व्यास नगरपालिकाका ४९ विद्यालयले एक/एक लाख रुपैयाँ पाउने

  २०७८ भदौ ९ गते ११:०७     विकासन्युज

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् ।

‘उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौं, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई एक लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको छ’, श्रेष्ठले भने ।

नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो ।

‘सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन शुरु गराउन समितिमा सिफारिस गरिएको छ’, श्रेष्ठले भने । बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।

बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घरलगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.