१८ महिनापछि खुल्यो रोजगारीका लागि दक्षिण कोरिया जाने बाटो

  २०७८ भदौ २ गते ११:३२     विकासन्युज

काठमाडौं । करिब १८ महिनादेखि रोकिएको दक्षिण कोरिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रिया पुन: सुरु भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतकाे इपिएस शाखाले बुधबार एक टेज्डर आह्वान गरेसगैँ प्रक्रिया पनु: सुरु भएको हो ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेसँगै नेपाली कामदार जाने बाटो खुलेको हो ।

नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना नलिँदा प्रक्रिया पूरा गरेका करिब ११ हजार बढी नेपालमा नै रोकिएका छन् ।

विभागका अनुसार पहिलोपटक जान खोजेका (नियमिततर्फ) ८ हजार र प्रतिवद्धतर्फ ३ हजार गरी झन्डै ११ हजार नेपाली कामदार कोरिया जानबाट वञ्चित भएका हुन ।

कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो । साही शर्त अनुसार इपिएस सरकारले कार्यविधि नै संशोधन गरी बुधबार काठमाडौंबाट सिधै सउलसम्मको हवाई टिकट खरिदका लागि टेन्डर आह्वान गरेको हो । ३१ दिनको अवधि राखेर शाखाले विद्युतीय बोलपत्रको आह्वान गरेको हो ।

यसअघि कार्यविधिमा सबैभन्दा कममा जसले लैजाने टेन्डर हाल्छ, श्रमिक लैजाने जिम्मा उसैलाई दिने गरिएको थियो । कोरिया जाने हवाईभाडालगायत सम्पूर्ण खर्च श्रमिक स्वंयम्ले बेहोर्नुपर्छ ।

तीन गुणासम्म हवाई भाडा महगो

अन्य समयको तुलनामा कोरोना महामारीपछि दक्षिण कोरिया जाने नेपाली श्रमिकको खर्च झन्डै तेब्बरसम्म हुने भएको छ ।

सामान्य अवस्थामा कोरिया जाने कामदारको लागत खर्च ८ सय १६ डलर (करिब ९० हजार रुपैयाँ) लाग्ने गरेको थियो । कोभिडपछि तोकिएको वायुसेवा कम्पनीमार्फत कोरिया जाँदा र १४ दिनको होटल क्वारेन्टाइन खर्च सम्बन्धीत व्यक्तिले व्यहोर्दा खर्च बढ्ने अनुमान गरिएको हो । सामान्यतः कोरियाको थ्रीस्टार होटलको प्रतिदिन खर्च ६५ डलरसम्म रहेको छ ।

यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्छ, सोहीबाट ट्रान्जिट उडान हुँदै कोरिया जाने गरेका थिए । तर कोभिडका कारण कोरिया सरकारले सीधै उडान मार्फत मात्र कोरिया प्रवेशको अनुमति दिँदा नेपाली श्रमिकमाथि आर्थिक भार थपिएको हो ।

नेपाल र कोरियाबीच समझदारी भएपछि इपीएसमार्फत २००८ देखि कोरियाले अदक्ष कामदारका रूपमा नेपालीलाई लैजान थालेको हो । विभागको तथ्यांक अनुसार हाल कोरियामा झन्डै ३१ हजार बढी नेपाली कामदार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.