सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अब अनलाइनबाटै, कसरी लिने सेवा ?

  २०७८ साउन ८ गते १०:३३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था शुरु गर्न लागेको हो ।

प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले शुत्रबार बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने जनाइएको छ ।

उद्घाटन पश्चात उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुनेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ ।

सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तर बैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर आनलाईमार्फत भुक्तानी गर्दा लाइनमा बस्नुपर्ने बाध्यता हटेको बताउँछन् ।

पहिलो चरणमा बाग्मती प्रदेशमा उक्त सिष्टम लागु भएतापनि विस्तारै अन्य प्रदेशका यातायात कार्यालयमा लागू गरीने जनाइएको छ ।
‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ ।

सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो ।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।

One comment on "सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अब अनलाइनबाटै, कसरी लिने सेवा ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.