२०७८ साउन २४ गते १९:०३ विकासन्युज
मानेभञ्ज्याङ गाउँपालिका प्रदेश १ अन्तर्गतको ओखलढुंगा जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ ।
मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएको छ । जनताको नजिक रहने सङ्घीय व्यवस्थाको मर्म अनुरूपका प्रदेश र स्थानीय तह छन् । अझ जनताको सुखःदुखसँग प्रत्यक्ष सम्बोधन गर्ने स्थानीय तहका ७ सय ५३ सरकार गठन भई करिब ४ वर्षदेखि सक्रिय छन् । जनआकांक्षा पुरा गर्न जनप्रतिनिधिले प्रयास गर्दागर्दै पनि परिणाम अपेक्षित रूपमा प्राप्त हुन सकिरहेको छैन । यस परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहेनत गर्नु पर्ने आवश्यकता देखिन्छ ।
यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना, बजेट, पालिकाको पूर्वाधार र सामाजिक विकासको अवस्था लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मोतीराज राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।
गाउँपालिकाको अध्यक्ष भएर आएपछि के–कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?
पालिकामा पहिलाको तुलनामा हाल परिवर्तन आएको छ । हामी निर्वाचित भएर आएपछि पालिकामा धेरै विकास निर्माणको काम गरे जस्तो लाग्छ । विकास निर्माणको काम गरेर सकिँदो पनि रहेनछ । पालिकाको स्रोत र साधनले भ्याए जति विकास निर्माणको काम गरेका नै छौं । हामीले पालिकामा सडक निर्माणको कामलाई पनि तिव्रता दिएका छौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याएका छौं ।
हामीले भौतिक पूर्वाधार, सामाजिक विकास आदि सबै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढेका छौं । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ भने यता सामाजिक विकासतर्फ जनचेतनामूलक कामहरू, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ ।
पालिकामा विद्युतिकरणको काम लाइपनि तीव्रता दिएका छौं । पालिकाको ९ ओटा वडामध्ये ६ ओटा वडामा विद्युत पुर्याएका छौं । सायद हाम्रो कार्यकालमा ६ ओटा वडामा बत्ती बालेर, बाँकी ३ ओटा वडामा पनि विद्युतकोसुविधा पुर्याउने लक्षय राखेका छौं ।
हाम्रो पालिका अलिक सुख्खा क्षेत्र पनि पर्छ भने पालिकामा खानेपानीको पनि धेरै समस्या छ । पालिकामा पानीको स्रोत नभएको कारण खानेपानीको समस्या भएको हो । एक गाग्री पानी लिन घण्टौं हिँड्नु पर्ने बाध्यताबाट यहाँका नागरिकहरु पीडित थिए । हामीले पालिकामा ४ ठाउँबाट सोलर लिफटीङ गरेर जनतालाई खानेपानी दिएका छौं । पालिकामा कुनै लिफटीङ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा पनि छ । लिफटीङ खानेपानीका २ ओटा आयोजना ठेक्का प्रक्रियाबाट अगाडि बढाएका छौं । एउटा ८ र अर्को १२ करोड रुपैयाँ बराबरको बजेटमा लिफटीङ खानेपानी आयोजनाको ठेक्का पनि आव्हान गरेका छौं । खोलामा रहेको खानेपानी मुहानमा ड्याम बनाएर ट्याङीकमा पानी जम्मा गरेर त्यहाँबाट चार स्टेशनको लिफ्टबाट खानेपानी स्थानीयलाई वितरण गरिने छ । पहिलो लिफटीङबाट उपभोक्ताहरुलाई पानी वितरण गरेका छौं भने दोस्रो र तेस्रो लिफटीङबाट भने उपभोक्ताहरुलाई पानी वितरण हुने र यसका लागि छुट्टै ट्याङकी समेत निर्माण गर्ने योजना छ ।
तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कति पुरा गर्नुभयो अनि कति बाँकी छन् ?
हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । हामीले घोषणपत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । हामी निर्वाचित भएर आउँदा पालिकाको अवस्था जीर्ण र बस्तीहरू अत्यन्तै दुर्गम थियो । सडक सबै ठाउँमा पुगेको थिएन । विद्युत् पुगेको थिएन । पिउने पानी थिएन । तर, हाल अवस्था बदलिएको छ । गाउँसभाबाटै हामीले उक्त ठाउँको विकासकालागि योजना बनाएर काम गरेका छौं भने अहिले पालिकामा धेरै कुराको परिवर्तन आएको छ । पालिकामा अझै पनि विकास निर्माणको काम धेरै गर्नुपर्ने छ । मलाई के लाग्छ भने हामीले गरेको कामबाट म असाध्यै सन्तुष्ट छु । राम्रो र सुनौलो यो पाँच वर्षको कार्यकाल काम भएको छ ।
गाउँपालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के छ ?
गाउँपालिकावासीको जीवनस्तर उकास्ने सन्दर्भमा सर्वप्रथम कृषि क्षेत्रलाई नै प्राथमिकता दिएका छौं । तर, सिचाईको अभावको कारण कृषि क्षेत्रमा पनि राम्रो काम गर्न सकेका छैनौं । पालिकामा ३ करोड रुपैयाँ बराबरको लागतमा सिचाईको काम पनि भएको छ । तर, यो पर्याप्त चाहिँ हुँदो रहेनछ । पालिकामा धेरै ठुलो उद्योग नभएको कारण रोजगारी क्षेत्र तर्फ पनि राम्रो काम गर्न सकेका छैनौं । कृषकहरूको लागत साझेदारीमा पशुपालन तथा कृषक समूह पनि गठन भएको छ । व्यवसायी बनेर आर्थिक समृद्धि गर्छु भन्नेलाई गाउँपालिकाले कृषि, पशुपालनलगायतको पकेट क्षेत्र बनाएर अनुदान दिँदै आएको छ । पालिकावासीलाई व्यवसायी बन्न प्रोत्साहित गरेका छौं । यहाँका युवा कृषिमा जोडिएको देख्दा पालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना कृषि नै मुख्य हुन सक्छ भन्ने हाम्रो ठम्याइ छ ।
तपाईंले कस्तो पालिकाको परिकल्पना गर्नुभएको हो ?
जिउने परिकल्पना नै सबै भन्दा ठुलो कुरा हो । अझ पनि पालिकामा विकास निर्माणका कामहरु हुने क्रममै छन् । विकासलाई दिगो र भरपर्दो बनाउन दिगो भू–उपयोग योजना बनाई एक एक टुक्रा जमिनको उच्चतम उपयोग गर्ने, मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगारी सिर्जना गर्ने र जीवनको गुणस्तर बढाउने भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूको पनि समयमै निर्माण गर्ने परिकल्पना छ । तर, आर्थिक अभाव र भौगोलिक विकटताको कारण नै धेरै काम गर्न सकेको अवस्था छैन । स्थानीय तहमा कर्मचारीको आशा गरेर गाउँघरको सेवालाई गुणस्तरीय, नतिजामुखी र नियमित बनाउन गाह्रो पर्ने अनुभव गरियो । यस्तो अवस्थामा दीर्घकाल रूपमा स्थानीय जनशक्तिको निरन्तर आपूर्ति गर्ने योजना बनाउनु जरुरी पनि देखिन्छ । गरिबी हटाउन रोजगारी सिर्जनालाई योजनाको केन्द्रीय उद्देश्य छ । पालिकाका नगरिकहरु जीवन स्तर नाजुक नै छ तर, खान नपाए भोक भोकै बस्नु पर्ने स्थिति चाहिँ छैन । नागरिकको अवस्था मजबुत हुँदै गएपछि बसाइँसराइँ जाने प्रवृत्ती पनि बढ्दो छ ।
कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट हाम्रो पालिकापनि अछुतो रहन सकेन भने यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौं । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टीन, आइसोलेसन व्यवस्थापन देखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रमहरू गर्यौं । तर, पालिकामा स्रोत साधन र दक्ष जनशक्ति अभावका कारण धेरै चुनैतीर समस्याहरू आए । पालिकामा संक्रमणबढ्दै गयो भने ज्वरो नाप्ने देखि अन्य विकल्प छैन ।
पालिकामा कोभिडका लक्षण देखिएका बिरामीलाई एन्टिजेन परीक्षण गर्दै आएको छौं । जिल्ला भरिनै पीसीआर परीक्षण गर्ने ल्याब छैन । स्वाव सङ्कलन गरी परीक्षण गर्नको लागि हामीले काठमाडौं वा विराटनगरसम्म पुर्याउने व्यवस्था मिलाएका छौं । हामीले विकास बजेट कटाएर पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्यौं । पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा पालिकामा हालसम्म ३ सय जनामा संक्रमित पुष्टि भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दा गर्दै पनि पालिकाबाट २ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरू सहितको पर्चा छपाई आम जनताहरुलाई वितरण तथा माइकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्यौ । महामारीको नियन्त्रण गर्नको लागि हाम्रा सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, राजनैतिक पार्टीका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू खटिनु भएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष ७८÷७९ को लागि बजेट विनियोजन गर्दा कुन पक्षलाई केन्द्रित बनाएको छ ?
हामीले असार १० गते नवौं गाउँसभामा आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढङ्गले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं ।
कृषकहरूलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने आर्थिक विकासतर्फ पशुपालनका कामहरूलाई हामीले अगाडि राखेका छौं । सामाजिक विकास तर्फ युवा, बालबालिका, दलित, जनजाति, सीमान्तकृत, अपाङ्गता लगायतका क्षेत्रलाई समेत सम्बोधन हुने गरी विकासका योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौ । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ ।
अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
पालिकाका वासिन्दाहरुलाई के अनुरोध गर्न चाहन्छु भने अहिलेसम्म गाउँपालिकाले गरेको कामलाई पालिकावासिहरुले पनि बुझिसक्नु भएको छ । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहिँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमूलक नै छ भन्ने मलाई लाग्छ । पालिकामा विकास निर्माणको काम गर्न त अझै पनि बाँकी नै छ । भौगोलिक रूपमा दुर्गम भएता पनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जङ्गल, चरण क्षेत्र, यिनै सम्भाव्यताको व्यवसायिकीकरण गर्दै समृद्ध पालिका बनाउनु पर्छ पनि भन्न चाहन्छु ।
नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । अनि अहिलेका चुनौतीको रूपमा खाँडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्डको पुरा गरौं भन्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.