नयाँ उद्यम व्यवसायलाई १ प्रतिशत व्याजमा सरकारले ऋण दिने, कार्यविधि अन्तिम चरणमा

  २०७८ साउन २६ गते ११:२१     विकासन्युज

काठमाडौं । नयाँ सोचसहितको व्यवसायिक योजना भएकाहरुलाई सरकारले १ प्रतिशत व्याजमा ऋण दिने भएको छ । नयाँ सोचसहितको व्यवसायिक योजना भएपनि पुँजी अभावका कारण त्यस्तो परियोजना संचालन गर्न नसकिरहेकाहरुलाई सहयोग गर्न सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

परियोजना धितोमा नै कर्जा दिइने भएकोले सरकारले दिने यस्तो कर्जा लिनको लागि धितो पनि राख्नुपर्ने छैन । नयाँ सोच सहितको व्यवसाय संचालन गर्न चाहने युवालाई लक्षित गरेर १ प्रतिशत व्याजमा ऋण दिने कार्यक्रम ल्याउन लागिएको हो ।

नवप्रवद्र्धनहरुलाई व्यवसायिक योजनाको आधारमा १ प्रतिशत व्याजमा ऋण दिने सम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

‘कार्यविधि अन्तिम चरणमा पुगेको छ, स्वीकृत भएपछि कार्यान्वयनमा लगिन्छ, यो कार्यविधि कार्यान्वयनमा आएपछि नयाँ सोचसहितको व्यवसायिक योजना भएकाहरुले १ प्रतिशत व्याजमा ऋण पाउँछन्,’ प्रवक्ता आचार्यले विकासन्युजसँग भने ।

सरकारले १ अर्ब रुपैयाँ बराबरको कोष बनाएको छ । सो कोषबाट नै कर्जा उपलब्ध गराउन खोजिएको हो । कार्यविधिमा एउटै व्यवसायिक योजनालाई कति रकम उपलब्ध गराउने र कति समयको लागि दिइने भन्ने बारेमा प्रवक्ता आचार्यले केही खुलाउन चाहेनन् । कार्यविधि सार्वजनिक भएपछि सबै विषय स्पष्ट हुने उनको भनाई छ ।

७ वर्षदेखिको प्रयास

२०७१ सालको बजेटमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले च्यालेन्ज फण्ड स्थापना गरी नवप्रद्र्धकलाई सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए । डा. महतले ल्याएको कार्यक्रममा च्यालेन्ज फण्डबाट शतप्रतिशत अनुदान दिने व्यवस्था थियो ।

तर, अर्थमन्त्रीबाट डा. महत बाहिरिएसँगै सो कार्यक्रम कार्यान्वयन हुन सकेन । २०७४ मा डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि सो कार्यक्रम अघि बढेको थियो । डा. खतिवडाको पालामा कार्यविधि बनेको थियो भने शतप्रतिशत अनुदान पाउने व्यवस्था हटाएर ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण पाइने व्यवस्था गरिएको थियो । डा. खतिवडाले ५० करोड रुपैयाँ बजेट कोषका लागि छुट्टयाएका थिए ।

पोहोर आवेदन दिनेहरु हिस्सै

सरकारले गत वर्ष स्टार्टअपलाई ५० लाख रुपैयाँसम्म अनुदान दिने भन्दै २०७७ वैशाख २९ गते सार्वजनिक सुचना प्रकाशित गरेको थियो । आवेदन दिनको लागि ३० दिनको समय प्रदान गरिएको थियो ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को त्रासको कारण त्यतिबेला नेपालमा देशव्यापी लकडाउन जारी गरिएको थियो । कोभिडलाई कारण देखाएर आवेदन दिने समय २०७७ असोजसम्म बढाइयो । तर, यसरी समय बढाउँदा ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण दिने व्यवस्था गरियो । र, ऋणको व्याज २ प्रतिशत कायम गरियो भने ४ वर्षभित्रमा ऋण तिरिसक्नुपर्ने शर्त राखियो । यसरी रकम प्रदान गर्ने कार्यको नेतृत्व राष्ट्रिय योजना आयोगले गरेको थियो ।

ऋण दिनको लागि कार्यविधि नबनेका कारण आयोगले तोकेको समय फेरि थपेर २०७७ कात्तिकसम्म पुर्याइएको थियो । सो समयसम्ममा ६९९ जनाले आवेदन दिएका थिए ।

तर, यसको कार्यविधि नबन्दा सरकारले स्टार्टअपलाई रकम प्रदान गर्न सकेको छैन । कार्यविधिको मस्यौदा गत वर्ष नै मन्त्रिपरिषदमा पेश भएपनि अहिलेसम्म पारित भएको छैन । सो कार्यविधिमा समयानुकल परिमार्जन गरेर चाढै स्वीकृत हुने चरणमा रहेको अर्थमन्त्रालयका प्रवक्ता आचार्य बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ उद्योग शुरु गर्ने व्यक्ति वा संस्थालाई सरकारले ५० लाख अनुदान दिने, लिनको लागि के गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.