वितरणयोग्य नाफा ७६ प्रतिशतले बढायौं, लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन्ः सिइओ पोखरेल

  २०७८ साउन २४ गते ११:२१     विकासन्युज

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ । प्रत्येक त्रैमासमा प्रायः सबैभन्दा पहिला नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको सिटिजन्स बैंकले यसपाली पनि आफ्नो विगतको नजिर उल्लघंन गरेन । अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले गत असार मसान्तसम्ममा करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो ।

बैंकले प्रतिसेयर आम्दानी करिब ११ प्रतिशत, खुद व्याज आम्दानी करिब २५ प्रतिशत, फि एण्ड कमिसन आम्दानी करिब ४१ प्रतिशत, गैरव्याज आम्दानी करिब ३५ प्रतिशत, संचालन नाफा करिब ३५ प्रतिशत, वितरणयोग्य नाफा करिब ७६ प्रतिशत र खुद नाफा करिब ३३ प्रतिशतले बढाएको छ ।

सिटिजन्सले एग्रेसिभ ग्रोथलाई भन्दा पनि क्वालिटी ग्रोथलाई बढी ध्यान दिएको छ । संचालनमा आएदेखि अधिकांश वर्षहरुमा सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिइरहेको बैंकले आगामी दिनहरुमा पनि दोहोरो अंकमै प्रतिफल दिने लक्ष्यका साथ काम गरिरहेको छ । यही पृष्ठभूमिमा बैंकको अहिलेको अवस्था, आगामी योजना तथा कार्यक्रहरु तथा सिटिजन्स बैंक इन्टरनेसनलको अहिलेको समीक्षा जस्ता विषयमा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलसँग कुराकानी गरेका छन्ः

विभिन्न बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैंकको स्ट्रेन्थ कस्तो रहेको छ ?

बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैंकको स्ट्रेन्थ भनेको विस्तारित शाखा संजाल, ठूलो चुक्ता पूँजी, ग्राहक संख्या तथा व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधन नै हो ।

एक वर्षको अन्तरालमा यस बैंकले तीनवटा वित्तीय संस्थाहरु प्राप्ति गरिसकेको छ । यस बैंकले २०७७ साल असार २० गते नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक (जनकपुर केन्द्रीय कार्यालय रहेको), २०७७ चैत्र १४ गते राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक र २०७८ असार २६ गते नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ ।

यीभन्दा अघि पनि बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म कुल ६ वटा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरी बैंक सप्तरंगी भइसकेको छ ।

सर्वप्रथम प्राप्तिपछि बैंकको शाखा संजालमा आमुल परिवर्तन आएको छ । सहयोगी विकास बैंक प्राप्तिअघि यस बैंकको धनुषा, महोत्तरीमा ४ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त क्षेत्रमा हाल बैंकले १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति पश्चात यस बैंकको वागमती प्रदेशमा ५ वटा, गण्डकी प्रदेशमा ५ वटा तथा लुम्बिनी प्रदेशमा ४८ वटा गरी कुल ५८ वटा शाखाहरु थपिएका छन् । यसैगरी, सिर्जना फाइनान्स प्राप्ति पश्चात प्रदेश नं १ मा १४ वटा र प्रदेश नं २ मा ७ वटा गरी कुल २१ वटा शाखाहरु थपिएका छन् । हाल यस बैंकले प्रदेश नं १ मा २७, प्रदेश नं २ मा २७, वागमती प्रदेश मा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ वटा शाखा गरी कुल १८४ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

अर्को स्ट्रेन्थ यस बैंकको चुक्ता पूँजी हो । यस एक वर्षको अन्तरालमा चुक्ता पूँजी करिव ४६ प्रतिशतले बढेको छ । यी ३ वटै संस्थाहरु प्राप्तिअघि यस बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी ग्राहक संख्यामा पनि ठुलो उछाल आएको छ । एक वर्षको अन्तरालमा ग्राहक संख्या करिव १०० प्रतिशतले बढेको छ । प्राप्तिअघि यस बैंकले करिव ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएकोमा हाल करिव १२ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्को महत्वपूर्ण पाटो भनेको मानव संसाधन हो । हामीले यस प्राप्तिहरुबाट व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधन भित्राउने मौका पाएका छौं । र, यसलाई मैले बैंकको अवयवको रूपमा हेर्दै आएको छु । कुनै पनि संस्थाको सफलता वा असफलता त्यस संस्थामा काम गर्ने व्यक्तिमाथि नै भर पर्छ जस्तो मलाई लाग्दछ । यस बैंकले सहयोगी विकास बैंकबाट ८४ जना, तिनाउ मिसन डेभलपमेण्ट बैंकबाट ४५४ जना र सिर्जना फाइनान्सबाट १४४ जना गरी कुल ६८२ जना दक्ष मानव संसाधन पाएका छौँ, जुन सबैभन्दा ठूलो स्ट्रेन्थ हो ।

यसप्रकार प्राप्तिबाट वित्तीय संस्थाहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत सहयोग पुगेको छ भने देशमा व्यवसायिक क्रियाकलाप एवं समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने म ठान्दछु । साथै बैंकको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय परिसूचक, मानव–संशाधन तथा प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुनाको साथै देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्नेमा म विस्वस्त छु ।

बैंकको स्थापनाकालको अवस्था र हालको अवस्थालाई तुलनात्मक रुपमा कसरी हेर्नु भएको छ ?

सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता र इमान्दारीता, मिजासिला र उत्कृष्ट जनशक्ति, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित देशको २० औं वाणिज्य बैंकको रुपमा २०६४ बैशाख ७ गते सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड स्थापित भएको हो ।

५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको यस सिटिजन्स बैंक इन्टरनेशनलले झण्डै १५ वर्षे यात्रा अवधिमा चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । स्थापना भएको करिब डेढ वर्षमा ३० करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गरेर बैंकले चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याएको थियो । बैंकले साधारण शेयर निष्काशनपछि हालसम्म लगानीकर्तालाई २ आर्थिक वर्षमा बाहेक हरेक आर्थिक वर्षमा दोहोरो अंकको प्रतिफल दिँदै आएको छ ।

स्थापना वर्ष २०६३/६४ मा बैंकले कुल ८८ दिन कारोवार संचालन गरेको थियो । उक्त अवधिमा ११४४ ग्राहकबाट कुल १ अर्ब ५५ करोड ३१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी २५३ ग्राहकहरुलाई २ अर्ब ४ करोड ६७ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकले ५२ लाख ११ हजार रुपैयाँ संचालन नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७७\७८ मा १२ लाख ३ हजार १९१ ग्राहक बाट करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५८ हजार ८५४ ग्राहकहरुलाई करिव १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले करिब २ अर्ब १५ करोड रुपैयाँ संचालन नाफा गरेको छ भने खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ छ ।

स्थापनाको पहिलो वर्ष बैंकले ५ वटा शाखाबाट सेवा प्रदान गर्दै आएकोमा आजको दिनमा बैंकले देशैभरि फैलिएका १८४ शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

सर्वोत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य लिएको बैंकले स्थापना हुँदा ४४ जना कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरेकोमा हाल बैंकले १ हजार ६६२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि देखिएको छ । आजभन्दा १० वर्ष अघि १९ करोड ८० लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर एक अर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ । सिटिजन्स बैंक उत्कृट १० वाणिज्य बैंकभित्र पर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यसबाट बैंकका लगानीकर्तालाई बितरण गरिने प्रतिफलको दरमा आकर्षक सुधार गरी आगामी वर्षहरुमा पनि दोहोरो अंक कायम गरिरहने योजना छ ।

हाल बैंकको वित्तीय अवस्थाका बारेमा केही बताइदिनुस् न ?

असार मसान्तसम्मको तथ्यांकको आधारमा यस बैंकले सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४३ अर्ब रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो ।

यस र्आिर्थक वर्षमा सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी भने १५.३८, खुद व्याज आम्दानी करिब ३ अर्ब ६० करोड, फि एण्ड कमिसन आम्दानी करिव ८२ करोड, गैरव्याज आम्दानी करिब १ अर्व ५२ करोड, संचालन नाफा करिब २ अर्ब १५ करोड, वितरणयोग्य नाफा करिब १ अर्ब ८० करोड, खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा क्रमशः करिब ११ प्रतिशत, २५ प्रतिशत, ४१ प्रतिशत, ३५ प्रतिशत, ३५ प्रतिशत, ७६ प्रतिशत र ३३ प्रतिशतले बढी हो ।

बैंकले हाल देशभर १८४ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हरेक वर्ष सिटिजन्स बैंकले वित्तीय प्रतिवेदन सबैभन्दा पहिला प्रकाशित गर्दै आएको छ । हालको विषम अवस्थामा पनि यस बैंकले सबैभन्दा पहिला वित्तीय प्रतिवेदन प्रकाशित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन र नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात् उक्त वित्तीय प्रतिवेदन फाईनल हुनेछ । त्यस लगत्तै वार्षिक साधारणसभा गर्ने योजना रहेको छ ।

बैंकको सफलतामा तपाईंको भूमिकालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

मैले मेरो सफलताको श्रेय यस बैंकको विभिन्न युनिटमा कार्य सम्पादन गर्दै आउनु भएका कर्मचारीहरुलाइ दिन्छु । आज उहाँहरु हुनुहुन्छ र म यहाँ छु । यस बैंकको कर्मचारी छनौटको विधि अति नै वैज्ञानिक रहेको छ । हाम्रो प्रगतिको आधारशिला भनेको नै दक्ष, राम्रा कर्मचारी हुन् । त्यसैले म सदैब हाम्राभन्दा राम्रा कर्मचारीले नै बैंकको विकाश हुने कुरामा विश्वास राख्दछु । बैंक भन्ने एक दिगो संस्था हो, जुन अनन्तकालसम्म चल्छ । दिगोपनको लागि राम्रा कर्मचारी नै अवयव हुन् जस्तो मलाई लाग्दछ । मैले सदैव काम गर्दा ‘बटम अप एप्रोच’को अवाधारणा अवलम्बन गर्दै आएको छु । म सदैब सिस्टमले काम गर्नुपर्छ भन्ने सोचको मानिस हुँ । र, त्यसका निम्ति मैले मेरा मातहतका विभागहरुलाई सबल बनाउन यथासम्भव प्रयत्न गर्दै आएको छु । यस संस्थामा काम गर्नु हुने सबैजना एकदमै प्रोफेसनल हुनुहुन्छ । र, आज यहाँसम्म ल्याउन उहाँहरुको योगदान एकदमै महत्वपूर्ण रहेको छ । मैले सधै भन्दै आएको छु– मैले नेतृत्व गर्दै आएको संस्थामा ‘एबीसी’ भन्ने भाईरस चल्दैन । म स्वयम् नै एउटा बलियो एन्टिभाइरसको रूपमा लागिपरिरहेको छु । यस संस्थामा आफ्नो मान्छे, भनसुन र चाकरी चाप्लुसीको कुनै औचित्य छैन । म कर्मचारीको मनोबल उकासेर उहाँहरुबाट अपेक्षित प्रतिफल निकाल्न प्रयासरत छु ।

म अहिले पनि तीन शिपÞm्टमा काम गर्छु । बिहान उठ्ने बित्तिकै मेरो कम्प्युटर खुल्छ र बैंकको काम थाल्छु । मैले घरबाट नै विभिन्न रिपोर्टहरु बनाएर सम्बन्धित सबैलाई पठाउने गरेको छु । मैले स्वीकृत गर्नु पर्ने फाइलहरु समेत मैले घरबाट नै स्वीकृत गर्ने प्रबन्ध मिलाएको छु । त्यसपछि म करिब साँझसम्म कार्यालय मै हुन्छु, त्यो मेरो दोश्रो शिफ्ट हो । त्यसपछि घर आउने वितिकै मेरो तेस्रो शिफ्टको काम सुरु हुन्छ । यसरी मैले वर्षको ३६५ दिन नै बैंकको प्रगति र उन्नतिको लागि समर्पित भई काम गरिरहेको छु ।

म यस बैंकको स्थापना काललदेखि नै आबद्ध छु । र, यस क्रममा २०६५ सालदेखि नैे म दोस्रो वरियतामा रही बैंकमा विभिन्न कार्यसम्पादन गर्दै आएको थिएँ । मेरो यही अनुभवलाई मध्यनजर राखेर मलाई संचालक समितिले २०७५ साल चैत्रको १८ गते प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो । मैले कार्यभार सम्हाल्दा बैंकसँग करिव ६७ अर्बको निक्षेप संकलन थियो, जुन आजको दिनमा करिब १ खर्ब ४३ अर्ब रहेको छ । यसैगरी करिब ६२ अर्बको कर्जा प्रवाह भएकोमा आज त्यो कर्जा प्रवाह करिब १ खर्ब २३ अर्ब रहेको छ । चुक्ता पुँजीको कुरा गर्ने हो भने करिव ८ अर्ब ३७ करोडको चुक्ता पुँजी आज १२ अर्ब ५८ करोड पुगेको छ । यस अन्तरालमा हामी शाखा संजालको विस्तारमा समेत आक्रामक भएर लागि परेका छौं । मैले कार्यभार सम्हाल्दा हामीले ८१ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रवाह गर्दै आएका थियौं । आज हामीले सातवटै प्रदेशमा छरिएर रहेका १८४ वटा शाखाबाट गुणस्तरीय बैंकिंग सेवा सुविधा आम नेपाली जन समक्ष पस्किरहेका छौं । यस अन्तरालमा हामीले खुद नाफामा पनि ठूलो छलांग मारेका छौं । करिब १ अर्बको हाराहारीमा रहदै आएको नाफा आज करिब १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यसैगरी करिब ४ लाखको हाराहारीमा जोडिनु भएको ग्राहक संख्या बढेर आज करिब १२ लाख भएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै हामीले घरबाट नै प्रयोग गर्न मिल्ने बैंकिंग सेवा सुविधाको व्यापक विस्तार गरेका छौं । आजको दिनमा हामीसँग करिब ४ लाख ५७ हजार मोबाइल बैंकिंग प्रयोगकर्ता हुनुहुन्छ भने करिव २ लाखको हाराहारीमा कार्डको प्रयोगकर्ता हुनुहुन्छ । यसरी हेर्ने हो भने सबै सूचकहरु सकारात्मक नै देखिन्छन् ।

यसैगरी २०७५साल माघ २० गतेबाट बैंकको कोर बैंकिङ सफ्टवयर फिनाकल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरिएको थियो । नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पु¥याँउने अभिप्रायका साथ बैंकले त्यस बखत प्रयोग गर्दै आएको पुमरी फोर प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाकल कोर बैंकिङ सफ्टवयर भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको थियो ।

यी सूचकहरुमा आमूल परिवर्तन ल्याउन त्यति सहज थिएन । म आजको दिनमा पनि यहाँ उपलब्ध रहेको स्रोत साधनको अधिकतम प्रयोगमा नै विश्वास गर्छु । अहिले पनि मैले मेरो समयको तीन चौथाई बैंकको काममा नै व्यतित गरि रहेको हुन्छु । मैले मेरो जीवनको अमुल्य समय यही बैंकलाई सुम्पेको छु र इमान्दारीपूर्वक म बैंकको भलो होस भन्ने उद्देश्यका साथ अहोरात्र खटिराखेको छु ।

हालसम्म आइपुग्दा बैंकले वित्तीय साक्षरता र पहुँचमा गरेका कामहरु के–के हुन् ?

वित्तीय साक्षरताका निम्ति यस बैंकले निरन्तर रूपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । वित्तीय पहुँच अभिवृद्धि गर्ने अभिप्रायका साथ यस बैंकले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । बैंकले बैंकिंग सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आफ्नो बार्षिक उत्सवको अवसरमा वित्तीय साक्षरता ¥याली गर्दै आएको छ । गाउँ घरमा रहेका नेपाली जनतालाई बैंकिंग सम्बन्धी जागरण गराउने अभिप्रायले बैंकका विभिन्न शाखाहरुबाट घरदैलो कार्यक्रमहरु संचालन गरिंदै आएको छ । सर्वसाधारणलाई वित्तीय साक्षरताका निम्ति यस बैंकले विभिन्न श्रब्यदृश्य सामाग्रीहरु विभिन्न संचार माध्यमबाट प्रसारण गर्दै आएको छ । यसै आवमा बैंकले वित्तीय साक्षरता सम्बन्धि एउटा श्रब्यदृश्य सामग्री निर्माण गरी सामाजिक संजालको माध्यमबाट प्रसारण गरेको छ । यसैगरी बैंकले २० वटा जानकारीमुलक श्रब्यदृश्य सामग्री निर्माण गरी सामाजिक संजालको माध्यमबाट प्रसारण गरेको छ ।

विगत वर्षयता हामीले नियामक निकायको निर्देशन बमोजिम एनएफआरएसको आधारमा लेखा प्रणालीको प्रयोग गर्दै आएका छौं । यसअघि कार्यान्वयनमा रहेको नेपाल एकाउन्टिङ स्ट्याण्डर्ड र अहिलेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) मा मुलतः केही उल्लेखनीय भिन्नताहरु रहेका छन् । यसले गर्दा हामीहरुको हेर्ने दृष्टिकोण फरक फरक हुदाँ आम लगानीकर्ता तथा सेवाग्राहीमा विभिन्न संचार माध्यमबाट एउटै वितिय विवरणको फरक फरक विश्लेशण हुँदा आम सर्वसाधारणमा विभिन्न किसिमका शंकाहरु थिए । यसको निराकरण निम्ति बैंकले सरोकारवाला सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रम संचालन गरेका थियौं ।

कृषि, घरेलु तथा साना उद्यम लगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । वित्तीय साधन परिचालनलाई आर्थिक क्रियाकलाप विस्तार, रोजगारी सिर्जना र दीगो आर्थिक विकास प्रवद्र्धन गर्नेतर्फ बैंकले कार्य गरिरहेको छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जा नीतिलाई सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशैभरी छरिएका १८४ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिमको १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, १५ लाख रुपैयाँसम्मको महिला उद्यमशील कर्जा र उक्त कार्यविधिमा उल्लिखित अन्य सहुलियतपूर्ण कर्जाहरु एवम् १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम, हस्तकला तथा सीपमुलक व्यवसाय प्रवद्र्धन कर्जा प्रदान गर्ने कार्यमा बैंक अग्रसर छ ।

यसै सिलसिलामा सिटिजन्स बैंक इन्टरनेसनल र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका बैंकले यो सम्झौता गरेको छ । मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा म विश्वस्त छु । व्यावशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवशायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । यसैगरी महिला उद्यमी महासंघ, नेपालका बीच सहुलियतपूर्ण महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ ।

बैंकलाई सफल बनाउन सञ्चालक समितिको भूमिका कस्तो रहन्छ ?

मुख्यत बैंक वा वित्तीय संस्थाको साधारणसभाबाट हुने काम बाहेक प्रचलित कानून, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाले गर्नुपर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहने गर्दछ । बैंकले गर्नुपर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाउनु, बैंकको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरुप बैंकिङ्ग कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गर्न, बैंकले गर्नुपर्ने सम्पूर्ण काम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्न, काम कारबाहीको नियमित अनुगमन गर्न बैंक वा वित्तीय संस्थाको सञ्चालकले संस्थाको कुशल व्यावसायिक रणनीतिको अवलम्बन गर्नका निम्ति संचालक समितिको अतुलनिय भूमिका रहन्छ ।

कुनै पनि बैंकको सफलता वा असफलता संचालक समितिमा नै निर्भर हुन्छ । हामीले हेर्दै आएका छौं कि संचालक समितिमा भएको किचलोको कारण केही संस्थाहरु धराशाही भएका छन् । हाम्रो बैंकको संचालक समितिमा विभिन्न प्रतिष्ठित संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तथा बैंकिंङ बुझ्नु भएका व्यक्तिहरु हुनुहुन्छ, जसकारण हामीलाई इथिकल बैंकिंग गर्न सहज भएको छ । तपाईले हेर्ने हो भने हामीले केहि वर्षयता संचालक समितिको मार्गदर्शन कै कारण सबैजस्तो सूचकहरुमा उल्लेखीय सफलताहरु हात परेका छौं । तसर्थ मेरो विचारमा बैंक जस्तो अति संवेदनशील संस्थाको प्रगति मुख्यतः संचालक समितिमा नै निर्भर हुन्छ ।

बैंक कालान्तरसम्म चलिरहनु पर्ने संस्था भएकोले दिगो प्रतिफल दिने गरी दिगो व्यवसायिक विस्तारमा जाने दिर्घकालिन नीति संचालक समितिको रहेको छ । त्यसैले संचालक समितिले एग्रेसिभ ग्रोथको को सट्टा क्वालिटी ग्रोथमा विश्वास गर्दछ । बैंकको दिर्घकालिन रणनीतिलाई साकार पार्नका निम्ति संचालक समितिले दिएको सल्लाह सुझाव अति नै महत्वपूर्ण हुन्छ । बैंकलाई गतिशील र अर्जुन दृष्टि प्रदान गर्न संचालक समितिको अतुलनीय भूमिका रहन्छ । बाधा अड्कन फुकाउने हाम्रो सर्वोच्च निकाय भनेको संचालक समिति नै हो । यसैगरी संस्थागत सुशासनलाई पालना गराउन पनि संचालक समितिको महत्वपूर्ण भूमिका रहन्छ ।

बैंकका आगामी योजना के कस्ता छन् ?

यस बैंकले सम्पूर्ण सरोकारवालाहरुको हितलाई मध्यनजर राख्दै भावी योजनाहरु संचालन गर्ने लक्ष्य राखेको छ । बैंक समयको बेगसँग चल्नुपर्ने एक संस्था हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग यस पुस्तालाई साक्षात्कार गराउन यस बैंकले समयानुकुल सेवा सुविधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुलाई घरबाट नै बैंकिंग सेवा सुविधा प्रदान गर्ने ध्येयका साथ विभिन्न आधुनिक प्रविधिमैत्री सेवा सुविधा सार्वजनिक गर्दै आएको कुरा बिदितै छ । बैंकले आगामी दिनमा डिजिटलाइजेसनलाई केन्द्रबिन्दुमा राखेर कार्य सम्पादन गर्नेछ । बैंकको आन्तरिक काम कारवाहीको प्रक्रियालाई अझ थप प्रभावकारी तथा ग्राहकमैत्री बनाउन केही दिनमा नै हामी कल सेन्टरको स्थापना गर्दैछौं । ग्राहकका गुनासो तथा सुझावलाई यथासम्भव चाँडोभन्दा चाँडो सम्वोधन होस भन्ने उद्देश्यका साथ चुस्त दुरुस्त संयन्त्रको विकासका निम्ति हामीले हाम्रो स्रोत साधनलाई परिचालन गरिसकेका छौं ।

एउटा व्यवसायिक संस्था भएको नाताले हाम्रो दायित्व भनेको हाम्रो लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिनु हो । र, आगामी समयमा पनि कन्सिस्टेन्ट रिटर्न दिने नीतिका साथ हामी व्यापार विस्तारमा होमिएका छौं । यस बैंकमा कार्यरत कर्मचारीहरुलाई अझ राम्रो वातावरण सिर्जना गर्नेतपÞर्m हामी उन्मुख छौं । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.