प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गर्दैछौंः सिईओ अर्याल

  २०७८ साउन १७ गते १३:०९     विकासन्युज

२०७४ सालमा बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि सर्वसाधारणको लागि सेयर (आईपीओ) जारी गरेको छैन । कम्पनीले आईपीओ जारी नगरेको कारण २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेमा अझै पनि १ अर्ब ४० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ ।

कम्पनीले अहिले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा विक्री गर्न लागेपनि सबै प्रक्रिया पूरा नभएको कारण प्रिमियम मूल्यमा आउने नआउने यकिन छैन । कम्पनीले साउन २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाइसकेको छ ।

कम्पनीको जीवन बीमा कोषमा करिब २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सल्भेन्सी मार्जिन १.५ भए पुग्नेमा १.८२ छ । जगेडा कोषमा ३३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले गत असार मसान्तसम्ममा २ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अहिलेसम्म २३ शाखा र १४५ उपशाखा गरी कम्पनी नेपालभर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कम्पनीले बिमितलाई मनीव्याक पोलिसीमा प्रतिहजार रुपैयाँमा २२ देखि ३२ र आवधिक जीवन बीमा पोलिसीमा ३० देखि ७५ रुपैयाँसम्म बोनस दिने गरेको छ ।

व्यवसाय विस्तारसँगै ‘सस्टेनेवल विजनेस’को मान्यतामा रहेको सन नेपाल लाइफले किन प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लाग्यो, कम्पनीको कम्पनीको अहिलेको अवस्था कस्तो छ र अवका दिनमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको छ भन्ने लगायतका विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालसँग गरिएको कुराकानीः

हामीले लामो समयसम्म कोरोना भाइरसको त्रास भोग्यौं, अहिले विस्तारै रिभाइव हुने प्रयत्न गरिरहेका छौं । कोरोनाकालमा अनुभव र सिकाई कस्तो रह्यो ?

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो सम्पूर्ण क्षेत्र र समग्र अर्थतन्त्रलाई असर गरेको छ । कोरोनाले कसैलाई पूर्ण रुपमा क्षति पुर्याएको छ भने कसैलाई केही कम क्षति पुर्याएको छ । समग्रमा भने सबैलाई नोक्सान नै भएको छ । बीमा कम्पनीहरु पर्फर्मेन्समा पनि केही हिट गरेको छ । गत आवको तुलनामा केही सुधार भएको होला तर समस्या भने अझै पनि छ । कोरोनाकै कारण प्रिमियम घटेको देखिन्छ । खर्च बढेको देखिन्छ । व्याजदर घटेको छ । यी सबै सूचकहरु हेर्दा बीमा कम्पनीहरुको वित्तीय अवस्था के कस्तो हुन्छ, त्यो भने हेर्न नै बाँकी छ ।

अर्को, प्रविधि प्रयोगको विषय पनि महत्वपूर्ण हो । बीमा क्षेत्रलाई के कसरी प्रविधिमैत्री बनाउन सकिन्छ । कोरोना महामारीमा पनि सामाजिक दूरी कायम गरेर व्यवसायिक प्रवद्ध्र्रन कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले सोच्नु पर्छ । जबसम्म इन्टरनेटमार्फत नै सर्भिस दिन सक्ने मेकानिजम बनाउन सक्दैनौं, तबसम्म व्यवसायिक ग्रोअप गर्न सकिँदैन भन्ने सन्देश यो महामारीले दिएको छ । यसमा नियामक निकायले पनि डिजिटाइज गर्न निर्देशन दिइसकेको छ । आशा गरौं, विस्तारै यसको प्रयोग बढ्ला । डिजिटल सर्भिस तथा अनलाइन प्लेटफर्महरुको प्रयोगबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मेरो बुझाई छ ।

सन नेपाल लाइफ इन्स्योरेन्ससँगै लाइसेन्स पाएका अन्य कम्पनीले आईपीओ जारी गरिसके, तपाईंहरुले किन ढिला गर्नुभएको ?

कम्पनी स्थापना हुँदा नियमनकारी सर्त भनेको संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० प्रतिशत गरी २ अर्ब रुपैयाँ पूँजी पुर्याउने भन्ने हो । तर, कहिले आईपीओ ल्याउने भन्ने कुनै निश्चित अवधि नतोकिएको, नियमनकारी मापदण्डहरु पनि परिवर्तन भएको लगायतका कारणहरुले ढिलो भएको हो । अब ल्याउँछौं ।

अब कहिले आउँछ ?

तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । चाुल आर्थिक वर्षभित्र पक्कै आउँछ ।

प्रिमियममा आईपीओ ल्याउन लाग्नु भएको हो ?

पछिल्लो समय धितोपत्र सम्बन्धि संरचनाहरु परिवर्तन भएको छ । योग्यता पुगेका कम्पनीहरुले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउँछन् । आजको दिनमा हामीले ती योग्यताहरु पूरा गरेका छौं । सबै मापदण्डहरु पालना गर्न सकियो भने प्रिमियममा पनि आईपीओ आउन सक्छ । तर, यो नियमनकारी संयन्त्रसँग जोडिएको विषय पनि हो । सबै विषयहरु मिल्यो भने मात्रै प्रिमियममा पनि जान सकिन्छ भन्ने मान्यतामा कोसिस गरिरहेका छौं ।

अहिलेसम्मका बीमा कम्पनीहरुले बुक भ्यालुमै आईपीओ ल्याए तर, सन नेपालले फरक ढंगले सोच्नुको कारण के हो ?

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाइने पहिलो कुरा हो । धितोपत्र निस्कासन सम्बन्धी व्यवस्था अद्यावधिक भएको कारणले यो परिस्थिति सिर्जना भएको छ । यो व्यवस्था तथा यो अवधारणा हाम्रो बजारमा हालसालै मात्रै आएको हो । यसमा केही सर्तहरु पनि छन् । विद्यमान व्यवस्थाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने भएकोले हामीले पनि त्यसको प्रयास गरेका हौं ।

कम्पनीको समग्र पफर्मेन्स कस्तो छ ?

सन्तोषजनक नै छ । हामीले कम्पनी स्थापना गर्ने समयमा जुन लक्ष्य लिएका थियौं, त्यसलाई अनुसरण गर्दै अगाडि बढिरहेका छौं । कम्पनीका सम्पूर्ण परिसूचकहरु सकारात्मक नै छन् । हाम्रो पहिलो प्राथमिकता जनशक्तिको सीप अभिवृद्धि गर्ने र त्यसको व्यवस्थापन नै हो । त्यसमा हामी लागिरहेका नै छौं । हामी जसरी अगाडि बढ्न खोजेका थियौं, त्यसका लागि सम्पूर्ण रुपले तयार छौं । हाम्रो भोलिको दिशा के हुन्छ ? कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी सचेत छौं । सम्पूर्ण कर्मचारी पनि सोही किसिमले काम गरिरहेका छन् । आजसम्म व्यवसायिक रुपमा पनि हामी अव्बल नै छौं । जीवन बीमामा पहिलो प्रिमियमको नेक्सस अन्तिम किस्तासँग जोडिएको हुन्छ । त्यो अन्तिम अवस्थासम्म पुग्न सकिएन भने आज गरिएको बिजनेस भोलि कोल्याप्स हुन्छ । आज हामीले अनराइट गरेको व्यवसाय भोलि कुनै किसिमले निरन्तर हुन सकेन भने कम्पनीको जीवनमा अझ खराब अवस्था सिर्जना हुन सक्छ । त्यसले कम्पनीको नेटवर्थमा नकारात्मक असर पर्छ । यस्तो अवस्था आउन नदिनको लागि हामी अहिले नै सचेत भएर काम गरिरहेका छौं । व्यवसाय विस्तार र प्रवद्र्धनको आधारमा हामी कुन स्थितिमा छौं भन्ने विषय त बजारले हेरेको छ ।

बजारमा कुल प्रिमियमलाई हेर्ने हो भने सन नेपालको हिस्सा त कम छ नि है ?

प्रिमियमको विषयमा बजारमा धेरै प्रश्नहरु उठेका छन् । यी प्रश्नहरु आफै उत्तरित छन् । यो विषयमा म धेरै प्रवेश गर्न चाहन्नँ । हाम्रो फोकस भनेको दीर्घकालीन व्यवसाय हो । जीबन बीमा भनेको आज गरेर भोलि त्यसको नतिजा देखिने होइन । यो व्यक्तिले आफ्नो जीवनकाल भरिका लागि गर्ने लगानी हो । यसको निरन्तरता हुन सकेन भने त्यो कहिँ न कहिँ त्रुटिपूर्ण हुन्छ । भोलिका दिनमा त्यसका दीगोपना माथि नै प्रश्न उठ्छ । हामीले यो विषयलाई मनन् गरेर अगाडि बढ्नु पर्छ र सोही किसिमले व्यवसाय गर्नुपर्छ । हाम्रो फोकस पहिलो प्रिमियम भन्दा पनि रिन्युएबल प्रिमियम ग्यारेन्टी होस् भन्ने हो । व्यवसायले निरन्तरता पाओस् भन्ने हाम्रो मुख्य प्राथमिकता हो ।

सन नेपाल इन्स्योरेन्स कम्पनीको शाखा सञ्जाल र जनशक्तिको अवस्था कस्तो छ ?

शाखा सञ्जाल विस्तारमा हामी नेपालभर नै छौं । सबै जिल्लाहरुमा हाम्रो उपस्थिति छ । बीमाको प्रकृति नै बजारिकरणमै बढी फोकस गर्ने हो । बजारिकरणको ओरेन्टेसनका लागि हामीले उपशाखा भनेर पनि राखेका छौं । ती उपशाखाहरु र शाखाहरु करिब डेढ सय वटा छन् । शाखाहरु २३ वटा मात्रै छन् । हामीले बनाएको संरचना कस्तो हो भन्ने विषयले पनि महत्व राख्छ । देशभर ३ सयको हाराहारीमा हामीसँग कर्मचारीहरु हुनुहुन्छ ।

अहिले बिजनेस विस्तार गर्नको लागि सन नेपालको फोकस केमा हो ?

हाम्रो फोकस भनेको ‘ट्राडिस्नल पोलिसी’मै हो । एजेन्सी बिल्डअप गर्ने, ओरेन्टेसन गर्ने नै हाम्रो अहिलेको मुख्य प्राथमिकता हो । नयाँ कम्पनी बजारमा आइसकेपछि त्यसको संरचना निर्माण नै मुख्य विषय हुन्छ । त्यसका लागि धेरै समय दिनु पर्ने हुन्छ । धेरै विषयहरु सिकाउनु पर्ने हुन्छ । कम्पनी कसरी अगाडि बढ्न सकछ ? कसरी बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? भन्ने विषयले नै पहिलो प्राथमिकता पाउँछ । यो आर्थिक वर्षदेखि हामीले माइक्रो इन्स्योरेन्समा फोकस गर्ने योजना बनाएका छौं । हामी सुरुमा त्यसको विस्तारलाई ध्यान दिन्छौं । अब त्यसलाई कसरी व्यवस्थित किसिमले अगाडि बढाउन सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान जान्छ ।

बीमा कम्पनीको एजेन्टको कर्जा र अहिले पोलिसी सरेन्डरको विषयले निकै चर्चा पाएको छ ? नयाँ कम्पनीलाई यसको प्रभाव कतिको छ ?

पहिला, एजेन्टको कर्जाको विषयमा कुरा गरौं । कम्पनीहरुले व्यवसाय प्रवद्र्धन गर्नका लागि वा अभिकर्ताको क्षमता अभिबृद्धि गर्नको लागि कर्जा दिएको होला । व्यवसाय प्रबद्र्धन गर्न दिइएको सापटी वा कर्जा व्यवसाय सम्बद्ध असुली प्रक्रियामा आधारित हुन्छ । अन्य कर्जाको विषयमा छलफल गर्न उपयुक्त छैन होला ।

अर्को सरेन्डरको विषय, व्यक्तिले आफ्नो जीवनकालका लागि जीवन बीमा गर्छ । व्यक्तिले २/३ वर्षपछि सरेन्डर गर्छु भनेर बीमा गर्दैन । केही गरेर कुनै गम्भीर समस्या आयो भने प्रिमियम तिर्न नसक्ने अवस्था आउन सक्छ । अथवा विदेश नै जानुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि मात्रै यो एक प्रकारको छुट हो । जुन सबैका लागि लागू हुने विषय भएन ।

तर, यसैलाई आधार बनाएर बीमा गर्नुहोस् भनेर कन्भिन्स गरेमा केही वर्षपछि सरेन्डर हुने समस्या देखापर्छ । तपाईंले यो पोलिसी सरेन्डर गर्न सक्नु हुन्छ भनेर पोलिसी विक्री गर्नु हुँदैन । गलत मार्केटिङ गर्नु भएन । जति वर्षको बीमा गरिएको हुन्छ निरन्तर रुपमा प्रिमियम तिर्न सक्नु पर्छ । बीचमै सरेन्डर गर्न मिल्दैन भन्ने किसिमले अघि बढ्नु पर्छ । सन नेपाल लाइफको सन्दर्भमा भन्ने हो नियम विपरित कर्जा वा सरेन्डरको समस्या छैन ।

जीवन बीमा कम्पनीहरुको संख्या पनि धेरै भएकोले अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो भन्ने गुनासो सुनिन्छ, अहिलेको अवस्था कस्तो महसुस गर्नुभएको छ ?

संख्यात्मकभन्दा पनि गुणात्मक प्रतिस्पर्धा हुनुपर्छ भन्ने विश्वास गर्नुपर्छ । संख्या धेरै वा थोरैले केही फरक पर्दैन । तर, ओरेन्टेसनको कारणले गर्दा बजारमा केही अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सकारात्मक नै हुनु पर्छ ।

कम्पनीको संख्या बढी भएको हो ?

त्यो म कसरी भनौं ? नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा नेपाली बीमा क्षेत्रको योगदान करिब ३ प्रतिशत मात्रै छ । यो संख्या कम हो कि, बढी हो कि, कम हो भने बढाउनको लागि कम्पनीको संख्या थप गर्नुपर्छ वा कम्पनीको संख्या कम गरेर ठूलो कम्पनी बनाएर जानुपर्छ भन्ने विषय छ राज्यको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा काम गर्ने होला । कम्पनीको संख्याको विषयमा भन्दा पनि बजारमा कस्तो अवस्था छ, कति पारदर्शी रुपमा काम गर्न सकिएको छ भन्ने विषयमा बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ ।

अहिलेसम्म कस्ता प्रकारका प्रडक्टमा बढी आकर्षण छ ?

हाम्रो सबै दीर्घकालिन पोलिसीहरु नै छन् । सर्टटर्मका पोलिसीहरु हामीसँग छैनन् । हामीले अब सर्टटर्मका पोलिसीहरुमा जानु पर्छ भन्ने योजना बनाएका छौं । अहिलेसम्मका पोलिसीहरुमा राम्रै आकर्षण नै छ । आवश्यकता अनुसार विभिन्न पोलिसीहरु ल्याउने प्रयास पनि हामी गर्नेछौं ।

बीमा कम्पनीहरुले नर्मल पोलिसीहरुमा बढी फोकस गर्ने हो कि वा टर्म पोलिसीहरुमा फोकस गर्ने हो ?

यसमा दुईटा पाटो छ । कोरोना भाइरस जस्तो परिस्थितिमा टर्म पोलिसी पनि प्रभावकारी नै हुन्छन् । तर, दीर्घकालिन रुपमा परम्परागत पोलिसीहरु नै राम्रो र बढी प्रभावकारी हुन्छ जस्तो लाग्छ । टर्म पोलिसीमा प्रोटेक्सन चाहिँ बढी चाहिँन्छ । एउटा राम्रो, अर्को नराम्रो भन्ने भन्दा पनि दुवैलाई समान तरिकाले अगाडि बढायो भने राम्रो हुने र बीमा बजार पनि प्रभावकारी हुन्छ ।

बजारमा देखिने गरी नयाँ के काम गर्दै हुनुहुन्छ ?

हामी बजारमै छौं । नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा बढी ‘मास मिटिङ’ गरेर बीमा सम्बन्धि सचेतना जगाउने कम्पनी सन नेपाल लाइफ नै होला । सुरुवाती चरणमा हामीले प्रत्येक जिल्लामा मास मिटिङ गरेका छौं । आफुले गरिरहेको काम ‘पर्फेक्ट’ रुपमा गर्न सक्नुपर्छ । त्यो किसिमको सर्भिस हामीले दिन सकेका छौं । बीमा कम्पनीहरुका मालिक बिमित हुन् । उनीहरुलाई कसरी खुसी पार्न सकिन्छ, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । सन नेपालले त्यसतर्फ ध्यान दिइरहेको छ । हामीले सर्भिस किन्ने होइन, बेच्ने सिद्धान्तलाई आत्मसाथ गरिरहेका छौं । हामी हरेक परिसूचकमा अब्बल छौं । बजारले के गरिरहेको छ भन्ने कुरामा दौडिने भन्दा पनि आफ्नो लक्ष्य र उद्देश्यमा हामी अडिक छौं ।

अन्त्यमा, तपाईंका सम्पूर्ण बीमितहरुलाई सन्देश के छ ?

हामीले प्रवाह गरेको सेवा पारदर्शी नै छ । हामीले दिने सेवा प्रवाहमा कुनै कन्फ्युजन छ भने हामीलाई भन्न सक्नु हुन्छ । ‘सन नेपाल लाइफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने हाम्रो नारा नै छ । नारा जस्तै हामीले काम पनि गरिरहेका छौं । हामी हरेक ठाउँमा पुगेका छौं । घरघरमा गएर हामीले सेवा दिइरहेका छौं । सम्पूर्ण बीमितहरुलाई ढुक्क हुन हामी अनुरोध गर्छौं । बीमा जीवनभरका लागि गरिने लगानी हो । बुझेर जीवन बीमा गर्न चाहनु हुन्छ भने सन नेपालमै आउनुस् भन्ने अनुरोध पनि सम्पूर्णलाई गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.