सिमेन्ट उद्योगमा सिजीको आक्रामक लगानी, दैनिक १० हजार टन उत्पादन गर्ने

  २०७८ साउन १० गते ११:४३     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले सिमेन्ट उद्योगमा आक्रामक रुपमा लगानी बढाएको छ । नेपालमा सिमेन्ट उत्पादनको सम्भावना धेरै रहेको र आवश्यकता पनि धेरै देखिएकोले यो क्षेत्रमा आक्रामक रुपमा लगानी बढाएको हो ।

चौधरी ग्रुप (सिजी) सिमेन्ट उत्पादनमा नेपालकै सबैभन्दा ठूलो उत्पादक बन्ने गरी अघि बढेको ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले बताए । सिजीले नयाँ उद्योग स्थापना गर्नेदेखि अहिले संचालनमा रहेका उद्योगको सेयर खरिद गर्नेसम्मका कार्य गरिरहेको छ ।

सिजीले सन् २०२१ भित्रै उत्पादन सुरु गर्ने गरी माइनसहितको उद्योग पाल्पाको सर्देवामा स्थापना गरेको छ । सो उद्योगबाट सिजी ब्राण्डको सिमेन्ट यो वर्ष (सन् २०२१) नै उत्पादन सुरु हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

पाल्पाको सर्देवामा आफ्नै माइनसहितको उद्योग स्थापनाको लागि आवश्यक काम भइरहेको छ । सीजीले सन् २०२१ भित्रै उत्पादन थाल्ने गरी काम गरिरहेकाे छ । सो उद्योगको उत्पादन क्षमता सुरुमा ४ हजार टीपीडी (४ हजार टन प्रतिदिन) रहेको छ भने त्यसलाई भविष्यमा क्षमता बृद्धि गर्ने लक्ष्य राखिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण पाल्पाको उद्योग निर्माणमा केही ढिलाई भएको सिजीले जानकारी दिएको छ । कोभिड महामारीको कारण सरकारले लकडाउन, सटडाउन तथा निषेधाज्ञा जारी गरेको र सो समयमा काम अघि बढाउनको लागि जनशक्ति अभाव भएको कारण पनि केही ढिलाई भएको थियो ।

‘कोभिड महामारीको कारण काममा केही ढिलाई भयो तर, यो वर्ष नै सिमेन्ट उत्पादन सुरु गर्ने गरी काम अघि बढाएका छौं, सन् २०२१ को अन्तिमसम्ममा पाल्पा प्लाण्टबाट उत्पादन सुरु हुन्छ,’ पौडेलले भने ।

सिजीले बनाउन लागेको पाल्पाको उद्योगबाट सिमेन्ट उत्पादन सुरु भएपछि सो उद्योग देशकै दोस्रो ठूलो उद्योग हुनेछ । चिनियाँ लगानीको होङ्सी सिमेन्ट अहिलेसम्म नेपालकै पहिलो ठूलो सिमेन्ट उद्योग हो ।

सिजीले पाल्पामा बनाउन लागेको उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । पाल्पाबाट उत्पादन हुने सिमेन्ट पनि सिजी ब्राण्डमै उत्पादन हुनेछ ।

सिजीले नवलपरासीको उद्योगबाट सिजी ब्राण्डमै सिमेन्ट उत्पादन गरिरहेको छ । सो उद्योगको उत्पादन क्षमता ३ हजार टीपीडी (३ हजार टन प्रतिदिन) छ । यस्तै, सिजीले केही समयअघि मात्रै सम्राट सिमेन्टको ३० प्रतिशत सेयर खरिद गरेको थियो ।

यी तीनवटै उद्योगमा गरी चौधरी ग्रुपले सिमेन्ट उद्योगमा २५ अर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको छ । सिजीले दैनिक १० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमताका उद्योग तत्काल संचालन गर्ने गरी आन्तरिक तयारी गरेको छ ।

सिजी ग्रुप फोब्र्समा सुचिकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीको व्यवसायिक घराना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.