सकियो चिनी, सरकारको बेवास्ताका कारण ठूला चाडपर्वमा अभाव

  २०७८ भदौ ९ गते ११:३६     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब एक वर्ष पुग्न लागेको छ । गत वर्षको दशैताका ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति मागेको कम्पनीलाई अर्थ मन्त्रालयको बेवास्ताका कारण अनुमति दिइएको छैन ।

बजारमा चिनीको अभाव हुनसक्ने भन्दै आयातको अनुमति माग गरेको लामो समयसम्म सरकारले चिनी खरिदकोे अनुमति नदिदा दशैमा चिनीको अभाव हुने सम्भावना देखिएको हो ।

कर्पाेरेशनले गरेको प्रस्तावका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाखमा अर्थ मन्त्रालयसँग चिनी खरिदको अनुमति माग गरेको थियो ।

स्वदेशी उत्पादनको अवस्थाको आधारमा थप चिनी खरिद गर्न साल्ट ट्रेनिङ कर्पाेरेशनलाई अनुमित दिने भन्दै तत्काल आयातको अनुमति नदिइएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् ।

‘यतिकै बिनाअध्ययन ५० प्रतिशत भन्सार छुटमा आयातको अनुमति दिने कुरा भएन । राजश्वको विषय भएकाले स्वदेशी चिनीको मौज्दातका आधारमा थप निर्णय हुन्छ । यो विषयमा सम्बन्धित महाशाखाले थप अध्ययन गर्दैछ । तत्काल आयातको अनुमति दिईएको छैन’, उनले भने ।

तत्काल अनुमति नपाए दशैँमा अभाव हुन्छः कर्पाेरेसन

तत्काल सरकार (अर्थ मन्त्रालय) बाट चिनी आयातको अनुमति नपाए दशैँमा चिनीको अभाव हुने साल्ट ट्रेनिङ कर्पाेरेशनले जनाएको छ ।

कर्पाेरेशनका सूचना अधिकारी कुमार राज भण्डारी तत्काल अनुमति नपाए दशैँमा चिनी आयातको सम्भावना कम रहेको बताउँछन् ।

‘अर्थबाट स्वीकृति आएपछि हामीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ । न्यूनतम ४५ दिनको अवधि राखेर सूचना प्रकाशन गरेर आवश्यक अन्य प्रक्रिया पूरा गरि खरिद गर्न समय कम छ’, उनले भने, ‘अहिलेको अवस्था अनुसार दशैंमा हामीसँग चिनी हुँदैन । लामो समयभयो आयातका अनुमति माग गरेको, हामीसँग स्टक सकिसकेको छ ।’

कर्पाेरेशनले अनुमति मागेको करिब एक वर्षसम्म थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी व्यापारिहरुले मूल्य बढाएका हुन् ।

कर्पाेरेशनले हाल प्रतिकिलो ७७ रुपैयाँ पचास पैसामा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो ९५ देखि एक सय रुपैयाँसम्म चिनी बिक्री वितरण गर्दै आएका छन् ।

निजी उद्योेगीको मनपरी

पछिल्लो समय देशमा उत्पादन हुने चिनीभन्दा माग धेरै हुँदा चिनीको मौज्दात सकिएको निजी क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

देशमा खपत हुनेभन्दा आधामात्र चिनी उत्पादन भएसगैँ चिनीको अभाव सिर्जना भएको एक चिनी उद्योगीले जानकारी दिए ।

‘नेपालमा वार्षिक रुपमा नेपालमा २ लाख ५० हजार मेट्रिक टनदेखि ३ लाख मेट्रिक टन चिनीको माग हुँने गरेको छ । करिब ३ लाख माग हुँदा यस वर्ष नेपालमा १ लाख मेट्रिक टन मात्र चिनी उत्पादन भएको छ’, उनले भने, ‘मागभन्दा न्यून मात्रामा चिनी उत्पादन हुनु र अन्य देशबाट आयात गरेर ल्याउँदा चिनीको मूल्य महङगो भएको हो ।’

उनका अनुसार सरकारी कम्पनीलाई ५० प्रतिशतभन्सार छुट दिँदा उनीहरुले सस्तो मूल्यमा चिनी बिक्री गर्ने गर्छन । निजी उद्योगीलाई भन्सार छुट छैन, अन्य देशबाट आयात गर्दा साल्ट ट्रडिङ र खाद्य कम्पनीभन्दा स्वभाविक रुपमा महङगो हुने ती उद्योगी बताउँछन् ।

निजी क्षेत्रका व्यवसायीहरुले सरकारी कम्पनीसँग चिनी सकिएसँगै उत्पादन कम भएको भन्दै मूल्य बढाउँदा उपभोक्ता मारमा परेका छन् ।

साल्ट ट्रेनिङसँग पर्याप्त मात्रामा चिनीको स्टक हुदा निजी क्षेत्रका व्यवसायीले कम्पनीबाट सस्तोमा चिनी लिएर महङगोमा बिक्री गर्ने गरेका थिए । साल्ट ट्रेनिङले स्कट चिनी कम भएसगैँ गत फागुनदेखि होलसेल व्यापारीलाई चिनी बिक्रीगर्न रोक लगाएको थियो ।

निषेधाज्ञा अघिसम्म होलसेल मूल्य ८१ रूपैयाँ प्रतिकिलो रहेकोमा हाल होलसेल मूल्य नै ८७ रूपैयाँ पर्ने गरेको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । उनका अनुसार अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि १०० रूपैयाँ छ ।

सम्बन्धित समाचार

सकियो चिनी, आयातमा अर्थको अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.