नगरपालिका भित्रका घरलाई खरका छानामुक्त बनाउन कम्मर कसेका छौं – नगरप्रमुख थारु

  २०७८ साउन १४ गते १८:५९     विकासन्युज

मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएकोे छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिका हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको ८ स्थानीय तहमध्ये यो नगरपालिका भौतिक पूर्वाधार र संरचनाका हिसावले अगुवा स्थानीय तह मानिन्छ । यस नगरपालिकामा ११ ओटा वडा छन् ।

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि नगरपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो नगरपालिकाका नगर–प्रमुख दुर्गा बहादुर थारुसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ?

नगर भित्र विकास निर्माणको काम पनि धेरै भएका छन् । विकास भन्नाले भौतिक पूर्वाधार, सामाजिक विकास सबै किसिमका विकासलाई हामीले सन्तुलित रूपमा लिने गरेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढी रहेका छन् । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ यता सामाजिक विकासतर्फ जनचेतनामूलक काम, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ ।

हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा नगरपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं र हाल कालोपत्रेको कामलाई पनि अगाडि बढाएका छौं ।

शिक्षा क्षेत्रतर्फ पनि धेरै काम भएका छन् । हाम्रो नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको नगरपालिका हो । नगरपालिकामा एक देखि १० कक्षासम्म पढ्नको लागि कुनै पनि शुल्क लाग्दैन । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् ।

सिँचाइमा पनि उल्लेख्य काम भएको छ । निर्वाचित पस्चात् हामीले पालिकामा प्रविधि युक्त स्वास्थ्यचौकीको पनि निर्माण गरेका छौं । त्यस्तै, सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८० प्रतिशत कामहरू सकिसकेका छौं ।नगरपालिका भित्रका घरलाई खरका छाना मुक्त बनाउनतिव्रताका साथ लागेका छौं ।सडकलाई सुरक्षित बनाउने प्रयास, बजार अनुगमन र उपभोक्ता एवंम् व्यवसायिक सचेत लगायतका कार्यक्रमहरू भइरहेका छन् ।

स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ?

लामो समयसम्म जनप्रतिनिधि विहीन भइरहेको अवस्था थियो । स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं । यहाँका नागरिकहरूले आफ्नो समस्या पालिकामा राख्नसक्ने भएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ ।

नगरपालिकाबाट जनताले के अपेक्षा राखेका छन् ?

जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । जनताको माग तत्कालै पुरा गर्नुपर्छ भन्ने किसिमको आउँछ तर हामीले दुर्गामी विकास हुने किसिमका विकासका योजनाहरू निर्माण गरेका छौ । छोटकरीमा भन्नु पर्दा यहाँको जनताको चाहना विकास, समृद्ध, सुविधा आदिको अपेक्षा छ ।

अनि, यी मागको चाहिँ कसरी संबोधन गरिरहनुभएको छ ?

हामी जनताबाटै निर्वाचित भएर आएका हौं । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढंगबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं ।

जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै संबोधन गर्नको निम्ति हामी लागि परेका छौं । यस अर्थमा विगतमा भन्दा केही न केही विकासका अनुभूति जनताले गर्न पाएका छन् भन्ने लागेको छ ।स्थानीय सरकार नागरिककै सरकार भएकाले समस्यालाई केलाउँदै आर्थिक तथा सामाजिक विकाशलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ ।

दोस्रो चरणको कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ?

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्यचौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ ।

हामीले नगरभित्र कोभिड अस्पताल पनि सञ्चालन गरेका छौं ।अन्यत्र जस्तो बेडहरू भरिभराउ हुने, बिरामीहरू अलपत्र हुनेजस्ता समस्या चाहिँ नगरभित्र हुन दिएनौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ ।

नगरपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरुहुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरू पनि गर्दै आएका थियौं । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ ।

नगरपालिकामा हालसम्म कति जनामा संक्रमणको पुष्टि भएको छ ?

दोस्रो लहरेको कोरोना भाइरस सुरुसुरुमा पालिकामा पनि व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । असर ३० गतेको तथ्याङ्क अनुसार पालिकामा हालसम्म ९ सय ५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोभिड अस्पतालबाट नियो भई घर गएको संख्या ७६ रहेको छ । हालसम्म २ हजार ९ सय सय ४८ जनाको एन्टिजेन तथा पीसीआरमाफर्त परीक्षण गर्दा ९ सय ५९ जना संक्रमित पुष्टि भएको छ । कोभिड अस्पतालबाट रेफर भएको संख्या १९ रहेको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाले १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएको छ ।

दोस्रो चरणको कोरोना प्रभावसँगै पालिकामा कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ?

गत वर्ष चाहिँ हामीले कोरोना संक्रमित भएका विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका थियौं । तर, यस पटक भने राहतका कार्यक्रम वितरण गर्न सकेनौं । पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणका कामहरू रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणका कामहरू सञ्चालन गर्यौं । कोभिडको समयमा हामीले नागरिकहरुलाई भोको हुन दिएनौं ।

स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ?

स्वभाविकरूपमा काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । म नगरपालिकाको नगर प्रमुख भई काम गरिरहँदा जनताको ठुलो अपेक्षा छ स्थानीय सरकारप्रति, जन अपेक्षा बमोजिम मौजुदा प्रशासनिक कार्य प्रणालीबाट अपेक्षा पुरा गर्न लागि म लगायत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई निकै ठुलो चुनौती रहेको महसुस गरेको थिए । त्यस सँगसँगै विकासका कामहरूमा पनि हामी गाउँले परिवेशबाट सहरी परिवेशमा जाँदै गर्दा विकासका योजनाहरू अघि बढाउँदा चुनौती हुने गरेका छन् । २०७४ सालमापुरै नगर बाढिले डुबायो, हामीले बाढिको सामना गर्यौं । दोस्रो वर्ष चाहिँ राम्रोसँग काम गर्यौं । तेस्रो र चौथो वर्ष कोभिडको सामना गरिरहेका छौं । चुनौती धेरै थिए । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । चुनौती बिचमा अवसर खोजर्दै काम गरी अगाडि बढेका छौं ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

नगरवासिहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.