नेपालका बाढी प्रभावितका लागि भारतले दियो ८ करोडको राहत सामग्री

  २०७८ भदौ ११ गते १७:३३     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो ।

भारतीय राजदूताबासकी मिशन उप-प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरुहरु हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै मिशन उप-प्रमुख नामग्या खम्पाले राहत वितरण गर्न पाउँदा खुशी लागेको बताए । नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौँदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गरे ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाका बाढी प्रभावितहरुका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिए ।

प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताए । उनीहरुले आफुहरु सम्बन्धित ठाउँमै पुगेर बास्तविक प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.