२०७८ साउन २२ गते १७:२८ विकासन्युज
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित गाउँपालिकाले किसानलाई हातेट्र्याक्टर वितरण गरेको हो ।
गाउँपालिकाले कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा १६ वटा हातेट्याक्टर वितरण गरेको हो । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित गाउँपालिकाले किसानलाई हातेट्याक्टर वितरण गरेको छ ।
गाउँमा परम्परागत खेती गर्दै आएका किसानलाई आधुनिक खेती प्रणालीतिर आकर्षित गर्न किसानलाई मिनी ट्रिलर (हातेट्र्याक्टर) वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी सुदर्शन पौडेलले जनाए । कृषकलाई ट्याक्टर वितरण गरेपछि किसान खेतीतर्फ उत्साहित भएका उनको भनाई छ ।
पौडेलका अनुसार गाउँपालिकाले निवेदन संकलन गरेको र त्यही निवेदनको आधारमा १६ जना कृषकलाई पालिकाले ट्याक्टर वितरण गरेको छ । प्रतिट्याक्टर १ लाख १५ हजार रुपैयाँ पर्ने उक्त ट्याक्टरमा कृषकले ५० प्रतिशत साझेदारी गरेका छन् ।
गाउँपालिकाले गत वर्ष पनि कृषकहरूलाई हाते ट्र्याक्टर वितरण गरेको पनि पौडेलले जनाए । जमिन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन् ।
कृषिको विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले कृषि व्यवसायलाई समयानुकूल परिवर्तन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउने याेजना बताएकाे छ । साथै, रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धि गर्ने गाउँपालिकाकाे योजना छ ।
कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यवसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.