२०७८ साउन ११ गते ११:१४ विकासन्युज
काठमाडाैं । साउनको पहिलो साता देशभर करिव ८९ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन ६ गतेसम्म सातै प्रदेशमा ८८ दशमलव ७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
विभागको तथ्यांक अनुसार कुन धान रोपाइँहुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ लाख १७ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।
गत वर्ष सोही अवधिमा १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा ९१ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ ।
कुन प्रदेशमा कति रोपाइ भयो ?
विभागकोे तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ८० दशमलव ०२ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । उक्त प्रदेशमा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म दुई लाख २० हजार ७७२ हेक्टर क्षेत्रफमा धान रोपिएको हो ।
गत वर्षको सोही अवधिमा उक्त प्रदेशमा दुई लाख २७ हजार ३६२ हेक्टर क्षेत्रफल अर्थात ८२ दशमलव ४१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
यस्तै, प्रदेश नम्बर २ मा ८८ दशमलव १४ प्रतिशत रोपाइ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफल मध्ये हालसम्म तीन लाख २२ हजार २६९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । गत वर्ष सोही अवधिमा तीन लाख ५३ हजार ७९० अर्थात ९६ दशमलव ७७ प्रतिशत क्षेत्रमा धान रोपिएको थियो ।
बागमती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख ४ हजार १५२ हेक्टर अर्थात ९० दशमलव ३४ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । गत वर्षको सोही अवधिमा ९४ हजार ७९९ हेक्टर अर्थात ८२ दशमलव २२ प्रतिशत क्षेत्रमा धान रोपिएको थियो ।
यस्तै, गण्डकी प्रदेशका दश लाख ८ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये ९४ हजार ८९१ अर्थात ८७ दशमलव ६४ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । गत वर्ष ९८ हजार ६५५ हेक्टर अर्थात ९१ दशमलव ११ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म दुई लाख ८० हजार हेक्टर अर्थात ९२ दशमलव २४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष दुई लाख ८८ हजार ८३८ अर्थात ९५ दशमलव १४ प्रतिशत क्षेत्रमा रोपिएको थियो ।
कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्येमा हालसम्म ९३ दशमलव ८२ प्रतिशत अर्थात ३६ हजार १२ हेक्टर क्षेत्रमा धान रोपिएको छ । गत वर्ष ९६ दशमलव २ प्रतिशत अर्थात ३६ हजार ९३९ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ ।
यस्तैगरी, सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ९६ दशमलव ७४ अर्थात एक लाख ५९ हजार २७६ हेक्टर क्षेत्रमा रोपिएको छ । गत वर्ष एक लाख ५७ हजार २२१ अर्थात ९५ दशमलव ४९ प्रतिशत क्षेत्रफलमा धान रोपिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.