आधिकांश आईएसपीले तिरेनन् पोल भाडा, लाइन काट्ने तयारीमा प्राधिकरण

  २०७८ भदौ १६ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरी इन्टरनेट तथा केबल टिभीको लाईन लगेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारलाई रकम भुक्तानी नगरेको पाइएको छ ।

सम्झौता अनुसार रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै पोलको भाडा नतिर्ने टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तार तथा उकरणहरू हटाईने जनाएको हो ।

उक्त सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरहरूमा जडित अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी रहेको, केहि सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी समयमा नविकरण नगरेको तथा केही सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेका कारण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत प्राधिकरणको आम्दानीमा प्रत्यक्षमा असर पर्न गएको छ । अतः त्यस्ता सेवा प्रदायकहरूलाई नयाँ सेवा विस्तार गर्न रोक लगाउने तथा विद्युत प्राधिकरणको पोलमा जडान गरेको तार तथा उपकरणहरू हटाउने अभियान सुरु गर्न लागिएकोले यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई सोही अनुसार मनन् गरिदिनुहुन आम ग्राहक एवं उपभोक्ता महानुभावहरूमा हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ ।

गत वर्ष प्राधिकरणले इन्टरनेट तथा केबल टिभी व्यवसायीले प्रयाेग गरेको पोलको भाडा बृद्धि गरेको थियो । एकतर्फि रुपमा प्राधिकरणले आफूखुशी पोलको भाडा बढाएको भन्दै दूरसञ्चार सेवा प्रदायक कम्पनीले विरोध समेत गरेका थिए ।

विरोध गर्दै एनसेल बाहेकका अन्य सेवा प्रदायक कम्पनीले प्राधिकरणलाई दिनुपर्ने रकम समेत भुक्तानी गरेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.