अछाममा रिचार्ज पोखरी अभियान सुरु हुँदै

  २०७८ साउन २५ गते १३:३७     विकासन्युज


काठमाडौं । अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ । गाउँपालिकाले यहि साउन २९ गते सो अभियान सुरु गर्न लागेको होे ।

“३६४ दिन आफ्नो कामको लागि उठाैँ, एक दिन वातावरण संरक्षणका लागि जुटौं’’ भन्ने नाराका साथ गाउँपालिकाले रिचार्ज पोखरी २०७८ वर्ष मनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हर्कवहादुर साउदले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले तीन वर्ष अघिदेखि सुरुवात गरेको सो अभियान अन्तरगत हालसम्म सबै वडामा साना ठुला रिचार्ज पोखरी निर्माण गरिसकिएकोे छ ।

गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उक्त अभियान सुरु हुन सकेको थिएन । गाउँपालिकाका सात वटै वडामा एकैसाथ एकै दिन उक्त अभियान सुरु गर्न लागिएको हो ।

के हो रिचार्ज पोखरी अभियान ?

बर्षभरी आफ्नो व्यक्तिगत काम गरे पनि एक दिन वातावरण संरक्षणका लागि काम गरेर प्राकृतिक सम्पदा जल, जङ्गल, जमिन, जङ्गली जनावर वस्तुभाव र चराचुरीको संरक्षण हुने हुँदा गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गर्ने लागेको हो ।

पानीको मुहानमाथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाँडामा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जङ्गली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिक आईरहेका जङ्गली जनावर, पशुपंक्षीको आहार जंगलमै भेटिने भएकोले पनि खेतीपातीको संरक्षणमा समेत टेवा पुग्ने भन्दै रिचार्ज पोखरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनााएको छ ।