बालबालिकालाई निमोनिया हुनबाट कसरी बचाउने ?

  २०७८ भदौ ३ गते ९:३८     विकासन्युज

विश्वको तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बालबालिकाको मृत्यको प्रमुख कारण हाे निमोनिया । हरेक वर्ष विश्वमा पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारणले मृत्यु हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत बालबालिका गरिब र विकासशील देशका हुने गरेका छन् । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै हो । तसर्थ यसबाट बालबालिकालाई याेबाट कसरी बचाउने थाहा पाउन अत्यन्त जरुरी छ ।

निमोनियाका थुप्रै कारणहरू हुन्छन् तर यसको मुख्य कारण भनेको सुक्ष्मजिवहरू नै हुन । उमेर अनुसार न्युमोनिया गराउने सुक्ष्मजीवहरू फरक हुन सक्छन् । विभिन्न सुक्ष्मजीवहरू मध्ये भाइरसमा रेस्पिरेटरी सिन्साईटीयल भाइरस, राहिनो भाइरस र इन्फ्लुन्जा भाइरस निमोनियाका प्रमुख कारण हुन भने ब्याक्टेरियामा स्ट्रेपटोकोकस न्यूमोनी, माईकोपलासमा निमोनिया, हेमोफिलस इन्फ्लुइञ्जि र स्टाफाईलोकोकस् औरीयसहरू प्रमुख कारण हुन ।

अशिक्षित र अज्ञान अभिभावक भएका बालबालिकाको अवस्था त अझै पनि हाम्रो देशमा दयनीय नै छ । तर प्राय धेरै अभिभावकलाई आफ्नाे बच्चालाई निमोनिया होला, यसलाई हुनबाट बचाउनु पर्छ र यसका लक्षण जस्तो लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य चौकी, अस्पताल वा आफ्नाे बालरोग विशेषज्ञलाई देखाउनु पर्छ भन्ने ज्ञान हुन्छ ।

ज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछिटाे सास फेर्नु, कोखा हान्नु, बच्चा सुस्त हुनु, बच्चा निलो हुनु, छाती दुख्नु जस्ता सबै निमोनियाका लक्षणहरू हुन । यस्ता लक्षण थोरै र धेरै देखिने बित्तिकै अस्पताल लगिहाल्नु पर्छ वा आफ्नु बालरोग विशेषज्ञलाई देखाई हाल्नु पर्छ भन्ने सबै अभिभावकलाई थाहा नै छ ।

तर सबैभन्दा महत्वपूर्ण भनेको निमोनिया हुने सम्भावना नै घटाउन के के गर्नु पर्दछ भनेर ज्ञान राख्न जरुरी हुन्छ ।

यो हुने सम्भावना कसरी घटाउन सकिन्छ

१) बालबालिकाको खोप

– नेपालको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप लाउन अत्यन्त जरुरी छ । बच्चा ६ हप्ता ,१० हप्ता र ९ महिनाको हुँदा लगाउने पिसिभि खोप , ६,१० र १४ हप्ता हुँदा लगाउने एच इन्फ्लुन्जी वि र परटुसिस खोप र ९ र १५ महिना हुँदा लाउने दादुरा रुबेला खोप ,यी सबैले निमोनिया हुने सम्भावना र भयो भने पनि मृत्यु हुने सम्भावना निकै नै कम गर्दछ।
– बच्चा ६ महिना पुरा भइसकेपछि इन्फ्लुन्जा को खोप एक एक वर्षमा लगाउन सकिन्छ र यसले पनि निमोनियाबाट धेरै नै बचाउन मद्दत गर्दछ ।यो नेपाल सरकारको खोप कार्यक्रम भित्र भने पर्दैन ।

२)अभिभावकको खोप
– बालबालिकाको खोप सँगसँगै अभिभावक वा उसको स्याहार सुसार गर्ने व्यक्तिहरुको खोप पनि जरूरी हुन्छ । अभिभावकले पनि इफ्लुन्जाकाे खोप वर्षौंनी लगाउन सकिन्छ ।

३) पर्याप्त पोषण
– बच्चा ६ महिना हुँदासम्म आमाको दुध मात्रै खुवाउनु पर्दछ। यसले रोगसँग लड्न सक्ने क्षमता बढाउँदछ र निमोनिया हुने सम्भावना धेरै नै कम गर्दछ ।
– ६ महिना पुरा भएपछि आमाको दुध सँगसँगै अरु थप पौष्टिक आहार पनि पर्याप्त मात्रामा ख्वाउनु पर्दछ ।
– कुपोषण र संक्रमणले भिषण चक्र बनाउँदछ । कुपोषण भए निमोनिया हुने सम्भावना धेरै हुन्छ तसर्थ कुपोषण भए उपचार तत्काल गरी सन्तुलित पौष्टिक आहारले बच्चाको पोषण राम्रो बनाउनु पर्दछ ।

४) सरसफाई
– बालबालिकाको सरसफाई अत्यन्त जरुरी हुन्छ र सँगसँगै अभिभावक र बच्चालाई स्याहार सुसार गर्ने व्यक्तिको सरसफाई पनि जरूरी हुन्छ ।
– घरको र वातावरणको सरसफाई पनि जरूरी हुन्छ
– भिडभाडबाट बालबालिकालाई सकेसम्म जोगाउनु पर्छ र बिरामी व्यक्तिबाट टाढै राख्नु पर्छ
– अरूको रुमाल वा बिरामी व्यक्तिको सामानहरु प्रयोग गर्नु र गराउनु हुन्न ।

५) बिरामी व्यक्तिहरुबाट बालबालिकालाई पनि र आफूलाई पनि जोगाउन पर्दछ

६) आफ्नाे बालरोग बिषेशज्ञ सँग सल्लाहा
– राष्ट्रिय तालिका बाहेकका खोपको विषयमा र अन्य कुनै पनि जिज्ञासाको लागि आफ्नाे बालरोग विशेषज्ञसँग सल्लाह लिनु पर्दछ ।
– समयसमयमा बालबालिका बिरामी हुँदा भरसक बालरोग विशेषज्ञलाई वा अस्पतालमा लगेर देखाउनु पर्दछ । मेडिकलबाट यत्तिकै औषधि किनेर खाने काम गर्नु हुँदैन । कहिलेकाही नचाहिने अनावश्यक औषधीले फाइदाभन्दा पनि बेफाइदा गर्दछ ।
– निमोनिया भयो कि भनेर निमोनियाको औषधि दिनुन मेडिकलमा मागेर आफै औषधि खाने बानी बन्द गर्नुपर्छ । डाक्टरसँग सल्लाह गरेर मात्रै औषधिहरु लिन जरुरी हुन्छ ।

संक्रमणबाट जोगाउन अपनाउनु पर्ने विधि अपनाउने, खोप लगाउने, सरसफाइमा ध्यान दिने र पोषणयुक्त खानेकुरामा ध्यान दिने र केही भएमा आफ्नु बालरोग विषेशज्ञसँग परामर्श लिने गर्दा निमोनिया हुने सम्भावना कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.