सेयर बजार र बाँदर साहुको कथा

  २०७८ साउन १५ गते १०:५३     सुशिल घिमिरे ‘त्रैलोक्य’

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका मानिसहरु सबै जना सोझा साझा थिए । सबै मिलेर बस्दथे । दैनिक मिहिनेतको र परिश्रमको कमाई घरमा ल्याएर परिवारको पालन पोषण गर्दथे । सानो सपना देख्दथे । त्यसैले सुखी र खुसी पनि थिए ।

अचानक एक दिन त्यस गाउँमा एउटा चलाख व्यापारी आयो । उसले त्यो गाउँका मानिसहरुलाई नजिकबाट नियालो । र, एक दिन सबैलाई गाउँको बीचमा रहेको पिपल चोकमा बोलाएर भेला गरायो । र, उनीहरुलाई व्यापारीले भन्यो– यो तिमीहरुको गाउँमा राम्रो र उन्नत जातको बाँदरहरु धेरै रहेछन् । यो त अमुल्य बाँदर हो । यसलाई शहरमा लगेर बेच्नु पर्दछ । राम्रो पैसा राम्रो दाम पाइन्छ । यस्तो राम्रो कमाउने मौका छोडेर तिमीहरु खेती किसानीमा दिनभरी किन लागेका ? दिनमा एक जनाले दश ओटा बाँदर समातेर मलाई दियौं भने म प्रतिबाँदर सय तिमीहरुलाई दिन्छु ।

दिनकै हजार कमाई हुन्छ तिमीहरुको भनेर त्यो बाठो व्यापारीले सोझा गाउँलेलाई सम्झायो । गाउँलेहरु पनि कमाउन पाइने भइयो भनेर मख्ख परे र खेती किसानी गर्न छोडेर बाँदर समाउन थाले । कसैले पाँच वटा समातेर ल्याए र पाँच सय पाए । कसैले सात वटा समाते र सात सय रुपैयाँ पाए । कसैकसैले पैसा चाढै कमाउने मनसायले एकै दिनमा पन्द्र वटासम्म समाए र पन्द्र सय रुपैयाँसम्म पाए ।

अब गाउँलेहरु खुसी हुँदै हौसिदै बिहानैदेखि परिवार सहित वरपर र जगंलसम्म गएर बाँदर समाउन थाले । र, बेलुका व्यापारीलाई जिम्मा दिए । पैसा लिदै मख्ख परे । अलि दिन पछि बाँदरको संख्या कम हुँदै गयो । सजिलै बाँदर पाइन छाडे । अनि फेरि व्यापारीले अब म प्रतिबाँदर दुई सय दिन्छु, समातेर ल्याओ भनेर बाँदरको मुल्य वढायो । गाउँलेहरु फेरि खुसी भए । र, जंगल जंगल चहारेर बाँदर समाउन थाले ।

गाउँलेहरुले त्यो क्षेत्रमा भएका सबै बाँदर समातेर व्यापारीलाई बेचिसके । अब जंगलमा बाँदर पाउनै छोड्यो । बाठो व्यापारीले बाँदरको मूल्य फेरि बढायो । र, प्रतिबाँदर पाँच सय रुपैयाँ दिने कुरा बतायो । तर, गाउँलेहरु बाँदर पाउन र समाउन गाह्रो हुने भएकोले निरास हुन थाले । यत्तिकैमा त्यो गाउँमा एक जना अर्को नयाँ व्यापारी अकस्मात आयो र सबै गाउँलेलाई आफूसँग प्रसस्त बाँदर रहेको र प्रतिबाँदर ४ सय रुपैयाँमै दिने कुरा सुनायो । र, उसैले ती बाँदर पहिलाको व्यापारीलाई बेच्दा प्रतिबाँदर सय रुपैयाँ फाइदा हुने भएकोले मौकाको फाइदा उठाउन आग्रह पनि गर्यो ।

गाउँलेहरु उसको कुरा सुनेर मख्ख परे । अनि प्रतिबाँदर ४ सय रुपैयाँको दरले हजारौं बाँदर किने । भोलिपल्ट पाँच सय पाउने आसमा पुरानो व्यापारी बसेको डेरामा जादा व्यापारी त रातिनै कुलेलम ठोकेर टाप भएछ । यो कुरा सुनाउन गाउँलेहरु आफूहरुलाई बाँदर बेच्न व्यापारीकोमा गए । ऊ पनि भागेछ । अनि मात्रै ती गाउँलेले आफ्नो गाउँका बाँदर आफैलाई बेचेर ती दुई व्यापारीले राम्रैसँग ठगेका थाहा पाएछन् ।

यो त एउटा कथा मात्र हो । तर, आज नेपालको सेयर बजार पनि नेप्से बढ्यो भन्दै खुसी हुँदै कतै तपाई हावाको भरमा र लहलहैमा लागेर त सेयर किनिरहनु भएको छैन ? आफूले किनेको र किन्न खोजेको कम्पनीको सेयर किन्नुभन्दा पहिले एकचोटि अवश्य सोच्नु होला । व्यापारीले बाँदरको मूल्य बढाए जसरी कसैले सेयरको मूल्य त बढाएको छैन ?

सय रुपैयाँको बाँदर आफैले कृत्रिम अभाव सिर्जना गरेर प्रतिबाँदर ४ सय रुपैयाँ गरे जस्तै गरी तपाईंको पनि सय रुपैयाँको सेयर रिर्टनभन्दा धेरै मूल्य बढाएर तपाईंलाई नै भिडाउने प्रपन्च त कसैले रचिरहेको छैन ? प्रतिसेयर आम्दानी नहेरि हावाको भरमा कतै तपाई हजार, दुई हजारमा सेयर किनिरहनु भएको त छैन ?

अहिले ध्यान पुर्याइएन भने बाँदर जंगलमा छोडे जसरी तपाईंले आफ्नो सेयर आफैले महंगोमा किनिरहनु भएको त छैन ? आखिर कम्पनीले त सयकै जवाफदेहिता वहन गर्ने हो नि । बुक भ्यालु नै तपाईंप्रतिको दायित्व हो । त्यसैले तपाईले किन्न खोजेको कम्पनी कस्तो छ ? विगतमा कस्तो प्रतिफल दिएको छ र हाल उसको प्रगति विवरण कस्तो छ ? जगेडा कोसको अवस्था के छ ? प्रतिसेयर आम्दानी, बुक भ्यालु लगायत नियमनकारी निकायको नीति कस्तो छ ? तपाई मार्केटमा कहिले इन गर्दै हुनुहुन्छ र कहिले आउट हुने ? अल्पकालिन वा दिर्घकालिन कस्तोमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता पक्षबारे गहन अध्ययन र विश्लेषण आवश्यक हुन्छ । किनभने बजारमा कमाउन सहज छैन । तपाईंले कमाउनु भनेको कसैले गुमाउनु पनि हुन सक्छ । र, सबै जना कमाउनको लागि नै बजारमा आएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.