डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

  २०७८ साउन ११ गते १८:३५     विकासन्युज

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज (साउन ११ गते) आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् ।

एक अर्ब पचास करोडको लागतमा बन्न लागेको उक्त उद्योगमा अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको लगानी रहेको छ ।

आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए ।

नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलो पटक स्थापना हुन लागेको छ । यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन हुने अपेक्षा गरिएको छ ।

आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.