सरी, सेयर ‘लगानीकर्ता’ !

  २०७८ साउन ६ गते १५:१२     शिव सत्याल

काठमाडौं । २०७७ सालको बैशाख ३० गते पुँजी बजार मापक नेप्से परिसुचक १२२१.३१ विन्दुमा थियो । हिजो (साउन ५ गते) परिसुचक २९८५.५७ विन्दुमा छ ।

सोझो हिसावले हेर्दा यो अवधिमा सेयरधनीको सम्पत्ति १४४.४६ प्रतिशतले बढेछ । यति मात्रै होइन, गत माघमा चन्द्रागिरी हिल्समा १ सय रुपैयाँ लगानी गर्नेहरुको सम्पत्ति बढेर हिजो १५ सय १८ रुपैयाँ भएको छ ।

यो कम्पनीको सेयरमा लगानी गर्नेहरुको सम्पत्ति कति प्रतिशतले बढ्यो वा कति कमाएछन् भन्ने हिसाव आफै गर्नुहोला ।

अर्काे एउटा पनि उदाहरण दिऊँ – ३० वैशाख २०७७ मा गोर्खाज फाइनान्सको सेयर प्रतिकित्ता ११३ रुपैयाँ थियो । हिजो गोर्खाजको सेयर प्रतिकित्ता ११७५ रुपैयाँ छ । गत चैत मसान्तको वित्तीय विवरण अनुसार गोर्खाजको ईपीएस ४२.०५ छ । अर्थात, ११७५ रुपैयाँ लगानी गर्यो भने ४२ रुपैयाँ ५ पैसा कमाएकाे सेयर प्राप्त हुन्छ । यो भनेका ३.५८ प्रतिशत हो । दोस्रो बजारको बजार अवसर (मार्केट अपरच्युनिटी) लाई गौण मान्ने हो भने गोर्खाजको सेयरमा पाइने भनेको ३.५८ प्रतिशत न हो । अन्य क्षेत्रमा लगानी गर्दा योभन्दा बढी प्रतिफल पाइन्छ कि पाइदैन होला ?

गत चैत मसान्तमा ११.८१ प्रतिशतले ऋणात्मक ईपीएस रहेको चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता १५ सय १८ रुपैयाँ छ । एक कित्ता सेयर किन्दा ११ रुपैयाँ ८१ पैसा नोक्सान हुने चन्द्रागिरीको सेयरमा लगानीकर्ताको आकर्षण किन छ ?

आँखुखोला जलविद्युत कम्पनीको ईपीएस १३ रुपैयाँ ८९ पैसाले ऋणात्मक छ । अर्थात सो कम्पनीको एक कित्ता सेयर तपाईंसँग छ भने त्यसले कमाएर एक रुपैयाँ पनि दिँदैन, उल्टै प्रतिकित्ता १३ रुपैयाँ ८९ पैसा नोक्सान हुन्छ । यही कम्पनीको सेयर हिजो दोस्रो बजारमा प्रतिकित्ता २९१ रुपैयाँमा खरिद विक्री भयो । सय रुपैयाँमा किन्दा पनि नोक्सानी हुने कम्पनीको सेयर मूल्य ३ सय रुपैयाँको हाराहारीमा किन यति लुछाचुडी भइरहेको छ ?

दोस्रो बजारका ‘सर्वसाधारण लगानीकर्ता’को जस्तै गरी म पनि नेप्से परिसुचक १२ सयबाट बढेर ३ हजारको हाराहारीमा पुग्दा वा दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुँदा बजार अस्वभाविक भयो वा धेरै बढ्यो भनेर मान्दिनँ । तर, तपाईं ‘सर्वसाधारण लगानीकर्ता’ केही कम्पनीको सेयर जुन मूल्यमा उठाइरहनु भएको छ, त्यसमा मेरो शंका छ । यहाँनेर केही न केही गलत भइरहेको छ । प्रतिफलले केही हदसम्म भएपनि ‘जस्टिफाइ’ गर्ने र लामो समय पाल्दा राम्रो प्रतिफल दिने कम्पनी छोडेर ‘झण्डु’ कम्पनीतिर बढेको आकर्षणले शंकालाई थप बल पुर्याएको छ ।

मलाई थाहा छ– यो लेख पढेपछि तपाई ‘सर्वसाधारण लगानीकर्ता’ मसँग रुष्ट हुनुहुनेछ । बाटो हिँड्दा मलाई चिन्नुभयो भने चड्कन लगाउन खोज्नु हुनेछ । बजार घटाएर हाम्रो सम्पत्ति सस्तोमा किन्नको लागि यसले मिडियाको दुरुपयोग गरेछ भन्नुहुनेछ । तर, सरी सेयर ‘लगानीकर्ता !’ यो स्वभाविक बजारमा अस्वभाविक गतिविधिको मात्रा तपाईंको अनुमानभन्दा निकै धेरै भइरहेको छ । आज तपाईंले कमाएको केही हजारले भोलिका लागि केही लाख गुमाउनु पर्ने वाध्यात्मक अवस्था सिर्जना गर्दैछ ।

यति लेख्दै गर्दा म दुई जना ब्रोकरले मसँग अनौपचारिक रुपमा व्यक्त गरेको धारणा यहाँ उल्लेख गर्न चाहन्छु ।

अघिल्लो साताको सुरुतिर नाम चलेको एक सेयर ब्रोकर कम्पनीका संचालकसँग भेट भएको थियो । उनले मसँग भनेको कुरा उनकै शब्दमा राखौं है–

कोरोनाको पहिलो लहर चलेदेखि नै नेपालमा पैसाको मुख देख्ने समुह ज्यादै सानो छ । सेयर बजार, मेडिकल उपकरण तथा औषधी र अनलाइन मिटिङदेखि पढाइसम्मको अभ्यास भएकोले विद्युतीय सामाग्रीको व्यापार गर्नेहरुले मात्रै पैसाको मुख देखेका छन् । निजी क्षेत्रमा जागिर गर्नेहरु कतिको तलब र तलब नघटेपनि बोनस घटेको छ । उद्योग बन्द छ । अधिकांश बस्तुको व्यापार कम भएको छ । उत्पादित बस्तुको वितरण संजाल विग्रदा कृषि उपजको अवस्था पनि दयनीय भएको छ । वैदेशिक रोजगारीमा पनि समस्या देखिएको छ ।

उद्योग व्यवसाय गर्ने भनेको बैंक वित्तीय संस्थाहरुबाट ऋण लिएर नै हो । ऋण लिनेको व्यवसाय चलेको छैन, उनीहरु समस्या छन् । तर, बैंकहरुमा खराब कर्जा त्यति बढेको छैन । बैंकहरुको नाफा खासै घटेको छैन । यो किन भइरहेको छ भने ऋण लिएकाहरुले विगतमा कमाएको पैसाबाट ऋण तिरे । ऋणको किस्ता र व्याज तिर्न नसक्नेहरुलाई राष्ट्र बैंकले पछि तिर्दा पनि हुने गरी सहुलियत दियो ।

अब राष्ट्र बैंकले यसरी धेरै दिन सहुलियत दिन सक्दैन । राष्ट्र बैंकको ‘ग्रिन सिग्नल’ पाउने बित्तिकै बैंकहरुले किस्ता र व्याज असुलीमा ताकेता गर्छन् । बैंकहरुले ताकेता गर्दा पनि ऋण तिर्न नसक्नेहरुको धितो लिलामी प्रक्रिया सुरु हुन्छ । यो दुई वर्षमा लकडाउन र निषेधाज्ञाको कारणले जति महिना सरकारले जनतालाई थुनेर राखेको छ, त्यसको परिणाम देखिएकै छैन । अब देखिन्छ । दैनिक पत्रिकाका पानाहरु धितो लिलामीको विज्ञापनले भरिने छन् । धितो लिलामीका सुचना प्रकाशित गर्नको लागि दैनिक पत्रिकाका पानाहरु थपिन्छन् होला ।

उनले थप व्याख्या गर्दै भनेका थिए– अहिले सेयर बजारमा बढी लगानी गर्ने भनेका उद्योग व्यवसाय गर्ने व्यक्तिहरु नै हुन् । उनीहरु आफ्नो धितो लिलामीबाट बचाउनको लागि सस्तोमा भएपनि सेयर बेच्न तयार हुनेछन् । साना लगानीकर्ताले बढेको बजारमा सेयर किन्न सक्छ तर, घट्दो बजारम सेयर बेच्न सक्दैन । किनभने कसैले कुनै कम्पनीको सेयर ३ सय रुपैयाँमा किनेको छ र घटेर २७० रुपैयाँ आयो भने भोलि बढ्छ कि भनेर उसले बेच्दैन । तर, भोलि पनि १० प्रतिशतले नै घटेर २४३ रुपैयाँमा आउन सक्छ । दुई दिनमै ५७ रुपैयाँ गुमाइसक्छ । यति धेरै गुम्यो भनेर ऊ अझै कुर्छ । तर, मूल्य झन् घट्न सक्छ । यही ठाउँमा ठूला लगानीकर्ताले भने २७० रुपैयाँ आउने बित्तिकै बेचेर थप नोक्सानी हुने अवस्थाबाट जोगिन्छ । दोस्रो बजारको चरित्र नै यस्तै हुन्छ ।

यही साताको सुरुतिर अर्का एक नाम चलेका सेयर ब्रोकरसँग भेटघाट भएको थियो । उनले अर्काे डरलाग्दो विषय सुनाएका थिए । उनको कुरा यस्तो थियो–

आम मानिसले जसलाई सेयर बजारका ठूला लगानीकर्ता भनेर अहिले चिनिरहेका छन्, तिनीहरु ज्यादै साना लगानीकर्ता भइसकेका छन् । अहिले बजारमा ठूला लगानीकर्ता जो जो छन्, तिनीहरुलाई मिडियाले पनि चिनिरहेका छैनन् । उनीहरु अर्कै काम गर्ने कम्पनीको कार्यालयमा १२–१५ जना सिएहरु राखेर दैनिक सेयर बजारमा खेलिरहेका छन् । पुँजी बजारको नियामक निकायका अधिकारीहरु पनि साँझतिर त्यो कम्पनीमा पुग्छन् । सेयर कारोबार हुने प्लेटफर्मका प्राविधिकहरु पनि त्यतै भेटिन्छन् । बैंकहरु पनि त्यही हुन्छन् ।

कुनै व्यक्तिले कुनै कम्पनीको सेयर किन्यो वा बेच्यो भने यी नयाँ ठूला लगानीकर्ताले तत्कालै जानकारी पाउँछन् । सेयर कारोबार गर्ने प्लेटर्फम कुनै निजी कम्पनीको नियन्त्रणमा छ । एउटा समुहले गोर्खाज फाइनान्सको सेयर ३ सय रुपैयाँबाट बोकेर १४ सय रुपैयाँसम्म पुर्यो । अब त्यही समुह भन्दैछ कि यसको सेयर २५ सय रुपैयाँ पुर्याउने भनेर । यदि नियामकले प्रभावकारी रुपमा हेरिदिने हो भने नेपाली सेयर बजारमा कम्तिमा पनि ३ जना हर्षद मेहेता फेला परिसकेका हुन्थे ।

यी दुवै ब्रोकरको समान एउटा निक्र्योल थियो । उनीहरु भनिरहेका थिए– अबको केही समयपछि देशका ७७ वटै जिल्लामा सेयर पिडित संघ स्थापना हुनेछ । प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा सेयर पिडित संघका पदाधिकारी र सदस्यहरु धर्नामा हुनेछन् । आफूले खाइनखाई जोगाएको वा पुख्र्यौंली सम्पत्ति स्वाहा बनाइसकेर आन्दोलित भएकाहरुलाई कसले सम्झाउन सक्ला र ? सायद भदौ १६ व्यहोर्नको लागि हामीहरु तयार हुनुपर्छ ।

यी ब्रोकरले उदाहरण दिएको हर्षद मेहेता चिन्नुहुन्छ होला नि ! भारतीय सेयर बजारमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो घोटला प्रकरणका पात्र हुन हर्षद मेहेता । उनले २ सय रुपैयाँको एसीसी (एसोसिएटेड सिमेन्ट कम्पनी) को मूल्य ९ हजार रुपैयाँ बनाएका थिए । बैंकहरुलाई प्रभावमा पारेर १५ दिनको लागि अनधिकृत रुपमा कर्जा लिएर बजारमा खेलोफड्को गर्ने उनको कार्य थियो । यो धेरै पहिलाको कुरा होइन । आजभन्दा करिब ३० वर्ष अगाडिको कुरा हो ।

अर्काे, भदौ १६ भनेको पनि बुझ्नुभयो होला । २०६१ साल भदौमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ जना नेपालीको आतंकारी समुहले घाँटी रेटेर हत्या गरेको थियो । सो हत्याको विरोधमा २०६१ भदौ १६ गते स्वतस्फूर्त रुपमा नेपालमा हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनमा २९७ वटा मेनपावर कम्पनीमा आक्रमण भएको थियो भने ७५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । सोही दिन भएको आक्रमणको कारण तत्कालिन स्पेस टाइम दैनिक बन्द भएको थियो भने कान्तिपुर पब्लिकेसनको कार्यालयमा पनि आक्रमण भएको थियो ।

सेयर बजारमा लगानी नगर्नुस् भन्ने मेरो आग्रह होइन । लगानी गर्दा ध्यान दिएर लगानी गर्नुस् भन्ने सुझाव हो । अहिले दोस्रो बजारमा जे जस्ता कम्पनीको सेयरमा जुन प्रकारको खेलोफड्को चलिरहेको छ, त्यो लगानीकर्ताको हितमा छैन । मैले यस्तो भनिरहँदा पनि तपाईंलाई चित्त बुझिरहेको छैन होला, सरी ‘सेयर लगानीकर्ता’, आजको यथार्थ यही हो ।

One comment on "सरी, सेयर ‘लगानीकर्ता’ !"

  • Aadarsha says:

    Din dinai suicide news Sunna na paryos aaune bear market ma sadai bull hudaina bhanne Naya hos ya purano sable bujnechan. Yedi aajako price 70% ghatda pani tapailai keyi farak pardaina bhane balla lagani garnus juwa ghar nabanaunus.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.