कोरोनाको असर: ५ अर्ब बढीले घट्यो विदेशी लगानी प्रतिवद्धता

  २०७८ साउन ८ गते १०:१०     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता रकममा कमि आएको छ ।

अघिल्लो अवको तुलनामा गत आवमा ४० उद्योग र ५ अर्ब ७८ करोड बढी लगानी रकममा कमी आएको हो ।

गत आवका लागि एक सय ८३ वटा उद्योगका लागि ३२ अर्ब २ करोड बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिवद्धता चिनीयाँ लगानीकर्ताबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसिया लगायतका देशवाट लगानी प्रतिवद्धता आएका छन् ।

विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीका अनुसार गत वर्षको तुलनामा उद्योगको संख्यासँगै लगानी रकममा कमि आएको हो ।

कुन उद्योगमा कति प्रतिवद्धता ?

गत आर्थिक वर्षमा सबैभन्दा धेरै उद्योग र लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा १०१ उद्योगका लागि १८ अर्ब ३१ करोड बराबरको प्रतिवद्धता आएकोे हो ।

यस्तै, कृषि क्षेत्रमा ३ उद्योगका लागि ५२ करोड ९० लाख रुपैयाँ, उर्जा क्षेत्रमा ४ उद्योगमा एक अर्ब ५४ करोड रुपैयाँ, सूचना प्रविधि क्षेत्रमा १५ उद्योगमा २ अर्ब ९५ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा २ अर्ब ८६ करोड रुपैँया र सेवामूलक क्षेत्रमा ४१ उद्योग ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो । उक्त प्रतिवद्धता सगैँ ५ हजार ८ सय ३३ जनालाई रोजगारी दिने प्रतिवद्धता आएको छ ।

२०३ स्वदेशी उद्योग दर्ता

विभागमा एक वर्षको अवधिमा २ सय ३ वटा स्वदेशी नयाँ उद्योग दर्ता भएका छन् । एक खर्ब ५६ अर्ब रुपैयाँ बढीको लगानीमा उक्त उद्योग दर्ता भएका हुन ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, उर्जामूलक क्षेत्रमा ३० उद्योगका लागि एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ८० करोड रुपैयाँ, पूर्वाधारका २ उद्योगमा एक अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी थपिएको छ ।

यस्तैगरी, उत्पादनमूलक क्षेत्रका ७० उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख रुपैयाँ, सेवामूलक क्षेत्रका ३३ उद्योगका लागि ५ अर्ब ६४ करोड ५ लाख रुपैयाँ र पर्यटन क्षेत्रका ४० उद्योगका लागि १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएका हुन ।

गत आवमा २७७ दर्ता

गत आर्थिक वर्ष २०७६/०७७ मा २ सय ७७ वटा उद्योगका लागि स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । उक्त उद्योगका लागि एक खर्ब ५२ अर्ब लगानी प्रतिवद्धता आएको थियो ।

यस्तै, २२३ उद्योगका लागि ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

नयाँ व्यवस्था अनुसार ५ करोड रुपैयाँभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैँनन् । न्यूनतम रकम ५ करोड रुपैयाँ माथि तोकिएका प्रतिवद्धता रकममा बृद्धि भए तापनि उद्योगको संख्यामा कमि आएको विभागले जनाएको छ ।

धेरै देशले प्रतिवद्धतामा ठूलाे रकम राखेपनि थोरै रकम मात्र आउँने गरेको छ । अधिकांश विदेशी लगानीकर्ता लगानी ल्याउने प्रक्रियामै आउँदैनन् भने प्रक्रियामा आएकाहरु पनि कम्पनी दर्ता प्रक्रियाबाटै बाहिरिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.