जीडीपीभन्दा तीन गुणाले बढ्यो नगद रहित भुक्तानी कारोबार, चेक कारोबार भने स्थिर

  २०७८ साउन १५ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपालको नगद रहित भुक्तानी कारोबार कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा तीन गुणाले बढेको छ । एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत गत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढेको हो ।

त्यस्तै, एनसीएचएलले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो ।

त्यसैगरी, एनसीएचएलले नेपाली रुपैयाँ १३ खर्ब, यूएसडी २० करोड ९ लाख, ईयूआर २४ करोड ९ लाख र जीबीपी २७ करोड २ लाख बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो ।

उक्त आर्थिक वर्षमा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल-आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबार बृद्धी भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी वृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड-१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ । यसमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आवद्ध रहेका छन् ।

एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.