पुँजीबजारको २० वर्षे इतिहासः ७ पटक रेकर्ड ब्रेक, बैशाखदेखि भदौसम्मको समय स्वर्णिम

  २०७८ साउन ७ गते १७:००     मञ्जरी पाैडेल

काठमाडौं । पछिल्लो समय सेयर बजार लगानी गर्न खोज्नेहरुका लागि एउटा गतिलो प्लेटफर्म बनेको छ । नयाँ लगानीकर्ता होस् वा लामो समयदेखि सेयर बजारमा अनुभव भएको लगानीकर्ता नै किन नहोस् सेयर बजार सबैको लागि आदत नै बनिसकेको छ ।

आफुसँग भएको रकमलाई बढाउनका लागि लगानी गर्ने एउटा सजिलो प्लेटफर्म लगानीकर्ताका लागि सेयर बजार बन्दै गएको छ । तर, कतिपयको भने सेयर बजारकै कारण करोडौंको सम्पत्ति पनि डुबेको छ ।

वि.स १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा सुरु भएको सेयर कारोबारमा अहिले आएर दैनिक अरबौं रुपैयाँको कारोबार भइरहेको छ ।

२०५० मा धितोपत्र कारोबार ऐन २०४० को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरिएपछि नेपाली पूँजी बजार विकसित हुँदै गएको देख्न सकिन्छ ।

पुँजी बजारको विगत २० वर्षे इतिहास हेर्ने हो भने अधिकांश वर्षमा बैशाखदेखि भदौ महिनाको बीचमा सेयर बजारमा हरियाली छाएको देखिन्छ । आर्थिक वर्ष २०५८/५९ देखि २०७७/७८ सम्म (२० वर्षको अवधि) मा १६ वर्ष नेप्सेले बैशाखदेखि भदौ महिनामा वार्षिक उच्चतम बिन्दुमा पुगेको छ ।

यो अवधिमा सेयर बजारमा ७ पटकसम्म नयाँ कीर्तिमान कायम भएको छ । बजारमा नेप्से परिसूचकले पुरानो रेकर्डलाई ब्रेक गर्दै नयाँ नयाँ रेकर्ड राख्न सफल भएको छ । यो अवधिमा परिसूचक उच्चतम ३५२.२५ बिन्दुदेखि ३०२५.८३ बिन्दुसम्म पुगेको छ । ३०२५ बिन्दुसम्मको उचाईंमा पुग्दा बजारले ७ पटकसम्म नयाँ रेकर्ड राखेको देखिन्छ ।

गत २० वर्ष यताको तथ्याङ्क हेर्दा २०५८ चैत २ गते नेप्से परिसूचक हालसम्मकै न्युन बिन्दुमा थियो । सो दिनको नेप्से परिसूचक १८३.२२ बिन्दुमा थियो । त्यस्तै, २०७८ जेठ ३१ गते नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिनको नेप्से परिसूचक ३०२५.८३ बिन्दुमा पुगेको थियो । जसले नेपाली पुँजीबजारको हालसम्मकै रेकर्डलाई तोडेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

आर्थिक वर्ष २०५८/५९ मा न्युनतम १८६.२२ बिन्दुमा रहेको नेप्से परिसूचक सोहि वर्ष उच्चतम ३५२.२५ बिन्दुमा पुगेको थियो । भदौ १ गते ३५२.२५ बिन्दुमा पुगेको बजारले वर्षको नयाँ उचाई बनाउन सफल भएको थियो ।

यससँगै ४ आर्थिक वर्षसम्म नेप्से परिसूचक १८६.२२ बिन्दुदेखि ३५२.२५ बिन्दुसम्ममै रह्यो । यो अवधिमा परिसूचकमा कुनै ऐतिहासिक रेकर्ड कायम भएन ।

त्यसपछि आर्थिक वर्ष २०६२/६३ सालको पुँजीबजारले ४ वर्ष अगाडिको रेकर्डलाई तोडेको देखिन्छ । २०६३ जेठ १ गतेको बजारमा परिसूचक ३८८.४९ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । जसले २०५८ सालको ३५२ बिन्दुलाई सजिलै पार गरेको थियो । आर्थिक वर्ष २०६२/६३ मा २०६२ असार ३ गते नेप्से परिसूचक न्युनतम २८७ बिन्दुमा झरेको थियो ।

२०६४ असार ३२ गतेको परिसूचक ६८३.९५ बिन्दुमा पुगेको थियो । जसले २०६३ सालको उच्च बिन्दुलाई सजिलै पार गरेर नयाँ रेकर्ड राखेको देखिन्छ । सो वर्ष उच्चतम ६८३.९५ बिन्दुमा पुगेको परिसूचक न्युनतम ३५५.६० बिन्दुसम्म झरेको थियो ।

त्यसैगरी, २०६३ सालको उच्चतम बिन्दुलाई २०६४ सालको बजारलाई सजिलै तोडेको छ । सो वर्षमा परिसूचक बढेर उच्चतम १०६४.०९ बिन्दुसम्म पुगेको थियो । जुन सो वर्षको मात्रै नभएर यसअघिकै उच्च बिन्दु थियो । २०६४ साल पुस २ गते नयाँ उचाईं चुमेको बजारमा परिसूचक न्युनतम ६७७.९८ बिन्दुसम्म झरेको थियो ।

श्राेत: धिताेपत्र बाेर्ड/नेप्से

त्यसपछि नयाँ आर्थिक वर्षले पुनः अर्को रेकर्ड कायम गरेको देखिन्छ । लगातार दुई आवमा नयाँ रेकर्ड राख्न सफल भएको परिसूचकले आर्थिक वर्ष २०६५.६६ मा पनि नयाँ रेकर्ड राखेको छ । सो वर्षमा भदौ १५ गते परिसूचक ११७५.३८ बिन्दुमा पुगेको थियो ।

त्यसपछि एकैपटक आर्थिक वर्ष २०७२/७३ सालमा पुँजीबजारमा नयाँ रेकर्ड कायम भयो । २०७३ असार १५ गतेको बजारमा नेप्से परिसूचक इतिहासकै नयाँ उचाईमा पुग्यो । जसले ११७५.३८ को रेकर्डलाई सजिलै पार गरेर १७२४.५९ बिन्दुको उचाई चुमेको थियो । सो वर्षमा परिसूचक न्युनतम ९६३.२३ बिन्दुमा रहेको थियो ।

त्यसको लगत्तै नयाँ आव २०७३/७४ मा परिसूचक १८८१.४५ बिन्दुमा पुगेर नयाँ कीर्तिमानी कायम गर्यो । २०७३ साउन १२ गतेको बजारले उक्त रेकर्ड राखेको हो । सोही आवमा परिसूचक न्युनतम १२५२.५० बिन्दुदेखि अधिकतम १८८१.४५ बिन्दुमा रहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीकैबीच परिसूचक नयाँ उचाईमा पुग्यो ।

२०७८ जेठ ३१ गते परिसूचक हालसम्मकै उच्चतम बिन्दु ३०२५.८३ मा पुगेको थियो । नेप्सेले हाल सञ्चालनमा ल्याएको अनलाईन प्रणालीले गर्दा नै परिसूचक नयाँ उचाईमा पुग्न सफल भएको नेप्सेको दावी छ ।

यससँगै चालु आर्थिक वर्ष २०७८/७९ मा जम्मा ४ दिन सेयर कारोबार भयो । यो अवधिमा परिसूचक न्युनतम २९५०.४६ बिन्दुदेखि अधिकतम ३००४.३३ बिन्दुमा पुगेको छ । आज साताको अन्तिम दिन २०७८ साउन ७ गतेको बजारमा परिसूचक १८.७६ बिन्दुले बढेर ३००४.३३ बिन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.