जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

  २०७८ साउन २६ गते १२:५७     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ ।

यससँगै आज मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ माथि पुगेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता १८५८ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । यससँगै नियमित बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २००४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात १८२.२० रुपैयाँ बढी हो ।

त्यस्तै, उक्त रकम कम्पनीको पहिलो कारोबारको तुलनामा ११९.३२ प्रतिशतले बढी हो । दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो ।

कम्पनीले गत साउन १४ गतेदेखि दोश्रो बजारमा कारोबारमा शुरु गरेको हो । कारोबार शुरु गरेको दुई साता नबित्दै संस्थाको सेयरको भाउ दुई हजार माथि पुगिसकेको छ ।

सोमबारसम्मको संस्थाको चार्ट

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर किन्नेको उच्च चाप देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । दिउँसो साढे १२ बजेसम्मको अवधिमा कम्पनीको ४ लाख १३ हजार ३९२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । तर, बिक्रीकर्ता कोही पनि छैनन् ।

सोमबारको कम्पनीको बजार पुँजीकरण ११ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । जुन मंगलबारको बजारमा बढेर १२ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ ।

नेप्सेमा संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत अर्थात ४१ लाख ६ हजार ७०० कित्ता सेयर संस्थापकको स्वामित्व हो भने बाँकी ३२.५० प्रतिशत अर्थात १९ लाख ७७ हजार ३०० कित्ता सेयर सर्वसाधारणको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.