म्युचुअल फण्डलाई आईपीओः चार स्कीम मालामाल, अन्यलाई औषत

  २०७८ साउन १२ गते १७:३६     मञ्जरी पौडेल

काठमाडौं । दोस्रो बजारमा सेयरको मूल्य बढेसँगै म्युचुअल फण्डले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाट मनग्ये आम्दानी गर्न थालेका छन् ।

आईपीओ जारी गर्ने कम्पनीहरुले सार्वजनिक बिक्री गर्ने आईपीओको ५ प्रतिशत म्युचुअल फण्डलाई अनिवार्य रुपमा दिनुपर्ने र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने वित्तिकै आईपीको मूल्य ४ सयभन्दा माथि पुग्ने गरेका कारण म्युचुअल फण्ड मालामाल हुन थालेका हुन् ।

दोश्रो बजारमा लगानी गरी कमाइरहेका म्युचुअल फण्डहरुले प्राथमिक बजार अर्थात आईपीओमा पनि लगानी गर्न पाउने व्यवस्था रहेको छ । जुनसुकै कम्पनीले आईपीओ निष्काशन गर्दा म्युचुअल फण्डलाई अनिवार्य रुपमा कूल निष्काशनको ५ प्रतिशत सेयर छुट्याउनु पर्ने व्यवस्था छ ।

अहिले १३ वटा फण्ड व्यवस्थापक (म्युचुअल फण्ड) संचालनमा छन् । यी फण्डले बन्दमुखी र खुलामुखी गरी कूल २७ वटा स्किम (योजना) हरु सञ्चालनमा ल्याएका छन् ।

यीमध्ये पनि ४ वटा फण्ड व्यवस्थापकले सञ्चालनमा ल्याएका विभिन्न ४ वटा स्कीमलाई आईपीओबाट बढी फाइदा भएको छ । अन्य क्यापिटलको तुलनामा हालसम्ममा ग्लोबल आईएमई क्यापिटल, कुमारी क्यापिटल, प्रभु क्यापिटल र आरबिबि मर्चेन्ट बैंकिङ्गले सञ्चालनमा ल्याएका स्कीमहरु आईपीओबाटै मालामाल भइरहेका देखिन्छ ।

किनभने यी संस्थाहरुले हालसम्ममा जम्मा एउटा मात्रै योजनाहरु सञ्चालनमा ल्याएका छन् भने अन्यले दुई वा दुईभन्दा बढी योजनाहरु सार्वजनिक गरी सञ्चालनमा लाईसकेका छन् ।

म्युचुअल फण्ड निर्देशिका अनुसार म्युचुअल फण्डलाई छुट्याईएको कूल सेयर संख्या योजना व्यवस्थापक (अर्थात मर्चेन्ट बैंकिङ्ग) ले सञ्चालनमा ल्याएका योजनाहरुमा बराबर भाग गरिने व्यवस्था छ । यसरी भाग गर्दा बढी योजनाहरु सञ्चालनमा ल्याउनेभन्दा कम ल्याउने मर्चेन्टहरुलाई बढी फाइदा हुने देखिन्छ ।

कसरी ?

जस्तो कि हालै सेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरेको युनियन लाइफ इन्स्योरेन्सलाई हेरौं । इन्स्योरेन्सले गत असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । जसको ५ प्रतिशत म्युचुअल फण्डले पाए ।

युनियन लाइफले जारी गरेको आईपीओको ५ प्रतिशत म्युचुअल फण्डले पाउँदा ३ लाख २२ हजार ५ सय कित्ता आईपीओ पाए । उक्त सेयर सबै (हाल १३ वटा) मर्चेन्टहरु बैंकरहरुलाई भाग लगाउँदा प्रत्येकको भागमा २४ हजार ८०७ कित्ता आईपीओ पर्न आउँछ । आफ्नो भागमा परेको आईपीओ पनि फण्ड व्यवस्थापकले (साइज वा समानुपातिक रुपमा बराबर भाग लगाएर) बाँड्ने गरेका छन् । यसो गर्दा बढी योजना सञ्चालनमा ल्याउनेलाई भन्दा कम स्कीम हुनेहरुलाई बढी फाइदा भएको देखिएको छ ।

कम्पनीहरुले आईपीओ जारी गर्दा पाइने ५ प्रतिशत सेयर योजना संचालकहरुले बराबर रुपमा लिने गरेको मर्चेन्ट बैंकिङ् एशोसिएशनका अध्यक्ष मेखबहादुर थापाले बताए । तर आईपीओ खरिद गर्नको लागि योजना व्यवस्थापकले आवेदन भने दिनुपर्ने उनले बताए ।

‘निवेदन दिएको हकमा सबै फण्डले बराबर संख्यामा आईपीओ पाउने व्यवस्था छ, कुनै फण्डले एकभन्दा बढी स्कीम संचालन गरेका छन् भने स्कीमको आकार अनुसार र कसैकसैले आफ्ना स्कीमहरुलाई पनि समानुपातिक रुपमा बाँडफाँट गर्ने गरिएको छ,’ एनआईबिएल एस क्यापिटलका सीईओ समेत रहेका अध्यक्ष थापाले भने ।

गत असार ३१ गते नै बाँडफाँट भएको युनियन लाइफको सेयर हालसम्म नेप्सेमा सूचीकृत भएको छैन । नेप्सेमा सूचीकृत भएसँगै नेप्सेले तोकिदिएको न्युनतम र अधिकतम मूल्यको रेञ्जमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

मानौं, यूनियन लाइफको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १३७ रुपैयाँदेखि अधिकतम ४११ रुपैयाँ तोकिदियो । यससँगै नेप्सेमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता न्युनतम १३७ रुपैयाँदेखि अधिकतम ४११ रुपैयाँको बीचमा हुने छ ।

यसअघिको अन्य कम्पनी तथा इन्स्योरेन्सको ट्रेण्ड हेर्दा अधिकांशको सेयर दोश्रो बजारमा पहिलो कारोबार भएको दिन नै सर्किट लेभलमा कारोबार भएको थियो ।

त्यस्तै, यूनियन लाइफको पनि पहिलो दिनमै सर्किट लेभल अर्थात अधिकतम ४११ रुपैयाँसम्ममा सेयर कारोबार भयो भने एउटा मात्रै स्कीम संचालन गर्ने फण्डको आम्दानी धेरै हुनेछ ।

जस्तो कि योजना व्यवस्थापक कुमारी क्यापिटल (एउटा मात्र योजना भएको मर्चेन्ट बैंकिङ्ग) रहेको कुमारी इक्विटी फण्डसँग युनियन लाइफको २४ हजार ८०७ कित्ता सेयर भागमा परेको छ ।

यदि, युनियन लाइफको सेयर मूल्य पहिलो दिन नै प्रतिकित्ता ४११ रुपैयाँ कायम भयो भने कुमारी इक्विटी फण्डले गरेको लगानीको बढेर पहिलो दिनमै १ करोड १ लाख ९५ हजार ६७७ रुपैयाँ पुग्नेछ । २४ लाख ८० हजार ७०० रुपैयाँ मात्रै लगानी गरेको फण्डले पहिलो दिनमै ७७ लाख १४ हजार ९७७ रुपैयाँ नाफा गर्न सफल हुनेछ ।

अहिलेसम्म एउटा मात्रै स्कीम संचालन गर्नेहरुमा कुमारी क्यापिटलको कुमारी इक्विटी फण्ड, ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई समुन्नत स्कीम १, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्ड र आरबिबि मर्चेन्ट बैंकिङ्गले सञ्चालनमा ल्याएको आरबिबि म्युचुअल फण्ड रहेका छन् । यी सबै स्कीमले युनियन लाइफको आईपीओबाट सेयर सुचिकृत भएकै दिन नै ७७ लाख रुपैयाँभन्दा बढी कमाउने सम्भावना छ ।

तर, योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल, जसको दुई वा दुईभन्दा बढी योजना सञ्चालनमा छन् । त्यसमध्ये एनआइसी एशिया ब्यालेन्स फण्डसँग इन्स्योरेन्सको जम्मा ६ हजार २०१.७५ कित्ता (२४ हजार ८०७ कित्ता सेयर ४ योजनालाई बराबर भाग गर्दा ६२०१.७५ कित्ता) सेयर छ । जसको मूल्य पहिलो दिनमा बढेर २५ लाख ४८ हजार ९१९ रुपैयाँ पुग्नेछ । ६ लाख २० हजार १७५ रुपैयाँ लगानी गरेको उक्त फण्डले १९ लाख २८ हजार ७४४ रुपैयाँ मात्रै नाफा गर्नेछ । जुन कुमारी इक्विटी फण्डको तुलनामा ५७ लाख ८६ हजार २३२ रुपैयाँले कम हो ।

हाल नेपाली बजारमा कूल १३ वटा मर्चेन्ट बैंकहरु सञ्चालनमा रहेका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले इजाजत दिएसँगै उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनीको रुपमा काम गर्दै आएका छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सञ्चालनमा आएका यी संस्थाले हाल पुँजी बजारमा विभिन्न ४ कार्यहरु गर्दै आएका छन् । कुनै पनि कम्पनीको सेयर निष्काशन तथा बाँडफाँड, सेयर रजिष्ट्रार, अन्डरराइटिङ्ग र लगानी व्यवस्थापन लगायतका कामहरु मर्चेन्ट बैंकहरुले गरिरहेका छन् ।

यससँगै मर्चेन्ट बैंकरहरुले पुँजी बजारमा लगानी गर्ने उद्देश्यले आफ्नो योजनाको रुपमा विभिन्न फण्डहरु सञ्चालनमा ल्याएका छन् । र, त्यस्ता फण्डहरुले बजारबाट कमाएका नाफाको आधारमा इकाईधनीलाई प्रतिफल वितरण गर्दै आएका छन् ।

यद्यपि, म्युचुअल फण्डलाई आईपीओ दिँदा म्युचुअल फण्डको इकाईमा लगानी गर्ने इकाईधनीलाई फाइदा हुने बुझिन्छ । त्यस्तै, हाल सञ्चालनमा आएका जति पनि फण्डहरु छन्, ती सबै दोश्रो बजारमा लगानी गर्ने ज्ञान, अनुभव तथा समय कम भएकाहरुलाई यस्ता म्युचुअल फण्डहरु बढी उपयुक्त देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.