६ अर्ब लगानी थप्दै नर्भिक, सुनसरी र भैरहवामा पनि स्याटलाइट अस्पताल बनाउने

  २०७८ साउन ७ गते १२:०३     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमकाबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् ।

उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन् ।

उनकाे अनुसार सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गर्ने र अस्पताललाई ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण गरिने उनले बताइन् ।

उनकाे अनुसार थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ ।

‘आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ,’ उनले भनिन् ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख रहेकाे उनले जानकारी दिइन् ।

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले बताइन् ।

यस्तै नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’ उनले थपे,‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए ।

सो अवसरमा नर्भिकको नयाँ संचालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.