बैंकर बुहारी

  २०७८ साउन १० गते १०:३३     सुशिल घिमिरे ‘त्रैलोक्य’

मलाई सम्झना छ– करिब दुई तीन वर्ष अगाडि, जतिखेर म बैंकमा नोकरी गर्दिनथें वा भनौं नोकरीको खोजिमा थिएँ, त्यतिखेर मेरो लागि घरमा विवाहको प्रस्ताव त्यति आउँदैनथ्यो । आईहाले पनि खासै राम्रो हुँदैनथ्यो ।

तर, जुन दिनदेखि बागबजार पद्मकन्या क्याम्पस छेउको एक प्रतिष्ठित बैंकमा काम गर्न थालेँ, त्यसमा पनि कस्टमर सर्भिस फ्रन्ट डेक्समा बसेर ग्राहकलाई सेवा दिन थालेँ र अलिअलि पैसा खेलाउन थालेँ, अनि त भुटुटुटु दिनहूँजसो घरमा मेरो लागि विवाहको प्रस्ताव आउन थालिहाल्याे ।

त्यति मात्र कहाँ हो र, परिचित र अपरिचितहरुको सामाजिक सञ्जाल फेसवुक र म्यासेन्जरमा साथी बनाउन रिक्वेस्ट पनि आउन थाल्यो । पहिलेपहिले नबोल्नेहरु पनि आजकल बहाना खोज्दै बोल्न खोज्छन् र नजिक हुन खोज्छन् ।

बोल्नु र नजिक हुन खोज्नु कदापि नराम्रो होइन । त्यहिभएर म पनि सामाजिक सञ्जालमा बोल्छु आफन्तजनसँग, साथीभाइहरुसँग अनि परिचित र अपरिचितहरुसँग ।

तर, बोल्दै गयो, अन्त्यमा मसँग बोल्न खोज्नेहरुको भित्री आसय भनेकै मलाई कसैको श्रीमती बनाउने, बुहारी वनाउने वा भाउजु बनाउने नै हुन्छ । कुरा यहिँ आएर टुंगिन्छ र म अनायासै मुडअफ हुन्छु र मोवाइल बन्द गर्छु ।

मलाई बुहारी बनाउन रुचाउनेहरु, मलाई भाउजु बनाउन रुचाउनेहरु, मलाई श्रीमती बनाउन चाहनेहरु मेरा सम्भावित तमाम सासु, नन्द र श्रीमानहरुदेखि आफैंमा हाँसो पनि उठ्छ । फेसबुकमा नयाँ फोटो मैलै अपलोड गरें भने सयौं लाइक आउँछ आजकल । वा भनौ बैंकको नोकरी गरेदेखि राम्रो कमेन्ट र लाइक बढेको छ । जमाना स्वार्थी छ नभए हिजोसम्म नबोल्नेहरु आज किन बोल्न खोज्छन् त ? नोकरी गर्ने नै केटी किन चहियो त ? बैंकर बुहारी नै किन रोज्छन् त ?

मलाई हिजो भर्खर मात्र पनि एक ठाउँबाट विवाहको प्रस्ताव आयो । ममीले आज साँझ सुनाउनुभयो– केटा राम्रो छ अरे, राम्रो नोकरी गर्ने हो अरे, केटाको आमाले मलाई अफिस जाँदा देखेको रे, मन पराइन् अरे, भोलि हेर्न आउने रे हाम्रो घरमा । उनीहरुले तिमीलाई हेर्छन् छोरी । मुसुक्क हाँसिदिनु, केही सोध्न सक्छन् राम्ररी जवाफ दिनु भन्दै ममीले मलाई सम्झाउनु भयो ।

खाना खाइसकेपछि राति ओछ्यानमा पल्टिँदै सोच्न थालेँ – आजकल मानिसहरुको नजरमा बैंकर अविवाहित केटी रोजाइको एक नम्वरमा पर्दै गइरहेका छन् । बैंकर युवतीहरु स्मार्ट हुने, आर्थिक रुपमा सवल र सक्षम हुने अनि मेहेनती हुने कारणले गर्दा नै सबैकाे नजर उसमा गढेको छ । बैंकमा नोकरी गरेपछि परिवार, अफन्तजन र इस्टमित्रको यति धेरै विवाहको दवाव वढ्छ कि, यहि भएर करिब ८० प्रतिशत युवती बैंकमा नोकरी गरेको एक या दुई वर्षमै विवाह बन्धनमा बाँधिन्छन् ।

हो, मैले पनि एक दिन विवाह गर्नैपर्छ । आज नभए भोलि त यो बन्धनमा पक्कै बाँधिनु छ । तर, त्यति सजिलो कहाँ छ र बैंकरको घरजम ?विहान ९ बजेदेखि साँझ अवेरसम्म कार्यालयमै समय बिताउनु पर्छ । विदा पनि भनेको बेला पाइँदैन । कति गाह्रो छ घर र बैंकको व्यवस्थापन गर्न ।

मलाई थाहा छ, मेरा कतिपय साथीहरु छन्, जसले अविवाहित हुँदा मज्जाले बैंकमा समय दिएका थिए । समयमै कार्यालयमा आउँथे र राति पनि अबेरसम्म काम गर्थे । तर, विवाहपछि घर र अफिसको तालमेल मिलाउन नसक्दा र घरकाले बैंकर बुहारीलाई घरधन्दामा नसघाउँदा आजकल कार्यालय आउन ढिलो हुने मात्र होइन, कतिपयले त नोकरी नै छोड्नुपरेको तितो यथार्थ छ । त्यहि भएर मलाई कता कता डर  पनि लागिरहेको छ ।

भोलि मलाइ हेर्न आउने केटा कस्तो होला ? किन मैसँग विवाह गर्न खोजेको होला ? कतै मलाईभन्दा पनि मेरो मासिक तलव र बोनसको लोभले त होइन ? मेरो हुनेवाला सासु कस्ती होलिन् ? यी नानाथरी कुराहरु मनमा खेल्न थाले । फेरि अर्काे मनले भन्याे – होइन होइन, म त आफैंमा सक्षम केटी हो नि । उनीहरुले मलाई मन पराउने र हेर्ने मात्र हाेइन बरू मैले पनि केटा र उसकाे परिवार हेर्न पाउनुपर्छ । मेरो चाहना अनुसारको उनीहरु पनि हुनुपर्छ । मैले पनि रोज्न पाउनुपर्छ ।

वास्तवमा, एउटा हुनेवाला श्रीमानमा बाबाले जसरी केयर गर्ने साथीको छवि खोज्ने मलाई पनि हक छ । बहिनीले दिदीलाई जसरी माया गर्ने र हरेक अन्तरंग कुराहरु साट्नसक्ने नन्द खोज्ने मलाई पनि हक छ । आमाले जसरी मलाई भान्सामा सघाउनुहुन्छ, बैंकवाट घर थाकेर आउँदा छोरी गलेकी होली भन्दै जसरी मायाले टाउको सुम्सुम्याउनुहुन्छ, ठीक त्यस्तै छवि भएकी सासु खोज्ने मलाई पनि हक छ । बुढी भान्सामा काम गरिरहेकी छे, यो त महिलाकै मात्र काम हो भन्ने साेचाइ राख्दै हातमा रिमोट लिएर टिभी हेरेर बस्ने वा मोवाइल खेलाएर बस्ने श्रीमान् मलाई पटक्कै चाहिँदैन ।

हाे, मलाई हक छ आफूलाई बुझ्ने केटा रोज्ने । अनि मात्र म चुरा लगाउँछु, अनि मात्र म कसैको नामको सिन्दुर लगाउँछु । विवाह गर्ने, खुसीमा चुरा लगाउने रहरमा भोलि गएर यो चुरा भित्रको मेरा आजका स्वतन्त्र हातहरु बन्धन भयो भने के गर्नु ?

भोलि मलाई हेर्न केटाकाे परिवार आउँदैछन् । आमाले भनेझैं उनिहरूसँग अवश्य म मुसुक्क हाँस्नेछु, झर्को नमानी हरेक कुराको जवाफ पनि दिनेछु । तर, मसँग पनि एउटा प्रश्न हुनेछ । मात्र एउट प्रश्न म सोध्नेछु मेरो हुनेवाला सासुलाई– बैंकर बुहरी नै किन चाहिने नि ? के हजुर बैंकर बुहारीको सासु हुने जस्ताे गहन जिम्मेवारी निभाउन सक्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.