दूरसञ्चार सेवा प्रदायक कम्पनीले नै पालना गर्दैनन् न्यूनतम गुणस्तर

  २०७८ साउन १२ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारले तोकेको न्यूनतम गुणस्तरको समेत पालना नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्दा सेवा प्रदायक कम्पनीले गुणस्तर मापन नगरेको पाइएको हो ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।
तीन टेलिकम कम्पनीहरुको नेटवर्कभित्र २०७७ चैतदेखि २०७८ जेठसम्म कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक गरिएको मोबाइल सेवाको गणुस्तर परीक्षण अध्ययनमा कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडी एनसेल देखिएको छ ।

उक्त (ड्राइभ टेस्ट) प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ५.२७ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ ।

अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडी भएतापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।
यस्तै, कल स्थापना हुने कल सफलताको दर एनसेलको ९४.४३ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ ।

नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.३४ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ९०.५१ प्रतिशत रहेको छ ।
प्रयोगकर्ताहरु कम रहेको स्मार्ट टेलिकमको कल स्थापना हुने समय १०.२७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८४.४७ प्रतिशत रहेको छ ।

प्राधिकरणले गरेको ड्राइभ टेस्टमा आफै फोनकल काटिने (सम्पर्क विच्छेद) हुने दरमा सबै टेलिकम कम्पनीको अवस्था राम्रो देखिएको छ । प्राधिकरणले तोकेको आफै फोनकल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा नेपाल टेलिकमको ०.८७ प्रतिशत रहेको पाइएको छ ।

यस्तैगरी, एनसेलको ०.२ प्रतिशत र स्मार्ट टेलिकमको ०.४५ प्रतिशत रहेको छ ।

तीन जिल्लामा परीक्षण

प्राधिकरणले काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँमा ड्राइभ टेष्ट विधिबाट उक्त परीक्षण गरिएको थियो ।

जसमध्ये काठमाडौँको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वरी, स्वयम्भू, सीतापाइला, छाउनी, चाबहिल, गोठाटार, कपन, मण्डीकाटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशला, सिनामंगल र शान्तिनगरमा गरिएको थियो ।

त्यस्तै, ललितपुरको टेकु, कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को र टिकाथलीमा उक्त परीक्षण गरिएको थियो । भक्तपुरमा बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँट परीक्षण गरिएको थियो । साथै, यि जिल्लाका रिंगरोड भित्रका मुख्य तथा सहायक मार्गहरुमा यो परीक्षण गरिएको थियो ।

प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेको जनाएको छ ।

कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ गरिएको जनाएको छ। हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनोट गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.