाद भएको कारणले कामहरू रोकिएको छ । सम्भवत कोभिड नभएको भए सबै घर नम्बर र महानगरभित्रका टोलहरूको नामकरण गर्ने काम सकिसकेका हुन्थ्यौं । कोभिडले नै गर्दा यो काममा पनि असर पुर्याइरहेको छ । मलाई लाग्छ, यो काम हाल पनि सुचारूपले सञ्चालन भइरहेको छ । केही समय पश्चात पूर्णरूपले महानगरपालिकालाई मेट्रिक प्रणालीबाट घर नम्बर दिन सक्छौं । यो काम भइसकेको छ तर, पूर्ण रूपमा बाहिर नआएको मात्र हो । यो काम हरेका वडामा भइरहेको छ ।

घर वाहल करलाई वैज्ञानिक विधि लागू गर्ने, घटाउने सम्बन्धी केही योजना छ ?

घर वाहल करलाई नेपाल सरकारले १२ प्रतिशत लिइरहेको थियो । हामी आएपछि घर वाहल करलाई २ प्रतिशतले घटाएर १० प्रतिशतमा पुर्याएका थियौं । हामीले उक्त करलाई नेपाल सरकारले तोकिदिएको नियम नै लागू गरेका छौं । घर वाहल करको बारेमा कुरा गर्दा मैले मेरो घरको भाडा तिरेको छ कि छैन, भन्ने कुराको आफैले घोषणा गर्ने र मैले यदि सटर लिएर राखेको छु भने सटरको मूल्य अनुसार आफैले घोषणा गरेर कर तिर्ने वातावरणको सिर्जना गरेका छौं ।

कोरोना महामारी छ, कोरोना रोकथाम गर्न ललितपुर महानगरले गरेको प्रयास के हुन् ?

कोभिडको प्रभाव परेसँगै २०७६ चैत ११ गतेबाट लकडाउनको सुरु भयो । लकडाउन सुरु भएपछि हामीले एन्फाको भवनमा क्वारेन्टिनको व्यवस्थापन गर्यौं । त्यसको केही समयपछि कोभिडको संक्रमण घट्दै गयो र कोभिड पनि हट्यो भनेर हामी पनि मौन भएर बस्यौं । फेरि दोस्रो भेरियन्टको देखापर्याे । दोस्रो भेरियन्ट देखापरिसकेपछि यसको व्यवस्थापन गर्न केही समस्या पनि भयो । हामीले पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि एक करोड रुपैयाँ बजेट दिएका छौं । पहिलो कोभिडमा जति समस्या आयो, त्यस्तो समस्या दोस्रो लहरमा नहोस् भनेर हामीले पाटन अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री पनि दिएका छौं ।

दोस्रो लहर आइसकेपछि महानगरपालिकाले २ वटा आइसोलेसन सेन्टरको पनि स्थापना गरेको छ । हामीले यूथ फाउन्डेसन नेपालसँग मिलेर वडा नं. २६ मा आइसोलेसनको पनि स्थापना गरेका छौं । अर्काे, हामीले बागडोलस्थित ज्यापु समाजको भवनमा सुन्दर ढोका साथी सेवा संस्थासँग मिलेर उक्त ठाउँमा आइसोलेसन सञ्चालन गरिरहेका छौं । यूथ फाउन्डेसन र ज्यापु समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर, स्वास्थ्यकर्मी, डाक्टर सहितको दरबन्दी पनि तयार पारेका छौं । अहिले पनि धेरै बिरामीहरू महानगरपालिकाले बनाएको आइसोलेसनमा बस्नु भएको छ । उँहाहरू यहाँबाट कोभिड जितेर जाँदा प्रशंसा नै गरेर जानु भएको छ । कोभिड रोकथाम र नियन्त्रणको लागि हाल पनि महानगरको प्रयास जारी छ । जनचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका छौं ।


हामीले गत वर्ष र यस वर्ष पनि कोभिड कोषको स्थापना गरी बजेट विनियोजन गरेका छौं । हामीले गत वर्ष १९ करोड रुपैयाँको कोभिड कोष स्थापना गरेका थियौं भने यस वर्ष पनि उक्त कोषमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं । यसै कोष मार्फत सम्पूर्ण खर्चहरू गर्ने निर्णय गरियो र यही रकमबाट नै महामारी नियन्त्रण गर्नमा खर्च गर्दै आएका पनि छौं ।

स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा निधन भएमा, आइसियु तथा भेन्टिलेटरमा उपचार गरेर निको भएका बिरामीहरूको लागि सहयोग प्रदान गर्ने भएका छौं । जस्तो कि कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने, आइसियु तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई ६० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यस सम्बन्धि हाम्रो निर्देशिका पनि आइसकेको छ भने धमाधम निवेदन संकलन गरिसकेको अवस्था छ । हरेक वडामा गएर उनीहरूको परिवारलाई रकम वितरण गर्छौं ।

कोरोना रोकथाम गर्न ललितपुर महानगरले हालसम्म कत्ति खर्च गर्यौ ?

गत वर्ष पनि महानगरले जीटुजी कार्यक्रम गरेका हुँदा त्यति धेरै बजेट खर्च भएको थिएन । अहिले हामीले २ ओटा आइसोलेसन चलाउँदै गर्दा एक करोड रुपैयाँ पनि बजेट खर्च गरेका छैनौं । किन भने यूथ फाउन्डेसन र सुन्दर ढोका साथी संस्थाले खानाको व्यवस्थापन गरिरहेको छ । जहाँ हामीले आइसोलेसन सेन्टर खोलेका छौं, त्यहाँ हामीले रकम तिर्नु पर्दैन । त्यसैले पनि कम रकम खर्च भएको छ । महानगरपालिकालाई विभिन्न संघ संस्थाबाट निःशुल्क स्वास्थ्य सामग्री सहयोग मिलेको कारणले पनि धेरै बजेट खर्च गर्नुपर्ने अवस्था रहेको छैन । केही मात्रामा महानगरले पनि स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । हामीले आइसोलेसन सेन्टरमा स्टोर बनाएका छौं । उक्त स्टारमा जिन्सी दाखिला गरेर मात्र दिने भएर हाम्रो महानगरपालिकालाई व्यय भार त्यति धेरै परेको छैन ।

ललितपुरमा कति प्रतिशत जनसंख्याले खोप लगाए ?

मलाई लाग्छ हिजोसम्म पनि महानगरभित्र खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भदौ १३ गतेको तथ्याङ्क अनुसार महानगरमा ८५ हजार नागरिकलाई खोप लगाइसकेका छन् ।

अब न्यायिक क्षेत्रको प्रसंग जोडौं, न्यायिक क्षेत्रमा कस्तो काम गर्नुभएको छ ?

न्यायिक क्षेत्रमा हामीले धेरै काम गर्दै आएका छौं । न्याय दिने भनेको आफैंमा चुनौतीपूर्ण काम पनि हो । घर–जग्गा, सम्बन्ध विच्छेद, लालनपालन, लेनदेन, घरायसी झै–झगडा, घरबहाल, सीमा विवाद लगायतका मुद्दा आउने गरेका छन् । महानगरमा आएका विभिन्न प्रकृतिका मुद्दाको प्रतिवेदन नगरसभामा दिन्छौं । अब न्यायिक समितिमा दर्ता भएका मुद्दाहरू ७० वटा छन् । हाम्रो कार्यअवधि लगभग अब ६ देखि ७ महिना मात्र हो । यो अवधिभित्र हिजोको दिनसम्म आएका ७० ओटा मुद्दा फछ्र्योट गर्नुपर्ने अवस्था छ ।

अघि नै भनिहाल्नु भयो, न्याय दिने भनेको आफैंमा चुनौतीपूर्ण काम हो, कत्तिको अप्ठ्याराहरू आउने गर्दछन् ?

यो क्षेत्रमा काम गर्दा समस्याहरू धेरै आउँछन् । किनभने हामी इजलासमा बसिराखेको हुन्छौं, बादी प्रतिबादि त्यही झगडा गरी दिनु हुन्छ । हामी जनप्रतिनिधिहरू राजनैतिक पृष्ठभूमिबाट आएको हुनाले दलीय रूपमा फैसला हुन्छ कि भन्ने पनि गुनासोहरू आउने गर्दछन् । तर, हामीले न्यायिक मनले न्याय दिने हो भने पिडक र पीडितलाई हामी छुट्याउछौं ।

उनीहरूले आफ्ना कुरा राख्दा पनि पिडक र पीडित को हो भन्ने कुरा हामीलाई त्यति बेलै केही न केही ज्ञान भइसकेको हुन्छ । त्यसबाट नै कस्तो खाल्को निर्णय दिने भन्ने कुरा तयार पारिसकेका हुन्छौं । हामीले गरेको न्याय सम्पादन वास्तविक पीडितको न्याय हुनुपर्छ भनेर मैले काम गरेको छु । समग्र पीडितले न्याय पाउनु पर्याै, दोषिलाई सजाय हुने तरिकाले न्यायिक प्रणालीमा काम गरी रहेका छौं ।

ललितपुर महानगरका चुनौती के हुन् ?

काम गर्दा चुनौती भएन भने अगाडि बढ्न सकिँदैन । चुनौती नै संघर्ष र विकासको एउटा पाइला हो । चुनौती भएन भने अगाडि बढ्नै सकिँदैन । चुनौती आयो भनेर विकराल रूप लिने पनि होइन । यहाँ चुनौतीहरु धेरै छन् । यो भनेको जनप्रतिनिधिमूलक संस्था भएकाले यहाँ, राजनैतिक विषय जस्ता अन्य विषय पनि आउन सक्छन् । चुनौती आयो भनेर दबाउने होइन, कसरी यसलाई समाधान गर्ने र सरलीकृत तरीकाले अगाडि बढ्ने हो ।

प्रदेश र संघ सरकारसँग के–कस्तो समन्वय भइरहेको छ ?

संघ सरकारसँग केही सहकार्य भए पनि प्रदेशसँग त्यति समन्वय भएको मैले अहिलेसम्म पाएको छैन । तीन तहको सरकार छ । यो तीन तहको सरकार पनि आ–आफ्नै तरिकाले चलिरहेका छन् । त्यस कारणले पनि यो खालको समस्या आएको होला । अहिले पनि संघीयताको पूर्ण रूपले परिपालन नगरेर पनि यस्तो समस्या आएको होला ।

आगामी योजना के कस्ता छन् ?

हामीले हिजो जनतासामु बोलेका कुरा पुरा गर्नु नै हाम्रो पहिलो योजना हो । तत्कालै देखिएका जनताका समस्याहरू समाधान गर्ने योजना पनि छ ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नि ?

चुनाबी वाचा त लगभग पूरा गरिसकेका छौं । केही पूरा गर्न पनि बाँकी पनि छन् । पूरा गर्न बाँकी भएका कुराहरूको सम्भाव्यता अध्ययन भइसकेको छ । तर, सबै बोलेका कुरा पुरा गर्न सकिँदैन । हामीले सबै वडामा सडक कालोपत्रे गर्छौं भनेका थियौं तर, बजेटको अभावले त्यो सबै काम पूरा गर्न सकेका छैनौं । बलेका कुराहरू केही न केही मात्रमा पुरा भएका छन् ।