एक आइडियाबाटै स्टार्टअप गर्न करोडौं लगानी जुट्ने, महासंघले माग्याे आवेदन

  २०७८ भदौ १० गते १७:२७     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आवद्ध हुन चाहाने नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमकाे आवेदन दिने समय पुनः सुरू गरिएकाे छ । कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले बढीभन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता बढाउन महासंघले आवेदन दिने समय पुनः सुरु गरेकाे बताएकाे हाे ।

यसअघि कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो । कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा लगाएतका सबै क्षेत्रका उद्यमीहरुले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य रहने महासंघले जनाएकाे छ । महासंघको वेभसाइटको वेभपेजबाट यसकाे अनलाइन आवेदन फारम लिङ्क प्राप्त गर्न सकिने छ । स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।

टार्गेटमा ५० जना

समितले अहिले पहिलो चरणमा ५० जना नव उद्यमीहरुलाई छनोट गरेर उनीहरुलाई तालिम प्रदान गर्नेछ । त्यसका साथ साथै लगानीको वातावरण पनि सिर्जना गर्नेछ । नविनतम् आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायको व्यवसायिक सफलताका लागि समितिले काम गर्नेछ । यो प्रक्रियामा आवेदन दिनको लागि स्टार्टअप व्यवसाय गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनु पर्ने मापदण्ड महासंघले राखेको छ ।

कसरी हुने सहभागी ? 

समितिले गत बैशाखदेखि अनलाइन आवेदन खुलाएकाे थियाे । काेराेनाकाे कारण साे प्रक्रिया राेकिएकाे थियाे ।  स्टार्टअप व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुले त्यसमा दिइएका विषयहरु भेरेर अनलाइनमै फाराम सबमिट गर्नु पर्ने हुन्छ ।

आवेदन दिएकाहरुबाट छनोट भएकाहरुको अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तर्वार्तामा पनि छनोट भएकाहरुको नामावली निकालेपछि ३ महिनाको तालिम प्रदान गरिनेछ ।

लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका सफल व्यवसायी र विज्ञहरुबाट उनीहरुलाई तीन महिनाको मेन्टरसीप तालिम दिइनेछ । अन्तिममा उनीहरुलाई उनीहरुको आइडिया अनुसार लगानी जुटाइने छ र व्यवसायमा फर्काइने छ । महासंघले स्टार्टअप विजनेस गर्ने व्यक्तिहरुका लागि आवश्यक पर्ने लगानीकर्ता अगाडि नै छनोट गरिसकेको हुनेछ ।

के छ मापदण्ड ?

स्टार्टअप व्यवसाय तथा उद्यममा सहभागी हुन चाहनेले व्यवसाय शुरु गरेको १ वर्ष पुरा भएको हुनु पर्नेछ । त्यो व्यवसाय अरु व्यवसाय भन्दा फरक र प्रभावकारी अवधारणाको हुनु पर्नेछ । व्यवसायको सम्पूर्ण वित्तीय विवरण अडिट गरिसकेको हुनु पर्नेछ ।

स्टार्टअप व्यवसाय गर्ने व्यवासायीले त्यसबाट हुन सक्ने प्रभावकारिता, दिन सक्ने रोजगारी र त्यसको सम्भावनाका बारेमा खुलाएको हुनु पर्ने हुन्छ । आवश्यक पुँजी कुन कामका लागि चाहिएको हो ? व्यवसायलाई अझै कति सम्म पुर्याउन सकिन्छ ? लगायतका विषयमा स्टार्टअप गर्न चाहनेले प्रष्ट रुपमा राख्नु पर्ने हुन्छ ।

यी विविध विषयहरु अधययन गरेर मात्रै सो समति वा समितिले स्टार्टअप व्यवसायका लागि छुट्याएका व्यक्तिले छनोट गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.